SKIP TO MAIN CONTENT

५० वर्ष भन्दा कम उमेरका अस्ट्रेलियालीहरूलाई एस्ट्राजेनेकाको सट्टा फाइजरको खोप सिफारिस

कोरोनाभाइरस खोप सम्बन्धी आफ्नो नीतिमा कोल्टे फेर्दै, सङ्घीय सरकारले एस्ट्राजेनेका-अक्सफोर्ड खोप - अब ५० वर्ष उमेर माथिका मानिसहरूलाई मात्र सिफारिस गरिएको बताएको छ।

Prime Minister Scott Morrison at a press conference at Parliament House in Canberra. Tuesday, April 6, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Prime Minister Scott Morrison at a press conference at Parliament House in Canberra. Source: AAP

3 min read

Published

Updated



Skip to article content

बिहीबार साँझ अप्रत्याशित रूपमा क्यानबेरामा बोलाइएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव तथा प्रमुख स्वास्थ्य अधिकारीसँगै उपस्थित भएर प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो योजनामा भएको परिवर्तन बारे घोषणा गरेका हुन्।

खोप सम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह वा अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन(अट्यागी) को बैठकद्वारा सरकारलाई दिएको पछिल्लो सुझाव अनुसार उक्त घोषणा गरिएको प्रधानमन्त्रीले बताए।

एस्ट्राजेनेका खोप लगाउँदा केही मानिसहरूमा रगत जम्ने समस्या देखा परे पछि युरोपेली सङ्घले यस बारे अनुसन्धान सुरु गरेको थियो।

युरोपेली स्वास्थ्य अधिकारीहरूले एस्ट्राजेनेकाको खोप र मस्तिष्कमा रगत जम्ने समस्या बिचमा सम्बन्ध रहेको निष्कर्ष निकाले पछि अस्ट्रेलियाली अधिकारीहरूको बैठक बिहीबार बसेकोले सरकार समक्ष ५० वर्ष मुनि रहेका मानिसहरूलाई एस्ट्राजेनेका खोप नलगाउन सिफारिस गरेको हो।

तथापी, अट्यागीको सिफारिस केवल सल्लाह मात्रै रहेको र एस्ट्राजेनेका खोपबाट ५० वर्ष भन्दा कम उमेर समूहका एकदमै कम मानिसहरूमा मात्र रगत जम्ने समस्या देखिएको मोरिसनले बताए।

सङ्घीय स्वास्थ्य सचिव ब्रेन्डन मर्फि भन्छन् कि मानिसहरूले यसबाट आत्तिनुपर्ने कुनै कुरा छैन।

"५० वर्ष माथिका मानिसहरूमा यसको कुनै नकारात्मक प्रभाव देखिएको छैन। निश्चिन्त भएर एस्ट्राजेनेकाको खोप लगाउन अस्ट्रेलियालीहरूलाई म अनुरोध गर्छु। हामीले केवल सावधानी अपनाउन मात्र आजको निर्णय लिएका हौं।"

बेलायतले आफ्ना ३० वर्ष मुनीका नागरिकलाई वैकल्पिक खोपको व्यवस्था गर्ने जनाउँदै गर्दा र युरोपियन मेडिसिन एजेन्सीले कुनै पनि विशिष्ट सुझाव नदिएको भएता पनि, महिला र ६० वर्ष मुनीका मानिसमा रगत जम्ने समस्याको खतरा हुन सक्ने औँल्याए पछि अस्ट्रेलियाली अधिकारीहरू गम्भीर भएका थिए।

पहिले, उक्त अस्ट्रेलियाली विशेषज्ञहरूको सल्लाह शुक्रवारको राष्ट्रिय मन्त्रिपरिषद्मा लगेर छलफल गरिने बताइएको थियो तर प्रधानमन्त्री स्कट मोरिसनले आफूहरू अगाडी आएर अस्ट्रेलियाली जनताका सामु सत्य तथ्य राख्न चाहेको बताए।

यसका साथै, उनले अस्ट्रेलियाली अधिकारीहरूलाई एकदमै कुशलतापूर्वक काम गरेकोमा बधाई दिए।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले चाहीँ फाइजर खोपका थप मात्राहरू कसरी आपूर्ति हुन्छ भन्ने बारेमा ठोस् उत्तर दिन चाहेनन्।

एक पत्रकारद्वारा यस बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले केवल खोपको निरन्तर आपूर्ति हुनेमा आफ्नो विश्वास रहेको मात्र बताए।

"सुरक्षाका कारणले गर्दा हामीले ठ्याक्कै स्रोत खुलाउन मिल्दैन," उनले भने।

"युरोपले बारम्बार भनेको छ कि खोप निर्यात गर्ने बारे उसको विवाद हैन, केवल एस्ट्राजेनेकासँग मात्रै उसको कुरा नमिलेको हो।"

फाइजरले प्रोटिनमा आधारित भएको आफ्नो खोपको २ करोड मात्रा अस्ट्रेलियालाई वर्षको अन्त्यसम्ममा दिने प्रतिबद्धता जनाइसकेको छ।

मर्फिले चाहिँ अस्ट्रेलियामा एस्ट्राजेनेका खोप उत्पादनको जिम्मा पाएको सीएसएसले अन्य खोप एकैसाथ बनाउन नसक्ने भएकाले नोभाभ्याक्स नामक अर्को खोप स्वदेशमै उत्पादन गर्न सक्ने उपायहरूको खोजी भइरहेको बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now