देशको ऊर्जा बजार सञ्चालक अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एइमो)का अनुसार मङ्गलवार साँझदेखि न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, साउथ अस्ट्रेलिया र टास्मेनियामा बिजुली आपूर्तिमा अवरुद्ध हुनसक्ने छ।
एइमोका अनुसार क्वीन्सल्यान्डमा स्थानीय समयानुसार दिउँसो ४:३० बजेदेखि र न्यु साउथ वेल्समा साँझ ५ बजेदेखि मध्यरातसम्म बिजुली आपूर्तिमा समस्या आउन सक्नेछ।
यसै गरी, भोलि यी दुई राज्यहरूका साथै भिक्टोरिया, साउथ अस्ट्रेलिया र टास्मेनियामा पनि ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने चेतावनी उक्त संस्थाले दिएको हो।
आफूले बजारबाट आवश्यक ऊर्जा आपूर्तिका लागि पहल गरिरहेको एइमोको भनाई छ।
सोमवार पनि एइमोले यसै प्रकारको चेतावनी जारी गरेपछि क्वीन्सल्यान्डमा लोड सेडिङ हुनबाट रोकिएको बताइएको छ।
हिजो एइमोको पत्र पाएपछि ऊर्जा बजारमा थप बिजुली आपूर्ति भएको थियो।

उक्त संस्थाले राष्ट्रिय विद्युत् नियमहरूको हवाला दिँदै ऊर्जा उत्पादकहरूसँग बजारमा थप मात्रामा बिजुली आपूर्ति गर्न आह्वान गरेपछि, सो सङ्कट टरेको थियो।
बिजुलीको महसुल द्रुत रूपमा बढेपछि अहिले एइमोले खुद्रा उपभोक्ताहरूका लागि प्रति मेगावाट आवर अधिकतम ३०० डलर मूल्य निर्धारण गरेको छ।
यसरी मूल्य निर्धारण गरेपछि ऊर्जा उत्पादकहरूले भने आफूले सामान्यतया उत्पादन गर्ने भन्दा कम मात्रा विद्युत् बजारमा पठाउँदा, हालको ऊर्जा सङ्कट देखिएको हो।
एइमोले भने गत केही समययता विद्युत् महसुल आकासिँदै गएपछि आफूले त्यसरी हस्तक्षेप गर्नुपरेको बताएको छ।
सरकार के भन्छ?

देशको ऊर्जा बजार सञ्चालकले घर-घरमा बत्ती आपूर्तिमा सङ्कट देखा पर्न सक्ने भन्दै चेतावनी जारी गरे तापनि सङ्घीय ऊर्जा मन्त्री क्रिस बावन भने न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा बिजुली बलिरहनेमा आफू विश्वस्त रहेको बताउँछन्।
उनी भन्छन् कि आवश्यक रहेसम्म एइमोले हस्तक्षेप जारी राख्नेछ र हाल देखा परेको स्थिति कोइलाबाट चल्ने ऊर्जा केन्द्रहरू बन्द रहनाले निम्तिएको हो।
“एइमो हामीसँग, राज्यहरूसँग मिलेर काम गरिरहेको छ र त्यसका कारण अहिलेसम्म लोड सेडिङ भइहालेको छैन,” उनले भने।
“मलाई विश्वास छ कि उनीहरू यसरी नै मिलेर काम गरिरहनेछन्।”
तर बावनले जाडो महिनाहरू भर नै सङ्कट जारी रहन सक्ने बारे सबै जना सचेत हुनुपर्ने बताएका छन्।
“हामीले कठिन समयको अनुभव गर्नुपर्ने छ, यसमा कुनै शङ्का छैन,” उनले सेभेन नेटवर्कसँग भने।
"यद्यपि यो एक धेरै गम्भीर अवस्था हो, हामी यसलाई शान्त र विधिपूर्वक व्यवहार गर्नेछौँ।"
मङ्गलवार बिहान मात्र एइमोका कार्यकारी अधिकृत ड्यानिएल वेस्टरम्यानले न्यु साउथ वेल्सका ट्रेजरर म्याट कीनसँग भेटेका थिए।
सो भेटपछि पत्रकारहरूसँग बोल्दै कीनले आफूलाई पर्याप्त मात्रामा ऊर्जा उपलब्ध रहेको आश्वासन दिएको बताएका थिए।
उता, क्वीन्सल्यान्डमा भने उपभोक्ताहरूले मङ्गलवार राती बिजुली प्रयोग गर्दा अलिक फारो हुनुपर्ने विद्युत् प्रसारण कम्पनी पावरलिङ्कका प्रमुख पल सिमस्हाउसरले बताएका छन्।
“यदि तपाईँ एअरकन्डिस्नर चलाउनु हुन्छ भने, सबैभन्दा ठुलो मात्रामा त्यसलाई नचलाउनुहोस्,” उनले एबीसी रेडियोसँग कुरा गर्दै भने।
क्वीन्सल्यान्डका ऊर्जा मन्त्री मिक डे ब्रेन्नी पनि एइमोले आफ्नो काम गरिरहेकाले हालालाई आफूहरूले हस्तक्षेप गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।
