चेतावनी:
यो लेख र पोडकास्टमा यौन हिंसाका विभिन्न पक्षहरूका बारेमा चर्चा गरिएको छ जुन तपाईँका लागि कष्टप्रद हुन सक्छ।
अस्ट्रेलियामा दैनिक औसत रूपमा ८५ वटा यौनजन्य हिंसा सम्बन्धी उजुरी पर्ने बताइएको छ र केही अध्ययनहरूका अनुसार, कम उमेरका अस्ट्रेलियालीहरूमा प्रत्येक तीन जनामा एकभन्दा बढीसँग आफ्नो इच्छा विपरीत यौन सम्बन्ध राख्नुपरेको अनुभव छ।
यदि तपाईँ बलात्कार, वा जबरजस्ती शारीरिक सम्बन्ध राख्ने कामबाट पीडित हुनुहुन्छ भने आफ्नो अनुभव अधिकारीहरू समक्ष प्रस्तुत गरेर अपराधमा संलग्न मानिसहरूलाई कारबाहीको दायरामा ल्याउन सक्नुहुन्छ। तर यसो गर्दा भावनात्मक रूपमा तपाईँ निकै प्रभावित बन्न सक्नुहुन्छ भन्ने कुरालाई नकार्न मिल्दैन।
मोनिक केली भिक्टोरिया प्रहरीकी वरिष्ठ सार्जेन्ट हुन्।
उनले यौन अपराध छानबिन गर्ने एक विशेषज्ञहरूको टोलीको नेतृत्व गर्छिन्।
उक्त टोलीको मुख्य काम भनेको पीडितहरूलाई सहयोग गर्नु हो।
अस्ट्रेलियाली बोलीचालीको भाषामा ‘कम्प्लेनेन्ट्स’ भनिने पीडित उजुरीकर्ताहरूलाई बयान दिन र प्रमाण जुटाउन केलीको टोलीले सहयोग गर्छ।
केली भन्छिन् कि उनीहरूका चार वटा लक्ष्य छन्।
“पहिलो भनेको पीडितको रक्षा र उनीहरूलाई सहयोग गर्नु हो। अनि सबै प्रमाणहरू केलाएर घटना भएको हो कि होइन भनेर निर्क्योल गर्ने,” उनले भनिन्।
“यसपछि अपराधीको पहिचान गरेर उनीहरूलाई अदालत समक्ष उभ्याउने।”
प्रहरी थानामा उजुरी दिन जाँदा, पीडितहरूले आफूलाई विश्वास लाग्ने एक जनालाई सँगै लिएर जान प्रोत्साहन गर्ने गरिएको छ किनकि यस्ता घटनाहरूबारे प्रमाण जुटाउने र पुलिसमा बयान दर्ता गर्ने कामले ठूलो मानसिक आघात पार्न सक्छ।

प्रहरी समक्ष उजुरी दिने
यौन हिंसा वा बलात्कार पीडितहरूले घटना भएको केही घण्टा भित्रै सम्बन्धित अधिकारी वा प्रहरी कहाँ उजुरी दिए, उनीहरूलाई स्वास्थ्य सहायता, कानुनी र भावनात्मक परामर्श उपलब्ध हुन्छ।
यी सेवा लिनै पर्छ भन्ने छैन तर स्वास्थ्य परीक्षणमा भने अनिवार्य भाग लिनुपर्छ।
फोरेन्सिक प्रमाण जुटाउन यो परीक्षण आवश्यक हुन्छ र यसलाई ‘रेप किट’ भनेर सम्बोधन गर्ने चलन छ।
यौनजन्य हिंसा वा अपराधहरूको पीडित मुख्यतया महिला हुने भएकाले प्राय: महिला डाक्टर वा अफिसरहरूले नै यस्ता जाँचहरू गर्ने गर्छन्। तर यो विकल्प सधैँ उपलब्ध भने नहुन सक्छ।
स्वास्थ्य जाँच पछि कम्प्लेनेन्टले घटनाका बारेमा सविस्तार प्रहरी समक्ष बयान दर्ता गराउनुपर्छ र यो रिपोर्ट गरेकै दिनमा हुन्छ भन्ने हुँदैन।
माइकल ब्राड्ली एक वकिल हुन् जोसँग ठुला-ठुला यौन अपराधको मामिलामा धेरै वर्ष काम गरेको अनुभव छ।
