मेलबर्नको स्वास्थ्य प्रणाली फेरी एक पटक सङ्कटको अवस्थामा रहेको देखिएको छ। माग अनुसारको सेवा दिन नसक्ने भए पछि एम्बुलेन्स भिक्टोरियाले कोड रेड जारी गरेको थियो।
सोमबार अर्थात् २७ जुनको मध्यरातभन्दा केही अगाडी एम्बुलेन्स भिक्टोरियाको क्षमताको अन्तिम बिन्दुसम्म माग भयो र यो अवस्था एक वर्षको अवधिमा छैटौँ पटक देखिएको थियो।
एम्बुलेन्स भिक्टोरियाले त्यस पश्चात् 'कोड रेड' जारी गर्यो। जसको अर्थ हो कम गम्भीर किसिमका ट्रिपल जिरो (000) कलहरूमा बिरामीलाई आफैँ अस्पताल जाने व्यवस्था गर्न निर्देशन दिन सकिन्छ।
तर एम्बुलेन्स भिक्टोरियाका आपतकालिन व्यवस्थापनका निर्देशक जस्टिन डन्लपले सार्वजनिक रूपमा यसबारे सतर्क नगराइएको बताए।
"सोमबार रातीको त्यो समयावधि निकै छोटो थियो समुदायलाई सतर्क गराउनको लागि किनभने त्यसले अर्को जोखिम निम्त्याउन सक्थ्यो।"
उनी भन्छन् पारामेडिक्सहरूको उपलब्धता अभाव केही मिनेटका लागि मात्र थियो, तर कोड रेडको अवस्था चार घण्टासम्म रह्यो।
पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
भिक्टोरियाका विपक्षी स्वास्थ्य प्रवक्ता जर्जी क्रोजिएरले भिक्टोरिया सरकार स्वास्थ्य स्याहार क्षेत्रमा रहेको सङ्कटको अवस्थालाई ढाकछोप गर्ने प्रयासमा रहेको आरोप लगाएका छन्।
"भिक्टोरियाका बासिन्दाहरूलाई उनीहरूलाई चाहिएको खण्डमा कुनै एम्बुलेन्स सेवा उपलब्ध रहेको छैन भनेर किन सतर्क गराइएन भन्ने बारे बताउनु पर्छ।"
भिक्टोरियाको विपद् सम्बन्धी आधिकारिक नियममा कोड रेड सबैभन्दा माथिल्लो तहमा रहन्छ, जुन ठुलो सङ्ख्यामा मानिसहरूलाई हाताहाती हुने आपतकालिन अवस्थाहरू जस्तै डढेलो र आँधीले गर्दा दम हुने घटनाहरूका लागि प्रयोग गरिन्छ।
यसले गर्दा आपतकालिन परिस्थितिमा लिइने कदमको प्रक्रियामा परिवर्तन हुन्छ। यसको अर्थ ट्रिपल जिरो (000) मा आउने कलहरूलाई अन्य सेवाहरू तर्फ मोडिन्छ।
एम्बुलेन्स भिक्टोरियाका जस्टिन डन्लप भन्छन् केही एम्बुलेन्सहरूलाई भने गम्भीर अवस्थाका लागि तयारी अवस्थामा राखिन्छ।
"मैले यो कुरामा चाहिँ जोड दिनै पर्छ कि, सधैँ एम्बुलेन्सहरू उपलब्ध हुन्छन् तर त्यो निकै बिरामी भएका भिक्टोरियालीहरूका लागि जोगाउनका लागी यसलाई अलि कम प्रयोग गरिएको हो।"
झन्डै १०५ एम्बुलेन्स भिक्टोरियाका कर्मचारीहरू बिरामी भएका कारण, कोभिडका कारण आइसोलेसनमा भएको अथवा अरूको स्याहारको लागि सोमबार राति बिदामा रहेका थिए।
अहिले देखिएको कर्मचारी अभाव, कार्यभार बढ्नु र एक पटक सूचना प्रविधिमा देखिएको खराबीलाई एक वर्षभित्र जारी भएका छ कोड रेड अवस्थाका कारकका रूपमा देखाइएको छ।
भिक्टोरिया एम्बुलेन्सको युनियनका महासचिव ड्यानी हिलले कर्मचारीहरू थकित भएको बताए।
"हामीले कर्मचारीहरूको मनोबल यति तल गिरेको यस अघि कहिल्यै देखेका थिएनौँ , अनि त्यसमाथि कोड रेड जारी हुँदा यसको अन्त्य हुने कुनै सम्भावना देखिँदैन।"
गत वर्षको अन्त्यतिर पनि पारामेडिक्सहरूको अभाव पूर्ति गर्न अस्ट्रेलियाली रक्षा बल, पारामेडीक्सका विद्यार्थी, सेन्ट जोन एम्बुलेन्स र सर्फ लाइफसेभिङका स्वयम् सेवकहरूलाई परिचालन गरिएको थियो।

तर एम्बुलेन्स युनियन भन्छ कम प्रशिक्षित कर्मचारीहरूसँग काम गर्नु पर्दा पारामेडिक्सहरूलाई तनाव थप्ने गरेको छ।
राज्यका उद्योग सहायता तथा पुनरुत्थान सम्बन्धी मन्त्री बेन क्यारोलले पारामेडिक्सहरूको सङ्ख्या बढाउन लगानी गरिएको र उनीहरू दक्ष बनिसक्न केही समय मात्र लाग्ने बताएका छन्।
"हामीले पछिल्लो राज्यको बजेटमा १२ अर्ब डलर राखेका छौँ , हामीले २ हजार पारामेडिक्सहरूलाई नियुक्त गरेका छौँ, अरू सात सय आउने क्रममा छन्।"
स्वास्थ्य स्याहार कार्य बललाई मजबुत बनाउन राज्य सरकारले विदेशबाट पनि नियुक्त गर्ने तर्फ हेरिरहेको उनको भनाइ छ।
एम्बुलेन्स युनियनका ड्यानी हिल भन्छन् पछिल्ला तिन वर्षमा स्वास्थ्य स्याहार कर्मचारीहरूले निकै धेरै कामको चाप खेप्नु परेको बताएका छन्। यसले गर्दा जीपी क्लिनिकहरू, अस्पताल र वृद्ध स्याहार केन्द्रहरूमा प्रभाव पर्दा पारामेडिक्सहरू रक्षाको लागि अन्तिम विकल्प बन्ने गरेको उनले बताए।
"हामीले जीपीहरूको पहुँच पाउन ढिलाइ हुँदा ट्रिपल जिरोमा कल गर्ने गरेको देखेका छौँ, हामीले देखेका छौँ कि वृद्ध स्याहार केन्द्रहरूमा तनाव हुँदा उनीहरू ट्रिपल जिरोमा नै निर्भर रहन्छन्।"
उनी भन्छन् कोभिड-१९ प्रतिबन्धहरू खुलेपछि देशले पहिलो पुरा फ्लु सिजनलाई सामना गरिरहँदा पारामेडिक्सहरूमा पर्ने चाप झन् बढ्ने छ।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)