कोरोनाभाइरसको दोस्रो लहर छिट्टै शान्त हुने कुनै लक्षण नदेखिँदै गर्दा "चौथो चरण"को प्रतिबन्ध भन्दै भिक्टोरियाका प्रिमियर ड्यानिएल एन्ड्रुजले घर बाहिर निस्कँदा राज्यमा रहने सबै मानिसले मास्क अनिवार्य रूपमा लगाउनु पर्ने घोषणा गरेका हुन्।
यसको साथै जिलङ, कोल्याक र आसपासका क्षेत्रका मानिसहरूले बिहीबार राति ११:५९ बजे उप्रान्त आफ्ना साथीभाइका घर जान पाउने अधिकार हाललाई गुमाएका छन्।
तर, ती क्षेत्रका मानिसहरूलाई पब, रेस्टुरेन्ट, क्याफे लगायतका हस्पिट्यालिटी सेवा प्रदायक स्थानहरूमा जान रोक लगाइएको भने छैन।
बिहीबार राति ११:५९ बजे उप्रान्त साथीभाइका घर जान नपाइने स्थानहरू:
कोल्याक अट्वे
बृहत् जिलङ महानगरीय क्षेत्र
सर्फ कोस्ट
मुराबुल
गोल्डन प्लेन्स र
बर्रो अफ क्विन्सक्लिफ
बिहीबार मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजले आफ्नो अनिवार्य मास्क नीतिलाई मेलबर्नको चौथो चरणको प्रतिबन्धका रूपमा लिन भन्दै उक्त नियम नमाने प्रहरीले २०० डलरसम्म जरिवाना गराउन सक्ने बताए।
"म बुझ्छु कि यो केही मानिसको लागि ठुलो कदम हो," उनले भने।
"तर, आफ्नो अनुहार छोपेर तपाईँले आफ्नो समुदायलाई बचाउँदै हुनुहुन्छ र त्यस्ता थप स्वतन्त्रताको संरक्षण गरिदिँदै हुनुहुन्छ जुन तपाईँको समुदायले उपभोग गर्नेछ।"
स्वास्थ्य सम्बन्धी केही विशेष कारण वा लामो सास फेर्नुपर्ने गरी दौडने वा साइकल चलाएर हिँड्दा मास्क लगाउनु नपर्ने छुट यथावतै रहेको पनि एन्ड्रुजले स्पष्ट पारेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारणले भिक्टोरियामा थप १३ जनाले ज्यान गुमाउनुका साथै ७२३ नयाँ सङ्क्रमित व्यक्ति फेला परेको पनि प्रिमियर एन्ड्रुजले बताए।
ती १३ मध्ये १० जना वृद्ध स्याहार केन्द्रसँग सम्बन्धित रहेको पनि बताइएको छ भने योसँगै भिक्टोरियामा कोभिड-१९ का कारणले ज्यान गुमाउनेको सङ्ख्या १०५ पुगेको छ।
"यो सजिलो काम होइन। । तर यो प्रयास एकदम ठुलो छ। ”
प्रिमियर ड्यानिएल एन्ड्रयुजले भने कि बिहीबार डरलाग्दोसँग सङ्क्रमित सङ्ख्या वृद्धि हुनुमा वृद्ध स्याहार केन्द्रमा गरिएको बृहत् परीक्षणको हात छ।
तर, उनले धेरै मानिसहरू अझै कोरोनाभाइरसका लक्षणहरूका साथ कार्यस्थल जानु पनि यसरी सङ्क्रमित सङ्ख्या बढ्नुको कारण रहेको उल्लेख गरे।
"परीक्षणको नतिजा सकारात्मक भए पनि धेरै व्यक्तिहरू काममा गई नै राखेका छन्," उनले भने।
"र, यसरी लक्षणहरूका साथ काममा जाने कार्य जति लामो समयसम्म जारी रहन्छ, तबसम्म हामीले सङ्क्रमित सङ्ख्याहरू बढेको देख्नेछौँ।"

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