उनी पीडितहरूलाई अझ राम्ररी सहायता दिन, कानूनमा परिमार्जन हुनुपर्ने बताउँछन्।
“घटनाका बारेमा रिपोर्ट गर्नु आफैमा अप्ठेरो काम हो भने बयान दिनु त झनै गाह्रो काम हो। तर कानुनले सबै कुराहरू प्रमाणका रूपमा कागजमा एकैसाथ माग्छ। नत्र अभियोजन मुद्दा कमजोर बन्न जान्छ, र पछि थप्नु पर्ने भएमा पीडितलाई झनै बोझ पर्दछ,” ब्राड्लीले भने।
पीडितको पूर्व सहमति बिनै हुने नन कन्सेन्स्युअल सेक्सलाई कानुनी प्रणालीले कसरी हेर्छ भन्ने बारे खोज पत्रकार जेस हिलले आफ्नो तीन भाग लामो वृत्तचित्र ‘आस्कीङ्ग फर इट’ मा देखाउन खोजेकी छिन्।
उनी भन्छिन् कि पीडितहरूले आफ्नो बयान दिँदा सकेसम्म सबै कुरा राम्ररी खुलाउनुपर्छ।
ऐतिहासिक आक्रमणहरूलाई पनि रिपोर्ट गर्न मिल्ने उनको भनाई छ।
“उजुरी हाल्नुपर्ने भनेर समय सीमा तोकिएको त छैन तर सकेसम्म चाँडो उजुरी गर्दा राम्रो हुन्छ किनकि यसो गर्दा धेरै प्रमाणहरू छिट्टै पाउने सम्भावना हुन्छ,” हिलले भनिन्।
घटनाबारे मुद्दा चलाउन पुलिसले पर्याप्त प्रमाणहरू जुटाउन सके, उक्त रिपोर्टलाई डिरेक्टर अफ पब्लिक प्रोसिक्युटर वा डीपीपी भनिने प्रमुख सरकारी वकिलले समीक्षा गर्छन्।
उक्त रिपोर्टले डीपीपीको न्यूनतम आधार पुरा गरे, आरोप पत्र जारी हुन्छ र प्रहरीले कथित दोषीलाई हिरासतमा लिन्छ।
“अभियोग लगाइएन भने पनि यौन हिंसा भएको होइन भन्ने चाहिँ हुँदैन; अदालत सामु पेस गर्नका लागि आवश्यक प्रमाण पुगेन भन्ने बुझ्नुपर्छ,” हिलले भनिन्।

अदालतको प्रक्रिया
अदालतमा मुद्दा दायर भएपछि घटनाका आरोपित, पीडित र अरू (कोही) साक्षी भए, उनीहरू बयानका लागि उपस्थित हुनुपर्छ।
सबै पक्षलाई प्रतिवादीका कानुनी सल्लाहकार र सरकारी वकिलले सोधपुछ एवं सवाल जवाफ गर्छन्।
तर, कथित आरोपीसँग चुप लागेर कुनै पनि प्रश्नको जवाफ नदिने अधिकार हुन्छ।
प्रतिवादीसँग आफ्नो दोष नमान्ने वा निकै साना किसिमका यौनजन्य अपराध वा ‘माइनर सेक्सुअल अफेन्सेस’ स्वीकार गर्ने अधिकार हुन्छ।
अधिवक्ता माइकल ब्राड्ली भन्छन् कि कानुनी प्रणालीका यस्ता प्रावधानहरूले पीडितलाई आफैँ पो दोषी हो कि भन्ने पार्न सक्छ र उनीहरूले आफूलाई प्रताडित भएको महसुस गर्न सक्छन्।
धेरै जसो बलात्कारका घटनामा पीडितले अदालतमा दिने बयान नै सबैभन्दा ठुलो प्रमाण हुन्छ जसमा उभिएर अदालत सामु अपराध प्रमाणित गर्नु पर्ने हुन्छ, जुन चुनौतीपूर्ण कुरा हो।माइकल ब्राड्ली
उनका अनुसार अधिकांश यस्ता घटनामा आरोपितहरू चुप बस्न सक्ने अधिकार हुँदा, मुद्दा अगाडी बढ्ने कुरा पीडितको बयानमा भर पर्छ, र पीडितले कत्तिको सत्य बोलिरहेको छ भनेर पत्ता लगाउन प्रतिस्पर्धा नै हुन्छ।
