सिड्नीमा हरेक वर्ष भव्य तरिकाले मनाइने मार्डी ग्रा महोत्सव यो साल पनि सुरु भएको छ। अधिवक्ताहरू भन्छन् कि रमाइलो त छँदै छ, तर हामीले एलजीबीटीक्युआई प्लस समुदायका समस्याहरूलाई बिर्सनु हुँदैन।
अस्ट्रेलियामा सबैभन्दा पहिलो मार्डि ग्रा परेड सन् १९७८ मा आयोजना गरिएको थियो।
इतिहास विषयकी प्राध्यापिका मिशेल एरो भन्छिन् कि त्यसबेला भाग लिएकाहरूको मुख्य उद्देश्य भनेको समलिङ्गी व्यक्तिहरू माथि हुने भेदभाव र हिंसा विरुद्ध राजनीतिक कारवाही गरिनु पर्ने माग थियो।
मार्डि ग्रा अहिले ओसियनिया क्षेत्रको सबैभन्दा ठूलो प्राइड महोत्सव बन्न पुगेको छ। यसमा हजारौँ जनाले भाग लिन्छन् र यसले हरेक वर्ष अस्ट्रेलियाको अर्थव्यवस्थामा करिब ४ डलरको आम्दानी हुने गरेको छ।

यस बीच अधिवक्ताहरू भन्छन् कि सन् १९७८ मा जुन कारणले यो सुरु गरिएको थियो, ती समस्याहरू आजको समुदायमा अझै देख्न सकिन्छ - जस्तै, भेदभाव र मानसिक स्वास्थ्य समस्या।
एनी वाइली, रीचआउट (ReachOut) नामक सहयोग सेवाकी प्रबन्धक हुन्, जसले एलजीबीटीक्युआइ प्लस समुदायका व्यक्तिहरूलाई मानसिक स्वास्थ्य सहयोग प्रदान गर्दछ।
एलजीबीटीक्युआइ प्लस समुदाय भन्नाले 'सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौनिक विशेषताका व्यक्ति'हरूलाई चिनिन्छ।
उनी भन्छिन् कि आफू एक क्वीयर व्यक्ति भएकोमा उनले नियमित भेदभाव अनुभव गरेकी छिन्।
उनको अनुभव सहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: "मार्डि ग्राका पार्टीमा जाँदैमा र इन्द्रेणी रङ्गको झन्डा बोक्दैमा मात्र केही हुँदैन" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
जो बल स्विचबोर्ड भिक्टोरियाका प्रमुख कार्यकारी अधिकृत हुन्। उक्त संस्थाले एलजीबीटीक्युआइ प्लस समुदायलाई सहयोग सेवा प्रदान गर्दछ।
उनी भन्छन् कि भेदभावको विषयमा अस्ट्रेलियाको कानुनमा सुधार आएको छ, तर धेरै परिवर्तनहरू पछिल्लो समयमा समानताका लागि गरिएका अभियान पछि मात्र भएका थिए।
लैङ्गिक र यौनिक रूपमा विविध मानिसहरूले भेदभावका कारण धेरै मानसिक स्वास्थ्य समस्या हरू भोग्न पर्ने गरेको पनि उनले बताए।

बाइस वर्षीय काई एक नन-बाइनरी, अर्थात् गैर-द्वयसाङ्खिक व्यक्ति हुन्। पुलिङ्ग र स्त्रीलिङ्ग - यी दुवै लिङ्गसँग पहिचान नराख्ने व्यक्तिलाई नन-बाइनरी भनिन्छ।
काईको परिवारबाट समर्थन भए तापनि विद्यालयमा हुँदा समलिङ्गी र तेस्रोलिङ्गि व्यक्तिहरू माथि निकै भेदभाव हुने गरेको उनले बताए।
पछि आफू नन-बाइनरी हुँ भनी सबैलाई भने पछि, पुलिङ्ग र स्त्रीलिङ्ग बाहेक अरू पहिचान पनि हुन्छन् भन्ने कुरामा विश्वास नराख्ने परिवार र साथीहरूबाट केही अस्वीकार महसुस गरेको उनको अनुभव थियो।
न्यु साउथ वेल्सको स्वास्थ्य संगठन एकन (ACON)की जेन विटलम भन्छिन् कि युवावास्थामा रहेकाहरूलाई आफ्नो वरिपरका व्यक्तिबाट स्वीकृति नपाउँदा आफू को भनेर आफ्नो पहिचान बुझ्न निकै गाह्रो हुन्छ।
कहिलेकाहीँ, हालको धार्मिक भेदभाव सम्बन्धी विधेयक जस्ता राजनीतिक कारणले पनि लैङ्गिक र यौनिक रूपमा विविध युवाहरूलाई आफ्नो पहिचानलाई लिएर गाह्रो हुने उनले बताइन्।

एनी वाइली भन्छिन् कि यसरी भेदभाव महसुस गरेकालाई सम्पूर्ण समुदायले पनि सहयोग गर्नु पर्छ।
मार्डि ग्राका पार्टीहरूमा जाँदैमा र इन्द्रेणी रङ्गको झन्डा बोक्दैमा मात्र राम्रो समर्थक नहुने कुरामा उनले जोर दिइन्।
उनी चाहन्छिन् कि मानिसहरूले भेदभाव विरुद्ध आवाज उठाउन्, एलजीबीटीक्युआइ प्लस व्यक्तिहरूले संचालन गरेका व्यवसायलाई सहयोग गरून् र आफूबाट केही गलती भएमा त्यो स्वीकार गरुन्।
त्यस्तै, काईको लागि कसैलाई सहयोग गर्नलाई मुख्य कुरा भनेको उनको कुरा सुनिदिनु हो।
क्वीयर समुदायका व्यक्तिहरूले अस्ट्रेलियाको राष्ट्रिय सेवा क्युलाइफ (Qlife)लाई १८०० १८४ ५२७ मा सम्पर्क गरेर समुदायमा संलग्न हुन सक्छन्।
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800
थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।
Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

