सोमवार बेलुकी आठ बजेसम्मको गणना अवधिमा १३,००० जनाको परीक्षण गर्दा २२ जनामा कोरोनाभाइरस सङ्क्रमण फेला परेको छ।
मङ्गलवार बिहान जारी सो आँकडा, अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्यमा गएको चार महिना यता - कुनै पनि २४ घण्टे गणना अवधिमा वृद्धि भएको स्थानीय सङ्क्रमण मध्ये सबैभन्दा बढी हो।
यसरी सामुदायिक रूपमा सङ्क्रमणका घटनाहरू बढ्दै जाँदा न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले मानिसहरूलाई ठुला भेलाबाट टाढै रहन भनेकी छिन्।
उत्तर पश्चिम सिड्नी स्थित एक क्याथोलिक स्कुलको कोरोना क्लस्टर बढेर १७ पुगे पछि उनले माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले पनि वयस्कहरू झैँ व्यवहार गर्ने भएकाले, उनीहरूले भाइरसको फैलावटमा ठुलो भुमिक खेल्ने बताएकी छिन्।
"हामी अझै पनि जान्दछौँ र विश्वास गर्दछौँ कि प्राइमरी स्कुलका विद्यार्थी जस्ता साना विद्यार्थीहरूले (अरू) लाई सङ्क्रमित गर्ने सम्भावना हुँदैन तर जसै तपाईँ ठुलो हुँदै जानुहुन्छ ... १८ वर्षको उमेरका विद्यार्थीहरूले भने वयस्कहरू झैँ रोग सार्ने जोखिम बढाउँछन्," उनले भनिन्।
अघिल्लो हप्ता पहिलो पटक कोभिड-१९ सङ्क्रमण देखा परेपछि माध्यमिक पट्टिको विद्यालय हाता अगस्ट २४ सम्मका लागि र निम्न माध्यमिक हाता कम्तीमा पनि बुधवारसम्मका लागि बन्द गरिएको छ।
उक्त स्कुलमा कोरोना प्रकोप सुरु कसरी भयो भन्ने बारेमा आफूहरूको अनुसन्धान जारी नै रहेको बताउँदै, हाल माध्यमिक तहमा पठनपाठन गर्ने विद्यार्थी र गराउने शिक्षक गण दुवै समूहका व्यक्तिहरूलाई सेल्फ आइसोलेसनमा राख्दै उनीहरूको परीक्षण हुँदै गरेको न्यु साउथ वेल्स हेल्थले जानकारी गराएको छ।
कहाँ-कहाँ देखियो कोरोना?
पेनन्ट हिल्समा रहेको सेन्ट अगाथाज क्याथोलिक चर्च
फार्मासेभ फार्मेसी, चेर्रीब्रुक
किड्स अर्ली लर्निन्ङ, क्वेकर्स हिल
आवर लेडी अफ मर्सी कलेज, पार्रामाटा
बेट्सम्यान बे हाई स्कुल, बेट्सम्यान बे
बेट्सम्यान बे पब्लिक स्कुल, बेट्सम्यान बे
उच्च सतर्कतामा राज्य छ: बेरिजिक्लियन
उता, राज्य सरकार प्रमुख ग्लाडिस बेरीजिक्लियनले भने न्यु साउथ वेल्स उच्च सतर्कताको अवस्थामा रहेको बताउँदै टँगरा स्कुल जस्ता गैर-सरकारी स्कूलहरूले अतिरिक्त क्रियाकलापमा हाल रोक्का गरिसकेको हुनुपर्ने बताएकी छिन्।
"हामी अहिले महामारीमा छौँ - हरेक सङ्गठन, हरेक निकायले कोभिड सुरक्षा योजनाहरूको पालना गर्नु आवश्यक छ," बेरेजिक्लियनले मङ्गलवार पत्रकारहरूलाई भनिन्।
हाल न्यु साउथ वेल्स भर कोरोना सम्बन्धित ८ जना बिरामीको सघन उपचार भइरहेको छ जसमध्ये ६ जनालाई भेन्टिलेटरमा राखिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