"बचाउ पक्षका वकिलले पीडितको बयानमा शङ्का गर्न सक्छन्, उनीहरूलाई ढँटुवाको आरोप लगाउन सक्छन्," ब्राड्लीले भने।
एक अनुमान अनुसार अस्ट्रेलियामा बलात्कृत भएका पीडितहरू मध्ये करिब ९० प्रतिशतले पुलिस समक्ष रिपोर्ट दर्ता नै गराउँदैनन् भने केही अध्ययनहरू अस्ट्रेलियामा बसोबास गर्ने हरेक पाँच जनामा एकले महिलाहरू आफूमाथि हुने यौन हिंसा सम्बन्धी घटनालाई बढाई चढाई गर्ने सोच राख्छन्।
तर थुप्रै घटनाको अनुसन्धान गरिसकेकी सिनियर सार्जेन्ट केलीले पीडितले ढाँट्ने गरेका घटना आफूले विरलै मात्र अनुभव गरेको बताउँछिन्।
“यस विषयको जानकार र यसैमा झन्डै १० वर्ष काम गरेको अनुभवका आधारमा म के भन्न सक्छु भने कोही पनि यो प्रक्रियाबाट जान चाहँदैन,” उनी भन्छिन्।
”जसरी कानुनले पीडित भनिएकाहरूलाई केरकार वा अनुसन्धान गर्छ, यसको आधारमा मानिसहरूले बनावटी कुरा गर्लान् जस्तो मलाई लाग्दैन।“

अदालतमा आरोप प्रमाणित भए, फैसला सुनाउने काम हुन्छ।
“सजायका विभिन्न रूप हुन सक्छन्। सामाजिक सेवा देखि, फाइनसम्म वा जेलै जानुपर्ने सम्म तर अपेक्षा अनुसारको सजाय नहुँदा पीडितहरूलाई निराश बनाउन सक्छ,” हिल भन्छिन्।
पछिल्लो समय केही राज्य तथा प्रदेशहरूले भने यौन सम्बन्ध स्थापित गर्नु अघि आफूले सकारात्मक सहमति लिएको बारेमा प्रमाण पेस गर्नु पर्ने नियम ल्याएका छन्।
केही राज्यहरूमा भने यौन हिंसा सम्बन्धी आफ्ना अनुभवहरू आपराधिक न्याय प्रणाली अन्तर्गत नगईकनै दर्ता गर्न सक्ने नयाँ प्रणालीको पनि विकास भएको छ।

जेस हिलका अनुसार न्यु साउथ वेल्समा ‘एस-ए-आर-ओ’ भन्ने यौन हिंसा रिपोर्ट गर्ने प्रणालीको विकास गरिएको छ।
माइकल ब्राडलीको विश्वास छ कि अन्य सम्भावित पीडितहरूको सुरक्षाको बारेमा चिन्तित रहेका पीडित पक्षका लागि यो एक उपयोगी उपाय हो।
“पिडामा बाचेका धेरै हिंसा पीडितहरूका लागि अरू पनि सोही घटनाबाट जानु नपरोस् भन्ने चाहना हुन्छ, बलात्कारीहरूले एक पटक मात्र घटना गराउँछन् भन्ने हुँदैन,” उनले भने।
“यस्ता प्रणालीहरूको सहयोगमा प्रहरीले हिंसा गर्ने व्यक्ति उपर नजर राख्न सक्छ छ, फेरी पनि त्यस्तै घटना दोहोरिएको अवस्थामा, कानुनी प्रक्रिया बढाउने बारेमा तपाईँलाई सल्लाह दिन सक्छ।”
तपाईँले प्रहरी समक्ष उजुरी गर्ने वा नगर्ने जे निर्णय लिनु भए पनि, अन्य सहयोग सेवाहरू पनि उपलब्ध छन्।
यदि तपाईँ वा तपाईँले चिन्नुभएको कोही व्यक्ति यौन हिंसाबाट प्रभावित भएका छन् भने १८०० रेस्पेक्टमा फोन गर्नुहोस्। त्यस्तै, लाइफलाइनलाई १३ ११ १४ मा र बियोन्ड ब्लुलाई १८०० २२ ४६ ३६ मा सम्पर्क गर्नुहोस्।







