नेपालमा गत नोभेम्बर २० मा भएको सङ्घीय तथा प्रादेशिक निर्वाचनको मत गणना सकिएर यस हप्ता मत परिणाम सार्वजनिक भएको छ।
नेपालको संसद्मा प्रत्यक्ष र समानुपातिक गरेर २७५ सिट रहेका छन्।
त्यस मध्येमा प्रत्यक्ष निर्वाचनमा ५७ र समानुपातिकमा ३२ स्थान जितेर नेपाली काँग्रेस सबभन्दा ठुलो दल बन्न पुगेको छ।
तर, बहुमतका लागि आवश्यक १३८ सिट भने यो पार्टीले पाउन सकेको छैन।

त्यस्तै, प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकमा ३३ सिट पाएर एमाले दोस्रो ठुलो दल बनेको छ भने प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट ल्याएर माओवादी केन्द्र पार्टी तेस्रो ठुलो दल बनेको छ।
पछिल्लो निर्वाचनमा साझेदारी गरेर यी दुई पार्टीले दुई तिहाइको बहुमत ल्याएका थिए भने सन् २००८ को निर्वाचनयता यस पटक पहिलो पटक संसद्मा वामपन्थीको बहुमत छैन।
यी सबै पार्टीहरू नेपालका पुरानै दल हुन् भने यस पटक नयाँ दलहरूको प्रवेशले नेपाली राजनीतिमा हलचल ल्याएका छन्।
सञ्चारकर्मी रबी लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट ल्याउँदै कूल २० सिट जितेर एउटा नयाँ रेकर्ड कायम गरेको छ।
निर्वाचन हुनुभन्दा पाँच महिना अगाडि मात्र दर्ता गरिएको यो पार्टीले देशभरका मानिसलाई पार्टीमा जोडिन आउनका लागि खुला आह्वान गरेको थियो।
यसै आह्वानलाई स्वीकार गर्दै पार्टीमा जोडिन आएका मानिसमध्ये धेरैजसो राजनीतिमा नयाँ अनुहार हुन्, र कतिपयले एक अर्कालाई चिनेका पनि छैनन्।
विशेष गरी काठमान्डुमा शेरबहादुर तामाङ र पम्फा भुसाल जस्ता मन्त्री भइसकेका वरिष्ठ राजनीतिज्ञहरूलाई हराउँदै संसद् प्रवेश गरेका युवा महिलाहरू सोबिता गौतम र डा. तोशिमा कार्कीको जीतलाई अप्रत्याशित मानिएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो जीतलाई मानिसहरूले पुराना पार्टीसँग नेपाली मतदाताको वितृष्णा र युवाहरूप्रतिको आशाको रूपमा हेरिरहेका छन्।
करिब एक दशकदेखि यस्तो वैकल्पिक राजनीति गर्दै आएको विवेकशील पार्टी भने यस पटक पनि संसद्मा पुग्न सकेको छैन।
त्यसै गरी, अर्को पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सिट गरेर १४ सिट ल्याएको छ भने एमालेबाट छुटेर बनेको दल नेकपा एकीकृत माओवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेता पनि समानुपातिकमा कुनै सिट प्राप्त गर्न सफल भएको छैन।

समानुपातिकतर्फ कूल मतको ३ प्रतिशत प्राप्त गर्ने पार्टी मात्र राष्ट्रिय पार्टी बन्ने प्रावधान रहेको अवस्थामा माधव नेपाल नेतृत्वको यो दलले ३ प्रतिशत मत प्राप्त नगरेका कारण राष्ट्रिय दल बन्न सकेको छैन।
यस पार्टीका एक जना शीर्ष नेता झलनाथ खनाल नै निर्वाचनमा पराजित भएका छन्।
त्यसै गरी, यो निर्वाचनमा अरू पनि शीर्ष नेताको पराजय चर्चित बनेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, भूतपूर्व माओवादी नेता बाबुराम भट्टराई, र एमालेका चर्चित नेताहरू ईश्वर पोखरेल र घनश्याम भुसाल पराजित भएका छन्।
त्यसै गरी, बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई, र प्रचण्डकी बुहारी बिना मगरजस्ता शीर्ष नेताका नातेदार पनि निर्वाचनमा पराजित भएका छन्।
प्रत्यक्ष निर्वाचनमा अरू पनि साना दलले केही सिट पाउन सफल भएका छन्, जसमा लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ सिट ल्याएका छन् भने र ५ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको उपस्थिति रहने छ, तर सरकार कुन दलले बनाउनेछ भन्ने कुरा स्पष्ट छैन।
सबभन्दा ठुलो दल नेपाली काँग्रेसको बहुमत नभएको अवस्थामा कुनै दलहरूले मिलेर बहुमत बनाउनु पर्ने हुन्छ।
यो भन्दा अगाडिको सरकारमा सत्ताका साझेदार नेपाली काँग्रेस र माओवादी पार्टी मिलेर पनि बहुमत पुग्ने अवस्था नभएकाले ठुला दलहरूले साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिन्छ।
भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कि नजाने भन्ने बारेमा केही बताएको छैन।
सङ्घीयका साथसाथै नेपालका सातै प्रदेशको पनि मत परिणाम सार्वजनिक भइसकेको छ।
त्यस अन्तर्गत, कुनै पनि दलले कुनै पनि प्रदेशमा बहुमत ल्याउन सकेको छैन भने प्रदेश २ मा बाहेक अन्य प्रदेशमा एमाले र नेपाली काँग्रेसले सरदर एक तिहाइ मत ल्याएर सबभन्दा ठुला दल बनेका छन्।
प्रदेश २ मा पनि ती दुई दल नै अगाडि भएता पनि थुप्रै साना दलमा मत बाँडिएको छ। सङ्घीय तहमा जस्तै प्रादेशिक तहहरूमा पनि सरकार बनाउने सकस हुने देखिन्छ।









