

Feature
Published
Updated
चलचित्र हेर्न आउने दर्शकहरूको सङ्ख्यालाई आधार बनाउँदै नेपाली सिनेमा प्रवर्द्धनमा लागेकाहरूले अस्ट्रेलियामा आफ्नो बजार बढेको बताएका हुन्।
सन् २०२१ को जनगणना अनुसार अस्ट्रेलियामा नेपाल भाषीहरूको सङ्ख्या पाँच वर्षमा दोब्बर भन्दा बढी वृद्धि भएको छ।
सन् २०१७ मा अस्ट्रेलियाभर नेपाली भाषा बोल्ने मानिसहरूको सङ्ख्या ६२,००८ थियो जुन सन् २०२१ अगस्टसम्म आइपुग्दा १२९,८७० रहेको अस्ट्रेलियाली तथ्याङ्क विभागको भनाई छ।
त्यस यता कोभिड–१९ कारण बन्द रहेको सीमा पुनः सुचारु हुनु र अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनले हाल अस्ट्रेलियामा नेपाली बोल्ने मानिसहरूको सङ्ख्या अझै बढिरहेको बताइएको छ।
जनसङ्ख्या बढेसँगै हप्तै पिच्छे जसो अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूमा नेपाली कलाकारहरू ल्याएर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने क्रम पनि बढेको छ र त्यस्ता कार्यक्रममा नेपाली दर्शकको उपस्थिति पनि प्राय उल्लेखनीय रहेको कार्यक्रम आयोजनामा लागेका मानिसहरूको भनाई छ।

नेपालमा नाम चलेका सिनेमा अस्ट्रेलियामा पनि सोही दिन रिलिज गर्ने प्रयास थालिएको धेरै भइसकेको यस उद्योगमा लागेकाहरूको भनाई छ।
पछिल्ला केही हिट सिनेमा भनिएका कबड्डीका तीन श्रृखंला, छक्का–पन्जा, महापुरुष जस्ता केही चलचित्रले अस्ट्रेलियामा रहेका नेपाली दर्शकको राम्रै साथ पाएको थियो।
तर कोभिड-१९ महामारी पछि प्रदर्शनमा आएको प्रेमगित-३ चलचित्र, अस्ट्रेलियाको बक्स अफिस भित्रैबाट चल्न सफल भएपछि अन्य नेपाली चलचित्रलाई पनि डिस्ट्रिब्युटर मार्फत रिलिज गराउन यहाँ बसोबास गर्ने चलचित्रकर्मी कोसिस गरिरहेका छन्।
’प्राइभेट सो’का रूपमा नेपाली सिनेमा
सामान्यतया अस्ट्रेलियामा देखाइने नेपाली चलचित्र व्यक्तिगत रूपमा हल बुक गरेर चलाइन्छन्।
प्राइभेट सोका रूपमा केही घण्टाका लागि हल भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नु पर्ने शुल्क पनि सामान्यतया हलमा गएर टिकट काटेर हेरिएका चलचित्र भन्दा महँगो पर्न जान्छ।
हलमा १८ देखि २० डलर तिरेर हेर्ने पाइने चलचित्र, प्राइभेट सोका रूपमा आउँदा नेपाली समुदायका सदस्यले ३० डलरसम्म तिर्नु पर्ने बाध्यता छ।
तर महँगै भए पनि राम्रा भनिएका केही चलचित्रमा दर्शकहरूको उपस्थिति निकै देखिन्छ।
अस्ट्रेलिया बस्दै आएका मनोज अधिकारी यहाँ बनेको पहिलो नेपाली व्यावसायिक चलचित्र ऋतुका निर्माता एवम् निर्देशक हुन्।
अधिकारीका अनुसार, सन् २०१४ मा बनेको उक्त चलचित्रको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामै नै गरिएको हो।

अस्ट्रेलियामा नै निर्माण भएर प्रदर्शन भएको आफ्नो चलचित्र नै पहिलो भएको उनको दाबी छ।
“नितेश राज पन्तले 'गुरुबा इन अस्ट्रेलियामा' भन्ने चलचित्र बनाएको तर रिलिज नभएका कारण धेरैले तिम्रै चलचित्र पहिलो हो भनेर भन्नुहुन्छ,” अधिकारीले भने।
यस बाहेक उनले द वीनर, ह्याप्पी न्यु इयर, सुन केसरी जस्ता अस्ट्रेलियामा बनेका चलचित्र निर्माण संयोजन समेत गरी सकेका छन्।
“नेपालमा स्क्रिप्ट राइटिङ्ग कम्पिटिसन गरेर दोख भन्ने चलचित्र पनि बनायौँ, जसको निर्देशक अनुप बराल हुनुहुन्छ,” उनले भने।
चलचित्र निर्माण मात्र नभएर अस्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शनमा पनि सक्रिय मनोज अधिकारी, डिस्ट्रीव्यूटर मार्फत नेपाली सिनेमा चलाउन आफूहरूले प्रयास गरेको बताउँछन्।
“हामी आफैले इभेन्ट्स सिनेमामा गएर कुरा गर्यौ, उनीहरूले माइन्डब्लोइङ्ग सिनेमा मार्फत आइज भनेर, डीमोटीभेटीङ्ग कुरा गर्यो,” उनले विगतमा गरिएको प्रयास बारे एसबीएस नेपालीलाई भने।
उनका अनुसार प्रेम गीत-३ नमस्ते इन्टरटेन्मेन्टले अस्ट्रेलिया ल्याएको भए पनि माइन्डब्लोइङ फिल्मस्ले यसको रिलिज गरेको हो।
नेपाली चलचित्रलाई कुनै एक हलमा हप्ताको एक दिन नियमित रूपमा प्रदर्शन गर्नका लागि भएको प्रयास पनि विफल भएको अधिकारी बताउँछन्।
“बरवूड इभेन्ट्स सिनेमामा एक वर्षको एकै चाटी बुकिङ लिन्छु भन्दा पनि हामीले पाएनौं,” उनले भने।

यता 'गुरुबा इन अस्ट्रेलिया' चलचित्र बनाएर अस्ट्रेलियामा पहिलो नेपाली चलचित्र छायाङ्कनको श्रेय पाएका नितेश राज पन्त आफैले फिल्म डिस्ट्रीव्यूसनका लागि गरेको पछिल्लो प्रयास पनि असफल भएकोमा खिन्न मान्छन्।
हिजो आजका कुरा मार्फत आफूले डिस्ट्रीव्यूसनमा हात हाल्न खोजेको बताउँदै आफैले सिनेमा डिस्ट्रीव्यूट गर्छु भनेर सिनेमा सेन्सर गराएको जसका लागि आफूले ठुलो रकम खर्च गरेको उनले बताए।
“दुई घण्टा २८ मिनेटको फिल्मका लागि मैले ४,७०० डलर तिरे,” उनले भने।
हिजो आजका कुराले अस्ट्रेलियाली सेन्सर बोर्डबाट १४ अक्टोबरमा पीजी सर्टिफिकेट पाएको देखिन्छ।
तर डिस्ट्रीव्यूसनको लागि भने अझै पनि सम्बन्धित निकायबाट कर्न्फमेसन नपाएको उनले बताए।
“नियर फ्चुरमा म डेफीनेट्ली डिस्ट्रीव्यूटरको लाइसेन्स लिन्छु,” पन्तले भने।

यता रोशन भट्टराई अस्ट्रेलियामा, 'हो र होइन होला' र 'रोटेपिङ्ग' नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी चलाउँछन्।
उनको कम्पनीले पहिलो पटक वडा नम्बर ६ नामक नेपाली चलचित्र अस्ट्रेलियामा ल्याएर प्रदर्शन गरेको हो।
त्यसपछि चलेका लुट, जात्रै जात्रा, महापुरुष र कबड्डीका श्रङ्खला पनि आफूले ल्याएको भट्टराईको भनाई छ।
“नेपाली फिल्म विदेशमा हेर्न पाउनु पर्छ भन्ने हाम्रो साथीहरूको मुख्य उद्देश्य हो,” उनले भने।
भट्टराईले पनि नेपाली सिनेमालाई हलमै रिलिज गरेर चलाउने कोसिसमा आफूहरू निरन्तर लागेको तर सफल नभएको बताए।
“हामीले यहाँका ठुला भनिएका इभेन्ट्स सिनेमा र होएट्स सिनेमालाई धेरै चोटि कम्युनिकेसन गर्ने कोसिस गर्दा, उनीहरूले हामीलाई तिमीहरू प्राइभेट स्क्रिनिङ थ्रु नै जानु पर्छ, तिमीहरूको फिल्म हामी लिन सक्दैनौ भन्ने जवाफ आयो,” भट्टराईले भने।
“भविष्यमा कुनै न कुनै माध्यमबाट त्यो प्रयासलाई जारी राख्ने छौ,” उनले भने।
हल बुकिङ नै महँगो पर्ने गरेकाले फिल्म हेर्न पनि महँगो पर्ने गरेको उनले बताए।
“प्रत्येक सिटको २० डलरको हिसाबले हामीले हल बुक गरेका हुन्छौ, एउटा सिट खाली भयो भने पनि हाम्रो खल्तीबाट २० डलर जान्छ,” उनले भने।
यदि नेटवर्कमा छिर्न सकियो भने, टिकटको झन्झट पनि हुँदैन र तुलनात्मक रूपमा सस्तो पैसामा नेपाली फिल्म हेर्न पाउनुहुन्छ।नितेशराज पन्त
यसो त पहिले सिनेमाहलहरुले सित्तैमा फिल्म देखाउन दिने नितेशराज पन्त बताउँछन्।
“हामीले फिल्म र दर्शक लग्दिँदा उनीहरूको व्यापार हुन्थ्यो,” उनले सन् २००६ तिरको सम्झना गरे।
तर पछिल्लो समय भने उनीहरूले मागे जति पैसा दिँदा, हलहरूले यसलाई फाइँदाको व्यापारका रूपमा हेरेको उनको भनाई छ।
“फिल्म पनि आफै ल्याइराछन्, भन्या जति पैसा पनि तिरी रा'छन, इन्कम पनि गराइ रा'छन् भनेर उनीहरूले सबैलाई त्यसै गरिदिए,” पन्तले भने।
“हामी आफ्नो फन्दामा आफैँ फस्यौं।”नितेशराज पन्त
आफैंले डिस्ट्रीव्युसन कम्पनी खडा गरेर, फिल्म देखाउन थालेको भए अहिले अवस्था अर्कै हुने उनी बताउँछन्।
तर यसका लागि फिल्म बनाउँदादेखि नै योजना गर्नु पर्ने पन्तको भनाई छ।
"नेपालमा पनि अङ्ग्रेजीमा सेन्सर सर्टिफिकेट दिन सुरु गरिएको छ, नेपालमा क्लासिफिकेसन पाएको आएको सिनेमाले यहाँ पनि त्यही क्लासिफिकेसन पायो भने कुनै इस्यु हुँदैन," उनले भने।
”तर हिजो आजका कुरालाई नेपालमा जनरल भनेर दिइएको क्लासिफिकेसन्लाई यहाँ पीजी (प्यारेन्टल गाइडेन्स) दिइयो, फल्ट त त्यही नेर भयो, त्यसलाई सच्याउनु पर्यो।”

