एसबीएस न्युजसँगको एक विशेष अन्तर्वार्ताका क्रममा सङ्घीय अध्यागमन मन्त्री हकले उक्त कुरा उजागर गरेका हुन्।
गत डिसेम्बर महिनामा प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गरेपछि ग्रिकेली पृष्ठभूमि रहेका एलेक्स हकले अध्यागमनका साथै नागरिकता, आप्रवासी सेवाहरू र बहुसाँस्कृतिक मामिलाहरू समेत हेर्ने गरी जिम्मेवारी पाएका थिए।
उनी भन्छन् कि महामारीद्वारा प्रस्तुत चुनौतीहरूका बाबजुद आप्रवासीहरूले अस्ट्रेलियालाई आफ्नो नयाँ घर बनाउने कामबाट निरुत्साहित हुने छैनन्।
"गएको साल प्राय: सबैजसो समाजले अनिश्चित वातावरणहरूका माझ निक्कै अफ्ठेरो स्थितिको सामना गर्नुपर्यो," हकले आफ्नो अन्तर्वार्ताका क्रममा भने।
"तर मेरो बिचारमा हामी राम्रो स्थितिमा आफूहरूलाई पाउँछौँ - अन्तर्राष्ट्रिय रूपमा हाम्रो ठुलो प्रतिष्ठा छ ... र बोर्डर खोल्ने स्थितिमा पुग्ने बित्तिकै अस्ट्रेलियासम्मको पहुँचका लागि एकदमै ठुलो माग हुनेछ भनेर हामीलाई थाहा छ।"
कोभिड-१९ महामारीका कारण अभूतपूर्व समयमा अध्यागमनको जिम्मेवारी सम्हालेका एलेक्स हक, आउँदा दिनहरूमा अस्ट्रेलिया सामान्य जनजीवन तर्फ अग्रसर फर्किँदा आप्रवासनले ठुलो भूमिका खेल्ने आफ्नो विश्वास रहेको बताउँछन्।
तर, भिसा पाउने प्रक्रिया लम्बिदैं गर्दा र हाल भिसा रहेका मानिसहरूले पनि अनेकौँ चुनौतीहरूको सामना गर्नु परिरहेको परिप्रेक्ष्य, आप्रवासीहरूले अस्ट्रेलियाको सट्टा क्यानडा वा अन्य देशलाई आफ्नो प्राथमिकतामा राख्नु मन्त्री हकका लागि टाउको दुखाई हुनसक्छ।

यसबारे आफ्नो बचाउ गर्दै उनले भने कि अहिले अस्ट्रेलियाको ध्यान मन्दीबाट निस्कँदै गरेको अर्थतन्त्रलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने हो र अबका आप्रवासन कार्यक्रमहरू यसै नीतिलाई सहयोग गर्ने गरी निर्धारण हुनेछ।
"हामी अहिले के-कस्तो आप्रवासन कार्यक्रमले सरकारको आर्थिक सुधारका काममा कसरी सघाउन सक्छ भनेर ध्यान दिंदैछौं।"
कोभिड पश्चात् अस्ट्रेलियाको आप्रवासन कार्यक्रम ठ्याक्कै कस्तो हुन्छ भनेर भन्न सकिने स्थिति अहिले छैन।
सङ्घीय सरकारको अक्टोबरमा जारी पछिल्लो बजेटलाई आधार मानेर हेर्दा सन् २०२०-२१ मा मात्र ७२,००० सम्भावित आप्रवासीहरू अस्ट्रेलिया आएनन् र २०२२-२३ सम्म नै यो सङ्ख्या महामारी भन्दा अघिको स्थितिमा नफर्कने अनुमान छ।
सरकारको प्राथमिकता

अध्यागमन मन्त्री एलेक्स हक भन्छन् कि सरकार अन्तर्राष्ट्रिय विद्यार्थीलाई तथा अति आवश्यक क्षेत्रमा देखा परेको दक्ष जनशक्तिलाई प्राथमिकतामा राखेर आफ्नो कार्यक्रम बनाउँदै छ।
"अबका दिनमा मान्छेहरू, दक्षता, परिवार र व्यापारका लागि विश्वस्तमा नै प्रतिस्पर्धा हुने देखिन्छ," हकले भने।
"सीमा खुल्नासाथ हामीलाई ती मानिसहरू यहाँ आएर व्यापार-व्यवसायलाई सघाउन भन्ने छ किनकि त्यसले थप रोजगारीको सृजना गर्नेछ। यसले गर्दा आर्थिक वृद्धि हुनेछ र हामीलाई त्यसको जरूरत छ।"
विवादास्पद इतिहास

आप्रवासी पृष्ठभूमिका रहेता पनि, नयाँ अध्यागमन मन्त्रीले चार वर्ष अघि एबीसीको क्युएन्डए कार्यक्रममा गरेका केही टिप्पणीहरूका कारण विवादास्पद बनेका थिए।
त्यस बेला एलेक्स हकले अस्ट्रेलियामा बसाइँ सर्ने आप्रवासीहरूले अस्ट्रेलियाको समाजलाई "आत्मसात् गर्दै" त्यसमा "मिसिनुपर्ने" बताएका थिए।
अस्ट्रेलियाली नागरिकता परीक्षा सम्बन्धीमा सोधिएको एक प्रश्नलाई सम्बोधन गर्ने क्रममा उनले त्यस प्रकारको जवाफ दिँदा आप्रवासी समुदायबाट कटु प्रतिक्रिया पाएका थिए।
उक्त विवादास्पद टिप्पणीको बारेमा एसबीएस न्युजले गरेको प्रश्नमा भने, अस्ट्रेलियाको बलियो लोकतन्त्रमा त्यस्ता प्रकारले सबैले आ-आफ्नो धारणा राख्न सक्ने विश्वास आफ्नो रहेको मन्त्री हकले बताए।
तर यसपालि भने, एलेक्स हकले आफूले आप्रवासीहरूद्वारा अस्ट्रेलियाली समाजलाई आत्मसात् भन्दा पनि त्यसमा घुलमिल हुन जरुरी रहेकोमा जोड दिए।
"अस्ट्रेलिया विश्वमा अद्वितीय छ - हामी थुप्रै देश र धेरै संस्कृतिहरूको मानिसहरूलाई लिन्छौँ र उनीहरूलाई अन्य कुनै पनि स्थान भन्दा अस्ट्रेलियाली सांस्कृतिक मूल्य मान्यतामा राम्ररी समाहित गर्दछौँ।"
तर, आफ्नो आप्रवासी पृष्ठभूमिका कारण आफूले अस्ट्रेलिया आउने मानिसहरूको कुरा बुझ्ने बताउन पनि हक पछि परेनन्।
"सबै आप्रवासीहरू जस्तै, मलाई पनि थाहा छ कि यो नयाँ देशमा बसाइँ सरेर दोस्रो पुस्ताको व्यक्ति बन्न कस्तो हुन्छ भनेर।"
हकका मावली बाजे बज्यै दोस्रो विश्व युद्धका बेला ग्रिसबाट अस्ट्रेलिया बसाईं सरेका थिए।
