क्विन्सल्याण्डमा आगामी सोमबारदेखि विद्यार्थी हरू स्कूलहरुमा देखिन छाड्नेछन् भने साउथ अस्ट्रेलियामा ६ अप्रिल उप्रान्तदेखि उक्त नयाँ व्यवस्था लागू हुनेछ।
अत्यावश्यक सेवामा कार्यरत अभिभावकहरूले भने आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन सक्ने बताइएको छ।
“स्वास्थ्यकर्मी मात्र होइन, आपत्कालीन सेवामा संलग्न कर्मचारीहरू मात्र होइन, प्रहरी मात्र होइन, हाल आफ्नो काम जारी राखेका सबै मानिसहरू चाहे ती सुपरमार्केटमा सामान भर्ने मानिसहरू नै किन नहुन्, उनीहरू सबैले आ-आफ्ना बच्चाहरू स्कुल पठाउन सक्नेछन्,” क्विन्सल्याण्डकी प्रिमियर अनास्टेसिया पलाषेले भनिन्।

विद्यालयमा बालबालिकाको चाप कम भएको समय उपभोग गर्दै शिक्षक-शिक्षिकाले अनलाइन पठन-पाठनका लागि सामाग्रीहरू तयार गर्ने पनि पलाषेलेको भनाई थियो।
यसका साथै, उनीहरूलाई दूर शिक्षा सम्बन्धी तालिम पनि दिइने बताइएको छ।
राज्यकी शिक्षा मन्त्री ग्रेस ग्रेसका अनुसार विद्यालय समय बाहिर हाल उपलब्ध भइरहेका बालबालिकाको हेरचाह र लङ्ग डे केयर यथावतै रहने छ।
“तर, अभिभावकहरूलाई घरैमा बस्नुपर्ने आवश्यकता र सेल्फ आइसोसन निर्देशनहरू पालना गर्नुपर्ने बारे हामी फेरी पनि सम्झाउन चाहान्छौं, यी सेवाहरू अत्यावश्यक काममा रहेका मानिसहरूका लागि मात्र हो भनेर बुझ्नुहोस्,” उनले भनिन्।
म आमाबाबुलाई यो स्पष्ट सन्देश दिन चाहन्छु, जसका बच्चाहरू घरमा बस्ने छन्: उनीहरूले अर्को हप्ता घरैबाट पढ्नुपर्दछ," अनास्टेसिया पलाषेले स्पष्ट पारिन्।
“उनीहरू सपिंग सेन्टर र बाहिर त्यत्तिकै घुम्नु हुँदैन र अस्वस्थ हजुरबुवा-हजुरआमालाई भेट्न जान पनि हुँदैन,” उनले अगाडी भनिन्।
साउथ अस्ट्रेलिया पनि क्विस्ल्याण्डकै बाटोमा

अप्रिल ६ देखि साउथ अस्ट्रेलियाका सबै स्कूलहरूमा अत्यावश्यक सेवामा रहेका कर्मचारीका बाहेक अन्यका बालबालिकाहरू देखा पर्ने छैनन्।
इस्टर बिदा पछि सुरु हुने दोस्रो शैक्षिक सत्रमा अनलाइन पढाइ सुरु गर्न उक्त राज्यभरका शिक्षक शिक्षिकाहरूले “परिवर्तित वातावरण”मा काम गर्ने साउथ अस्ट्रेलियाका शिक्षा मन्त्री जन गार्डनरले बताए।
उनका अनुसार राज्यभर लगभग २५ प्रतिशत विद्यार्थीहरूले स्कुल आउन छाडेका छन् र दूर शिक्षा लागू गर्न आफूहरू लागि परेका छन्।
"अभिभावकहरूको लागि यो सन्देश छ - यदि तपाईँ घरमा आफ्ना बच्चाहरू घरैबाट सिक्न सक्छन् भनेर हेरचाह गर्न सक्षम हुनुहुन्छ भने, अब हामी तपाईँलाई त्यसो गर्न सहयोग गरिरहेका छौँ,” गार्डनरले भने।
उनले घरैबाट पढ्न सक्ने र विद्यालय नै आउनुपर्ने दुवै किसिमका विद्यार्थीहरूको आवश्यकतालाई मिलाएर अगाडी लैजाने व्यवस्था जरुरी रहेको पनि बताए।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: https://www.sbs.com.au/language/nepali/coronavirus-updates
