अस्ट्रेलियामा कोरोनाभाइरसको महामारी सुरु भएपछि, बिरामीहरूको बढ्दो सङ्ख्याका कारण अस्पतालहरू माथिको भार कम गर्न भन्दै राष्ट्रिय स्तरमै आकस्मिक बाहेकका सम्पूर्ण शल्यक्रियाहरू रोकिएको थियो।
तर आकस्मिक वा मानिसहरूको जीवन जोगाउन बाहेकका शल्यक्रिया गराउन पर्खिरहेकाहरूको सङ्ख्या अहिले न्यु साउथ वेल्समा मात्र १००,००० पुगिसकेकाले सो सङ्ख्या घटाउन कम्तीमा ६ महिनासम्म लाग्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
मेलबर्नमा पनि हजारौँको सङ्ख्यामा मानिसहरू शल्यक्रियाको पर्खाइमा रहेका छन्।
गत चार महिनामा ६ पटकसम्म घुँडाको शल्यक्रिया स्थगित गरिएकी ७० वर्षीय मरियन रे भन्छिन्, "घुँडा दुखेको कारण मैले अहिले धेरै समस्याहरूको सामना गरिरहेकी छु।"
मार्च महिनामा सङ्घीय, राज्य र प्रादेशिक सरकारहरू बिचको राष्ट्रिय मन्त्र स्तरीय संयन्त्रद्वारा आकस्मिक नरहेका सम्पूर्ण शल्यक्रियाहरू माथि रोक लगाइने घोषणा गरिएको थियो जसका कारण न्यु साउथ वेल्समा मात्र गत अप्रिलदेखि जुन महिनासम्मको समयमा नियमित रूपमा हुने भन्दा २३,००० कम शल्यक्रियाहरू भएका थिए र यो सङ्ख्या गत वर्षको तुलनामा ४० प्रतिशत कम रहेको पनि अधिकारीहरूको भनाइ छ।

त्यस्तै, भिक्टोरियामा शल्यक्रिया गराउन पर्खिरहेका मानिसहरूको सङ्ख्या अहिले ५६,००० रहेको छ।
तर उक्त राज्य कि स्वास्थ्य मन्त्री जेनी मिकाकोस भन्छिन् कि आगामी सेप्टेम्बर २८ देखि, मेलबर्न महानगरीय क्षेत्रमा पनि गैर आपत्कालीन बाहेकका शल्यक्रियाहरू पुनः सुरु गरिएपछि, हाल आफ्नो पालो पर्खन बाध्य मानिसहरूलाई सक्दो छिटो सहायता प्रदान गरिने छ।
ग्रामीण भिक्टोरियामा पनि स्वैच्छिक शल्यक्रियाको सङ्ख्यालाई बढाएर ७५ प्रतिशत पुर्याइने छ।
भिक्टोरियाली दुर्गम चिकित्सक सङ्गठनका उपाध्यक्ष डाक्टर रब फेयर भन्छन्, "कोरोनाभाइरस अन्तर्गतका परीक्षणहरू बढाइएका कारण अब मानिसहरू ढुक्क भएर शल्यक्रिया गराउन सक्ने आशा मैले लिएको छु।"

शल्यक्रियाको लागि आफ्नो पालो पर्खिरहेकाहरूको सङ्ख्या घटाउन, क्रिसमसको समयमा नियमित रूपमा बन्द हुने शल्यक्रिया कक्षहरू यस पटक चालू नै राख्न पनि सर्जनहरूले न्यु साउथ वेल्स सरकार समक्ष आग्रह गरेका छन्।
शल्यचिकित्सकहरुको राष्ट्रिय निकाय रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्सकी न्यु साउथ वेल्स प्रमुख पायल मुखर्जी भन्छिन्, "पछिल्लो समयमा म जस्ता सर्जनहरू धेरै नै व्यस्त हुने गरेका छन्।"
तर मरियन रे चाहिँ आफ्नो घुँडाको शल्यक्रिया जतिसक्दो चाँडो भएको आफूले हेर्न चाहेको बताउँछिन्।
स्वैच्छिक शल्यक्रियाको नाम दिँदैमा आफूलाई चाहिने शल्यक्रिया जरुरी नरहेको भन्न नमिल्ने उनको भनाइ छ।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारी







