लाना बोगुनोभिचसिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र सीबीडीमा रहेको एक बहु तल्ले भवनमा काम गर्छिन्।
उनी भन्छिन् कि घरबाट महिनौँ काम गरिसकेपछि अब उनलाई कार्यालय आउजाउ र आफ्नो सहकर्मीहरूसँग उठबस गर्दा कतै सङ्क्रमित भइने त होइन भन्ने डरले सताउन थालेको छ।
फ्यानटास्टिक सर्भिसेस ग्रुपले गरेको एक सर्वेक्षणलाई आधार मानेर हेर्दा, अस्ट्रेलियामा काम गर्ने प्रत्येक ५ जनामा २ जना आफ्नो कार्यस्थलको सरसफाइलाई लिएर चिन्तित छन्।

दुई तिहाइ मानिसहरूले भने, आफूहरू घरबाट बाहिर निस्कँदा, कतै कुनै सतहहरू छोइन्छ कि भनेर सतर्क रहने गरेको पनि सो अध्ययनलाई बताएका थिए।
उक्त संस्थाका प्रमुख कार्यकारी र्युन सोभ्नडाल भन्छन् कि आफूहरूद्वारा गरिएको अध्ययनले अस्ट्रेलियामा बस्ने मानिसहरूको सरसफाइ बारे दृष्टिकोण कोभिड-१९ का दौरानमा परिवर्तन हुँदै गएको देखाएको छ।
उनका अनुसार मानिसहरू सार्वजनिक स्थलमा पुनः भेला हुन अलिक डराएका जस्तो देखिन्छ जुन चिन्ता महामारी पूर्वको अवस्थामा हुँदैन थियो।
लाना बोगुनोभिच सोभ्नडालसँग सहमत देखिन्छिन्।
कोभिड-१९ द्वारा प्रस्तुत चुनौतीहरूले उनलाई सुरक्षित कार्यस्थलको परिभाषा पुनर्मुल्याङ्कन गर्न कर लगायो।
बोगुनोभिचका अनुसार कार्यालय भवन प्रवेश गर्दा तापक्रम मापन गर्ने यन्त्र, बैठक कोठामा एक पटकमा कति जनासम्म बस्न पाउने भन्ने जस्ता नियमहरूका कारण आफू सुरक्षित रहेको प्रत्याभूत भएको बताउँछिन्।

न्यु साउथ वेल्स सेफवर्कका स्वास्थ्य तथा सुरक्षित योजनाका निर्देशक - जिम केली भने मानिसहरूले कोभिडसेफ प्लानका सरल सिद्धान्तहरू लागू गरेमा कार्यस्थल फर्केर काम गर्दा हुने सुर्तालाई सम्बोधन गर्न टेवा मिल्ने बताउँछन्।
र्युन सोभ्नडाल भने ह्यान्डल, धारा र बत्तीका स्विच जस्ता अति प्रयोग हुने वस्तुहरू कसरी कम भन्दा कम छुनु पर्ने बनाउन सकिन्छ भनेर सोच्न रोजगारदाताहरूलाई प्रोत्साहन दिन्छन्।
आफ्ना कर्मचारीका लागि स्यानिटाइजर, फर्निचर आदि पुछ्न मिल्ने कीटाणु नाशक वाइपहरू र कोरोना मापदण्ड अनुरूपका भौतिक दुरीमा राखिएका टेबल, कम्प्युटर जस्ता उपकरणका साथै थुप्रै रोजगारदाताहरुले फगिङ्ग भनेर पनि चिनिने भाइरस नाशक सर-सफाइमा पनि लगानी गरिरहेका छन्।

कोरोनाभाइरस विरुद्ध अस्ट्रेलियाको प्रभावकारी प्रतिक्रियाको कारण फगिङ्ग जस्ता अति सूक्ष्म सर-सफाइका कार्य भने कार्यस्थलमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएका खण्डमा मात्रै आवश्यक रहने केलीको भनाई रहेको छ।
आफ्नो कार्यस्थलमा कोभिड-१९ को जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारे थप जान्न सेफवर्क अस्ट्रेलियाको वेबसाइट safeworkaustralia.gov.au जानुहोस्।








