

Latest
Published
Updated
राष्ट्रपतिको निर्वाचनका लागि नेपाली काँग्रेसले पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएका थिए।
सङ्घीय संसद्मा भएको निर्वाचनमा पौडेललाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा लगायतले मत दिएका हुन्।
राष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरेका छन् भने अर्का उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे।
निर्वाचन अधिकृत महेशका अनुसार निर्वाचनमा कूल ४९ हजार ५ सय ९१ सांसदहरुको मतभार रहेको थियो।
पौडेलले सोमवार राष्ट्रपतिको शपथ लिने र कार्यभार सम्हाल्ने अधिकारीहरूले बताएका छन्।
उनले ६ दशक भन्दा लामो राजनीतिक यात्रामा करिब १५ वर्ष जेल बिताएका छन् ।
नेपालका तेस्रो राष्ट्रपति बन्न पुगेका रामचन्द्र पौडेल नेपाली काँग्रेसको तर्फबाट ६ पटक सांसद बनिसकेका छन् तर २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि १७ पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएता पनि सफल हुन सकेका थिएनन्।
यसअघि रामवरण यादव पहिलो राष्ट्रपति हुन् भने विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति हुन्। उनी दुई कार्यकाल राष्ट्रपति बनिन्।
मङ्सिरमा सम्पन्न निर्वाचनको प्रचार प्रसारको क्रममा पनि पौडेलले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा चिनाएका थिए।
उनी उपप्रधानमन्त्री सहित ५ पटक मन्त्री भने बनिसकेका थिए।
पछिल्लो समय नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा नजिकिएका र उनलाई सघाएका कारण उनलाई काँग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

उनी काँग्रेसका अन्य नेता कृष्ण प्रसाद सिटौला र मीन प्रसाद विश्वकर्मालाई पछि पार्दै राष्ट्रपतिको उम्मेदवार बनेका थिए।
राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्दछन्।
बिहीबारको निर्वाचनमा कुल ८३९ -३९३ सङ्घीय सांसद र ५९८ प्रदेशसभा सदस्यले मतदान गरेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो।
यस्तै नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपतिको निर्वाचनमा भाग नलिने जनाएको थियो भने घरमा ग्यास पड्केपछि उपचारका लागि भारत गएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी, उपचारका लागि विदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेनन् ।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले पनि मतदानमा सहभागी भइनन्।

राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर निर्वाचन लगत्तै बनेको गठबन्धन सरकारको समीकरण फेरिएको थियो।
मङ्सिरमा सम्पन्न निर्वाचनबाट तेस्रो ठुलो दल बनेको माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्दे नेकपा एमाले र राप्रपा सरकारमा प्रवेश गरेका थिए।
उक्त सरकार बनाउँदा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको दाबी एमालेका शीर्ष नेताहरूले सार्वजनिक रूपमै गरेका थिए।
तर नेपाली काँग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्रले समर्थन गरेपछि नेकपा र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
उपराष्ट्रपतिको भाग पाएको जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
यादव जसपाको सांसद हुन्।
उनले प्रतिनिधिसभाको निर्वाचन बारा-२ बाट जितेका थिए। उनी पूर्व मन्त्री समेत हुन्।

नेपाल: लोप हुँदै गएको ‘कौरा’ नाचगानको पुनर्जागरण गर्दै मगर समुदाय