अस्ट्रेलियामा अपाङ्गता भएका मानिसहरू माथि हुने भेदभाव तथा अत्याचारलाई अधिकारीहरूले उचित रूपमा सम्बोधन गर्न सकुन् भन्नाका लागि यस्तो आग्रह गरिएको हो।
अपाङ्गहरू माथि हुने दुर्व्यवहार बारे छानबिन गर्न गठित शाही आयोगले, आफ्नो छानबिनका लागि अस्ट्रेलियामा बसोबास गर्ने विविध सांस्कृतिक तथा भाषिक समुदायको उक्त विषय सम्बन्धी बुझाई र भोगाई दुवै नै महत्त्वपूर्ण हुने बताएको छ।
मङ्गलवार १० विभिन्न भाषामा जारी आफ्नो काम कारबाही सम्बन्धी पत्रमा, आयोगले बहुसाँस्कृतिक पृष्ठभूमिका मानिसहरूमा रहेको अपाङ्गता बारे खासै जानकारी उपलब्ध नरहेको उल्लेख गर्दै, आप्रवासी समुदायका अपाङ्ग मानिसहरू हिंसा तथा दुर्व्यवहारको सिकार हुने सक्ने अवसर निकै रहेकोमा चिन्ता व्यक्त गरेको छ।
"हामी विविध सांस्कृतिक तथा भाषिक समुदायमा अपाङ्गता प्रतिको दृष्टिकोण र बुझाई बारेमा जान्न चाहन्छौँ," सो पत्रमा भनिएको छ।
"अपाङ्गता भएका व्यक्ति बारे उनीहरूले के-कस्तो धारणा राख्छन्, ती अन्य भाषी अपाङ्ग मानिसहरूले आफ्नो समुदाय र बृहत् समाजसँगको अन्तरक्रियाका क्रममा भोगेका अनुभव र त्यसले ती मानिसहरूको जीवनमा कस्तो भूमिका खेल्दछ भनेर हामी बुझ्न चाहन्छौँ।"
विशेष गरी, शाही आयोगले अपाङ्गता भएका शरणार्थी, अस्थायी भिसा धारकहरू, अध्यागमन बन्दिगृहमा रहेका र महिला एवं बालबालिकाका समस्या तथा उनीहरूको अनुभव आफूले बुझ्न चाहेको प्रस्ट पारेको छ।

नेश्नल एथ्निक् डिसेबिलिटि अलायन्सका एक अधिकारी डोमिनिक हङ डुक गोल्डिङ भन्छन् कि विभिन्न संस्कृतिमा अपाङ्गता बारेको धारणा आ-आफ्नै प्रकारका हुने गरेका छन्।
उनका अनुसार शाही आयोगले अस्ट्रेलियामा बसोबास गर्ने सबै पृष्ठभूमिका मानिसहरूको कुरा सुन्न आवश्यक थियो।
"हामीले आफ्ना सदस्य सङ्गठनहरू मार्फत विविध भाषिक तथा सांस्कृतिक पहिचान भएका अपाङ्ग मानिसहरूलाई आफ्नो मुद्दा उठाउन वा समस्या बारे भन्नका लागि अगाडि आउन प्रोत्साहन गरेका छौँ," गोल्डिङले भने।
गत डिसेम्बरमा स्वयम् आफ्नो साविती बयान दिएका डोमिनिक हङ डुक गोल्डिङले अस्ट्रेलियामा बस्ने सबै पृष्ठभूमिका मानिसहरूले आफ्नो भनाई राख्न पाउनुपर्ने बताएका थिए।

हालसम्म ११ वटा सार्वजनिक सुनुवाइहरू आयोजना गरिसकेको शाही आयोगले २,००० भन्दा बढीको सङ्ख्यामा पत्रहरू तथा ४६८ वटा प्रतिक्रियाहरू प्राप्त भइसकेको बताएको छ।
आयोगको आह्वान माथि प्रतिक्रिया आगामी ११ जुनसम्म पठाउन मानिसहरूलाई अभिप्रेरित गरिएता पनि सो मिति पश्चात् पनि प्राप्त हुने सामाग्रीहरू स्वीकार हुनेछन्।
आयोगलाई पत्राचार वा श्रव्य दृश्य प्रविधि प्रयोग गरेर अडियो वा भिडियो मार्फत कुनै पनि भाषामा सामाग्री पठाउन सकिने छ।
