समस्याग्रस्त वृद्ध हेरचाह क्षेत्रमा ५६ करोड ३० लाख डलर लगानीका साथ मोरिसन सरकारले सो क्षेत्रका कर्मचारीलाई एक भन्दा बढी स्याहार केन्द्रहरूमा काम नगर्न प्रोत्साहन गरेको हो।
यस अन्तर्गत सरकारले आफ्नो "सिङ्गल साइट वर्कर प्रोग्राम"लाई ९ करोड २० लाख डलरको लागतमा आगामी वर्षको जुन महिनासम्मका लागि लम्ब्याएको छ।
स्याहार गर्ने कर्मचारीहरूबाट कोरोनाभाइरसको फैलावटमा बल पुगेको भन्दै थप सङ्क्रमणका घटनाहरू हुन नदिने उपायका रूपमा, एक नर्सिङ होमका कामदारहरूलाई अर्को स्याहार केन्द्रमा "शिफ्ट गर्न"बाट रोक्न सिङ्गल साइट वर्कर भुक्तानी योजना अगाडि ल्याइएको थियो।
योसँगै सरकारले देशभरका नर्सिङ होमहरूलाई थप २५ करोड डलर दिने पनि बताएको छ।
वृद्ध सेवा केन्द्रमाका कर्मचारीको विकास एवम् उनीहरूलाई पर्याप्त रूपमा मास्क लगायत पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) भनिने व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउन सो रकम विनियोजित गरिएको सरकारी भनाई छ।
महामारीको क्रममा वृद्ध हेरचाह क्षेत्र व्यवस्थापन बारे निरन्तर दबाबको सामना गर्दै गर्दा सङ्घीय वृद्ध स्याहार मन्त्री रिचर्ड कोल्बेकले यी नयाँ व्यवस्था बारे घोषणा गरेका हुन्।
"वृद्ध हेरचाह सेवामा काम गर्ने कामदारहरू आवश्यक छन्," कोल्बेकले क्यानबेरामा पत्रकारहरूलाई भने।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने सरकारको पछिल्लो कदमले विशेष रूपमा भिक्टोरियालाई कोभिड-१९ सँग लड्न मद्दत पुर्याउने आसा आफूहरूले लिएको बताए।
"यो सरकारी अनुदानले हामीलाई कोरोनाभाइरस विरुद्धको लडाई जारी राख्न र हाम्रो पाका अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न मद्दत गर्नेछ," हन्टले भने।
जनसङ्ख्याका हिसाबले अस्ट्रेलियाको दोस्रो ठुलो राज्य भिक्टोरियामा हालसम्म सयौँ नर्सिङ होम बासिन्दाहरूको मृत्यु भइसकेको छ।

उता, स्वास्थ्य सेवा सम्बद्ध कामदारहरूको युनियन - हेल्थ केयर सर्विसेस युनियन (एचएसयु)ले चाहिँ मेडिकेयर लेभी बढाउनु पर्ने माग अघि सारेको छ।
एचएसयुले मेडिकेयर लेभीमा २.६५ प्रतिशत वृद्धि गरे २० अर्व डलर राजस्व उठाउन सकिने र सो रकमले आगामी चार वर्षसम्म भित्र एज्ड केयर सेक्टरको काया पलट हुने बताएको छ।
एचएसयुको योजना अनुसार थप ५९,००० रोजगारीका अवसरहरू सृजना हुनेछन् र नर्सिङ होममा बस्ने मानिसहरूले दिनको थप डेढ घण्टा रजिस्टर्ड नर्स तथा अन्य एलाइड हेल्थ थेरापिस्टहरू मार्फत स्याहार सुसार पाउने छन्।

तर, ट्रेजरर जस फ्राइडेनबर्गले यसबारे सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै भने, "हाम्रो ध्यान अहिले कर कसरी घटाउने भन्नेमा केन्द्रित छ न कि मेडिकेयर लेभी बढाउने।"
"तर हामी वृद्ध हेरचाहमा प्रति वर्ष १ अरब डलर खर्चिने प्रतिबद्धता जनाउँछौँ," स्काई न्युजसँग कुरा गर्दै उनले भने।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
