गोल्डकोस्ट निवासी ती ४५ वर्षिय पुरूषले कथित रूपमा यौन दुर्व्यवहार गरेको भन्दै कूल १,६२३ वटा आरोपहरू अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले लगाएको हो।
कथित रुपमा दुर्व्यवहारका घटनामा परेकाहरू त्यसबेला नाबालिग बालिकाहरू रहेको बताइएको छ।
आफूहरूको अनुसन्धान पछि ती कथित घटनाहरू सन् २००७ देखि २०२२ का बीच ब्रिसबेन, सिड्नी र अस्ट्रेलिया बाहिर रहेका चाइल्ड केयर सेन्टरहरूमा भएको पत्ता लागेको एएफपीको भनाई छ।

आरोपित पुरुषका विद्युतिय सञ्चार सामाग्रीहरू मा कथित बाल दुर्व्यवहार सम्बन्धित उनले आफैँले खिचेको मानिएका फोटो र भिडियोहरू फेला परे पछि सन् २०२२ को २१ अगष्टमा उनी पक्राउ परेको बताइएको छ।
क्वीन्सल्यान्ड पुलिसले डार्कनेटका सामाग्रीहरूको अनुगमनको क्रम बालबालिकाका तस्बीरहरू भेटेपछि त्यसको अनुसन्धानले आरोपित पुरुषसम्म पुगेको प्रहरीको भनाइ छ।
फोटोहरूमा देखिएका फर्निचर र अन्य सामानहरूबाट त्यो ब्रिसबेनको एक चाइल्ड केयर सेन्टर रहेको भनी पत्ता लागेको थियो।
त्यसबेलादेखि आरोपित पुरुषलाई क्वीन्सल्याण्डको प्रहरी हिरासतमा राखिएको थियो र उनी माथि बाल शोषण सम्बन्धी सामाग्री बनाएको र तिनलाई विधुतीय उपकरणमा राखेको सहित कुल तीनवटा आरोप सन् २०२२ मा लागेका थिए।
त्यस लगत्तै प्रहरीले थप अनुसन्धानका लागि एएफपी र क्वीन्सल्यान्ड पुलिसको सहकार्यमा ‘अपरेसन टेन्टरफिल्ड’ सुरु गरेको थियो।
अपरेसन टेन्टरफिल्डले ‘स्ट्राइक फोर्स बूरंङ’ को सहायतामा फेला परेका ४००० भन्दा बढी फोटो र भिडियोहरूको अनुसन्धान गरेको हो।
ती कथित घटनाहरू कथित रूपमा सन् २००७ देखि २०१३ को बीच र सन् २०१८ देखि २०२२ बीच ब्रिसबेनका १० वटा चाइल्डकेयर सेन्टरहरूमा भएको प्रहरीको भनाइ छ।
त्यस्तै, सन् २०१४ देखि २०१७ बीच सिड्नीको एक चाइल्डकेयर सेन्टरमा र सन् २०१३ देखि २०२४ बीच अस्ट्रेलिया बाहिरको एक चाइल्डकेयर सेन्टरमा पनि कथित घटनाहरू भएको प्रहरीले बताएको छ।
ती फोन र क्यामेरामा आरोपितद्वारा कथित रुपमा खिचिएका सामाग्रीमा रहेका सबै ८७ अस्ट्रेलियन बालबालिका र तिनका अभिभावकहरूलाई प्रहरीले खबर गरेको छ।
ती मध्य केही बालबालिकाहरू अहिले १८ वर्षभन्दा माथि पुगेको प्रहरीको भनाइ छ।

बालबालिका र तिनका परिवारलाई सहयोग सेवाहरू प्रदान गरिरहेको एसएफपीले बताएको छ।
“ती सामाग्रीहरूमा देखिएका सबै अस्ट्रेलियन बालबालिकाहरूको पहिचान भएको कुरामा एएफपी विश्वस्त छ,” एएफपीइकी जस्टिन गफले बताइन्।
“आरोपित व्यक्तिले कथित फोटो र भिडियोहरू १५ वर्षको लामो अवधिमा रेकर्ड गरेको हुनाले त्यसको अनुसन्धान र मानिसहरूको पहिचान गर्न धेरै समय लागेको हो।”
अस्ट्रेलिया बाहिर भएका घटनामा कथित रुपमा दुर्व्यवहार गरिएका चार बालबालिकाको पहिचान फेला पार्न अनुसन्धान जारी राखिएको एएफपीले जनाएको छ।
आरोपित व्यक्ति विरूद्धको मुद्दाको पहिलो सुनुवाई २१ अगष्टमा ब्रिसबेनको एक अदालतमा हुने बताइएको छ।
यदी तपाईँ वा तपाईँले चिनेका कोही व्यक्ति यौन दुर्व्यवहारबाट प्रभावित भएमा, १८००रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस्, वा 1800RESPECT.org.au मा जानुहोस्। आपतकालीन अवस्थामा ००० मा फोन गर्नुहोस्।
यौन दुर्व्यवहार सम्बन्धी सहयोग र जानकारीका लागि ब्रेभहार्ट्सलाई १८०० २७२ ८३१ मा या ब्लु नटलाई १३०० ६५७ ३८० मा फोन गर्नुहोस्।