नेपाली सिनेमा रिलिज गर्न तयार छौँ: माइन्डब्लोइङ्ग फिल्मस्
यता भारतीय मात्रै नभएर विभिन्न भाषाका सिनेमा अस्ट्रेलियामा प्रदर्शन गर्ने कम्पनी माइन्डब्लोइङ्ग फिल्मसले आफूहरू नेपाली सिनेमा रिलिज गर्नका लागि इच्छुक रहेको बताएको छ।
एसबीएस नेपालीलाई पठाइएको एक विज्ञप्तिमा माइन्डब्लोइङ्ग फिल्मसकी मितु भौमिकले “आफूहरू अस्ट्रेलिया, न्युजील्यान्ड र फिजीमा उत्कृष्ट सिनेमा देखाउन आतुर रहेको भन्दै हिन्दी भाषामा मात्र नभएर पन्जाबी, तामिल, तेलेगु र पछिल्लो समय नेपाली भाषाको सिनेमा समेत रिलिज गरेको“ बताइन्।
हामीसँग त्यस्ता कुनै सर्त छैनन्, विविध र राम्रा सामाग्री वितरण गर्न हामी इच्छुक छौं।मितु भौमिक
'अस्ट्रेलिया नेपाली सिनेमाका लागि दोस्रो बजार'
यसो त पछिल्लो समय नेपालमा बनेका अधिकांश सिनेमा प्रदर्शनको राइट अस्ट्रेलियामा बिक्ने गरेको समाचार सुनिन्छ।
चलचित्रका निर्माता र कलाकारको अस्ट्रेलियामा बेला बेलामा हुने उपस्थितिले पनि अस्ट्रेलियामा फिल्म चलाउनका लागि निर्माताहरू लालायित हुन्छन् भन्ने कुरालाई केही हदसम्म पुष्टि पनि गर्दछ।
अस्ट्रेलियामा आफ्नो सिनेमा प्रदर्शन गरेका नेपाली चलचित्र निर्देशक सुवर्ण थापा नेपाली चलचित्रको बजार नेपाल नै भए पनि विश्व बजारमा छरिएका नेपालीलाई केन्द्रमा राखेर बजार खोज्ने हो भने अस्ट्रेलिया नेपाली चलचित्रका लागि दोस्रो बजार बन्न सक्ने बताउँछन्।
“अमेरिका, युरोप र गल्फ कन्ट्री पनि यसमा आउँछ, यो मार्केटका बारेमा डिरेक्ली इन्डेरक्ली थाहा भएकै कुरा हो, तर कुन खालको चलचित्र डायस्पोराका दर्शकले हेर्न चाही रहेका छन् भन्ने बुझेर....आफ्नो मार्केट आफैले बनाउन जरुरी छ जस्तो लाग्छ,” थापाले भने।
अरू मुलुकका चलचित्र जस्तो बक्स अफिसमा नेपाली चलचित्र लाग्न नसकेको भए पनि यसो हुन सके दर्शकका लागि पनि सस्तो पर्ने उनको भनाई छ।
“डायस्पोरामा भएका इभेन्ट अर्गनाइजरहरुले दर्शकलाई महँगो टिकट राख्नु भन्दा रेगुलर बक्स अफिसमा चलचित्र देखाउन सके भने बल्ल नेपाली चलचित्रको अन्तर्राष्ट्रिय करण भएको बुझ्न सकिन्छ,” उनले भने।