SKIP TO MAIN CONTENT

विदेशी अपराधीहरूलाई सकेसम्म चाँडो देश निकाला गर्ने तयारीमा मोरिसन सरकार

अस्ट्रेलियामा बसाइँ सरेपछि विभिन्न अपराधहरूमा दोषी पाइएका मानिसहरूलाई सकेसम्म चाँडो देश निकाला गर्ने गरी कानून पारित गर्ने तयारीमा मोरिसन सरकार लागेको बताइएको छ।

Prime Minister Scott Morrison during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday, February 8, 2022.
Prime Minister Scott Morrison during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday, February 8, 2022. Source: AAP Image/Mick Tsikas

2 min read

Published

Updated



Skip to article content

आज प्रकाशित दि अस्ट्रेलियनका अनुसार विदेशमा जन्मेर अस्ट्रेलियामा घरेलु हिंसा, बलात्कार, प्रहरी माथि बल प्रयोग गर्ने, बालबालिकाहरूको शोषण गर्ने लगायतका अपराधीहरूलाई द्रुत रूपमा देश निकाला गर्न प्रधानमन्त्री स्कट मोरिसनले भोलि बुधवार सङ्घीय संसद्मा एक विधेयक पुनः पेस गर्ने तयारी गरिरहेका छन्।

उक्त राष्ट्रिय दैनिकका अनुसार सरकारले हाल विद्यमान कानुनमा रहेका कमीहरूलाई हटाउन नयाँ विधेयक प्रस्तुत गर्न लागेको हो।

आजै सङ्घीय अध्यागमन मन्त्री एलेक्स हअकले पनि सेभेन न्युजसँग कुरा गर्दै भनेका छन् कि मानिसहरूलाई देश निकाला गर्न सरकारलाई थप अधिकारहरू चाहिएको महसुस भएपछि कानून संशोधन गर्ने सोच बनाइएको हो।

"हामी नै पहिलो सरकार हौँ, १०,००० गम्भीर अपराधीहरूलाई देशबाट निष्कासित गर्ने," उनले भने।

"हामीले उनीहरूको भिसा रद्द गरिदियौँ र फेरी कहिल्यै फर्कन नपाउने गरी देशबाट बाहिर पुर्‍याइदियौँ।“

अध्यागमन ऐन अन्तर्गतको धारा ५०१ मा क्यारेक्टर टेस्ट वा चरित्र परीक्षणको व्यवस्था लागू भएपछि लागू औषध व्यवसायमा लागेका, यौन दुराचार गर्ने, घरेलु शोषणकर्ता, हत्या लगायतका आपराधिक क्रियाकलापमा लागेकाहरूलाई देश निकाला गरिसकिएको छ।

तर गम्भीर यौनजन्य तथा हिंस्रक अपराधहरूलाई सम्बोधन गर्न हाल प्रचलनमा रहेका विभिन्न कानुनहरू पर्याप्त नरहेका भन्दै उनले थप अधिकार आवश्यक परेको बताए।

प्रस्तावित संशोधन पारित भए गम्भीर अपराधहरूमा दोषी प्रमाणित भएर कम्तीमा पनि दुई वर्षको जेल सजाय पाएर १२ महिनाभन्दा पनि कम समय जेलमा बिताएका गैर-नागरिकहरूको भिसा रद्द गरी देश निकाला गर्न सकिने छ।

विद्यमान कानुन अनुसार भने कम्तीमा दुई वर्ष कैद सजाय हुने गम्भीर कसुरमा दोषी ठहर भएका विदेशी अपराधीले अदालतबाट कम सजाय पाएमा देश निकाला हुनबाट बच्न सक्छन् ।

यता, प्रस्तावित परिवर्तनले अस्ट्रेलियामा रहेका थप १०,००० भिसावाहकहरू प्रभावित बन्ने बताइएको छ।

यस अघि गत सालको अक्टोबरमा पनि पेस गरिएको यसै प्रकारको संशोधन प्रस्ताव भने विपक्षी लेबर र ग्रीन्सका कारण पारित हुन सकेको थिएन।

प्रधानमन्त्री मोरिसनले हिजो सोमबार संसद्मा लेबर र ग्रीन्सले अस्ट्रेलियाबाट अपराधीहरूलाई निष्कासित गर्न असहयोग गरेको बताएका थिए।

"लेबरलाई हाम्रो स्पष्ट सन्देश छ, आउनुहोस् सँगै काम गरौँ र ग्रीन्ससँगको साथ छाडिदिएर संसद्बाट यी महत्त्वपूर्ण कानून पारित गर्न मद्दत गर्नुहोस्," उनले भने।

"अस्ट्रेलियाको राष्ट्रिय स्वार्थका लागि यो आवश्यक छ।"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now