सिड्नीको दि इनर वेस्ट काउन्सिलका अनुसार २६ जनवरीमा अस्ट्रेलिया दिवस मनाउनुभन्दा स्थानीय आदिवासीहरूको विचारलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ।
मेयर डार्सी बायर्नले आफ्नो उक्त कदमले २६ जनवरी सम्बन्धी समकालीन मनोवृत्तिलाई आत्मसात् गर्ने बताएका छन्।
उनका अनुसार, धेरै आदिवासी अस्ट्रेलियालीहरूले उक्त दिनलाई आफूहरू माथि आक्रमण गरिएको र शोकाकुल दिवसका रूपमा लिने गर्दछन्।
“समुदायले यस निर्णयबाट केही पनि गुमाउने छैनन् तर हाम्रो काउन्सिलले परिपक्व एवं आदर देखाउने हिसाबले उक्त दिवस मनाउन सक्छ,” बायर्नले भने।

यसभन्दा अघि, भिक्टोरियामा धेरै नेपाली पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने मोरल्याण्ड एवं डारेबिन काउन्सिलहरूका साथै यार्रा सिटी काउन्सिलले पनि २६ जनवरीलाई अस्ट्रेलिया दिवसका रूपमा नमनाउने निर्णय गरिसकेका छन्।
त्यसै गरी, वेस्टर्न अस्ट्रेलियाको फ्रिम्यानटलले पनि सोही प्रकारको निर्णय गरेको छ।
“एबोरीजिनल मानिसहरूका लागि जनवरी २६ भनेको उपनिवेश, विस्थापन, आफ्ना बालबच्चाहरूलाई खोसिएको र जानाजानी आफूहरूको भाषा एवं संस्कृति नाशको सुरुवात भएको दिन हो,” बायर्नले भने।
“समुदाय बिस्तारै ती तथ्यहरूको जानकार बन्दै गर्दा अस्ट्रेलिया डे बारे आम धारणा बदलिँदै जानु स्वाभाविकै हो।”
२६ जनवरीमा अस्ट्रेलिया दिवस सम्बन्धी कार्यक्रम काउन्सिलहरूले आयोजना नगरे उनीहरूको नागरिकता वितरण गर्ने अधिकार खारेज हुने सङ्घीय सरकारले बताइसकेको छ।
तर पनि, दि इनर वेस्ट काउन्सिलको प्रस्तावमा उक्त दिन नागरिकता भने वितरण गरिने उल्लेख छ र सङ्घीय सरकारको उक्त निर्णयलाई मेयर बायर्नले आलोचना गरेका छन्।
“हौसला घटाउने गरी पिटर डट्टनले स्पष्ट पारिसकेका छन् कि २६ जनवरीमा औपचारिक कार्यक्रम आयोजना नगर्ने काउन्सिलहरूको नागरिकता वितरण गर्ने अधिकार रद्द हुनेछन्। अस्ट्रेलियाली बहुसांस्कृतिकताको उद्गम थलो यस पश्चिमी सिड्नीमा नागरिकता समारोह आयोजना हुनै पर्दछ। नयाँ नागरिकहरूलाई शपथ खुवाउनु हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कार्य मध्य एक हो।”
उनका अनुसार काउन्सिलवासीहरूलाई याबुन पर्वमा सरिक भएर “एबोरिजिनी मानिसहरूले उक्त दिनलाई कसरी हेर्छन्” भनेर अवलोकन गर्न प्रोत्साहन गरिने छ।

एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्याण्डर समूहका मानिसहरूलाई सम्मान व्यक्त गर्दै अस्ट्रेलियाभर गरिने भेलाहरूमा सिड्नीको भिक्टोरिया पार्कमा आयोजना हुने उक्त समारोह, सबैभन्दा ठुला आयोजना मध्य एक रहेको पनि बताइएको छ।
तर, स्वतन्त्र काउन्सिलर भिक्टर मार्सी भने उक्त निर्णयको विरुद्धमा आफू रहेको बताउँछन्।
अर्को हप्ता हुने मतदानका बखत काउन्सिल बैठकमा प्रस्तुत हुने उक्त प्रस्ताव विरुद्ध आफूले भोट गर्ने उनको भनाइ छ।
“यसले मानिसहरूलाई एकताको सूत्रमा बाँध्नुभन्दा पनि मतभेदहरूलाई प्रकाश पर्छ,” मार्सीले एबीसीलाई भने।
आगामी मङ्गलवार हुने उक्त मतदानमा लेबर तथा ग्रीन्स पार्टीका काउन्सिलहरूले प्रस्तावको पक्षमा मतदान गर्ने बताइएको छ।
