कोरोना सङ्कट: न्यु साउथ वेल्समा थप कडाइ हुने सङ्केत

कोरोनाभाइरस सङ्क्रमणको नयाँ मामिलाहरू बढ्ने गति कम नभए आफ्नो राज्यमा सामाजिक दुरी सम्बन्धी नियमहरू अझै कडा गरिने न्यु साउथ वेल्स प्रिमियरले बताएकी छिन्।

NSW Police Commissioner Mick Fuller addresses media on COVID-19.

NSW Police Commissioner Mick Fuller addresses media Source: AAP

न्यु साउथ वेल्सका स्वास्थ्य अधिकारीहरूले गए राति थप १९० जना कोभिड-१९ बाट सङ्क्रमित भएको बताउँदै गर्दा प्रिमियर ग्लाडीस बेरिजिक्लियनले नयाँ मामिलाहरू यही गतिमा बढी नै रहे आफूले अझ कडा नियमहरूको घोषणा गर्ने सङ्केत दिएकी हुन्।

गत साता सिड्नी बन्दरगाहमा रुबी प्रिन्सेस क्रुज जहाजलाई रोक्न अनुमति दिइएपछि उत्पन्न भएको विवादका कारण त्यस बारे थप नयाँ नियमहरू निर्माण नभएसम्मका लागि राज्यभर नै कुनै पनि क्रुज जहाजलाई रोक्न नपाइने गरी प्रतिबन्ध लगाइएको घोषणा समेत उनले गरिन्।

“न्यु साउथ वेल्समा अब अर्को व्यवस्था नभएसम्म कोही पनि पानी जहाजबाट ओर्लन पाउने छैनन्,” बेरिजिक्लियनले भनिन्।

The Ruby Princess cruise ship docked in Sydney's Circular Quay
The Ruby Princess cruise ship docked in Sydney's Circular Quay. Source: NSW Port Authority

रुबी प्रिन्सेस क्रुज जहाजबाट ओर्लेका यात्रुहरू मध्ये न्यु साउथ वेल्सका मात्रै १०५ मानिसहरू कोभिड-१९ बाट सङ्क्रमित भएको बताइएको छ।

“किनभने यो सार्वजनिक सुरक्षाको लागि हो,” भन्दै प्रिमियर ग्लाडीस बेरिजिक्लियनले आफूले निकट भविष्यमा चाल्ने कदमको बचाउ गर्दै राज्यका बासिन्दाहरूलाई “तयार रहनुहोस्” भनिन्।

कोरोनाभाइरसलाई थप फैलन नदिने परिमार्जित नियमानुसार हाल न्यु साउथ वेल्समा ती नियमहरूको पालना नगरेको भेटिए राज्य प्रहरीले तत्काल नै एक हजार डलरको जरिवाना गराउन सक्नेछ।

NSW Police Commissioner Mick Fuller and NSW Police Minister David Elliott address media.
NSW Police Commissioner Mick Fuller and NSW Police Minister David Elliott address media. Source: AAP

“धेरै मानिसहरूले ठिक काम गरेता पनि केही व्यक्तिहरूले लापरबाही एवं गैरजिम्मेवारपूर्ण व्यवहार गरेर आफू र अर्काको जीवन जोखिममा पारिरहेका छन्, विशेष गरेर समुदायका वृद्धावस्था र कमजोर स्वास्थ्य स्थिति भएका मानिसहरूको,” न्यु साउथ वेल्सका प्रहरी मन्त्री डेभिड एलियटले भने।

“नियमहरू स्पष्ट छन् र ती सबैलाई लागू हुन्छ। कानुन भन्दा माथि कोही पनि छैन।”

“केवल आफ्नो र आफन्तजनको बारेमा मात्र नसोच्नुहोस्, तपाईंले अनावश्यक रूपमा अन्य मानिसहरूलाई सङ्क्रमित गर्नुका साथै उनीहरूको मृत्युको कारण पनि बनिरहनुभएको हुन सक्नुहुन्छ,” बेरिजिक्लियनले अघिल्लो हप्ता मात्रै पत्रकारहरूसँग कुरा गर्दै भनेकी थिइन्।

“यो जीवन र मरणको कुरा हो।”

“म सबैलाई तयार भएर बस्न भन्छु। यो यसै लापरवाह भएर अथवा मलाई यसले कुनै असर गर्दैन भनेर बस्ने समय होइन,” उनले भनिन्।

NSW Premier Gladys Berejiklian earlier this week urged students to stay at home.
NSW Premier Gladys Berejiklian earlier this week urged students to stay at home. Source: AAP

कोरोनाभाइरस फैलनबाट रोक्न जारी गरिएका निर्देशनहरूको पालना नगरेको पाइएमा न्यु साउथ वेल्स राज्यमा मानिसहरूका साथै सङ्घ-संस्थाहरूलाई जेल सजायका साथै ११,००० डलरसम्म जरिवाना हुने नियम पहिले नै लागू छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


3 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now