नेपाल पसे सलह, कृषि मन्त्री भन्छन् हेभी मेटल सङ्गीत बजाएर सङ्कट सम्बोधन गरौँ

Locust in Nepal

पाल्पाको तिनाउ गाउँपालिका २ झया्गलाको स्मार्ट कृषि गाउँको मकै बालीमा देखिएको सलह कीरा Source: कृष्ण दर्नाल/रासस

नेपालका थुप्रै ठाउँमा बालीनाली खाइरहेको सलहलाई नियन्त्रण कसरी गर्ने भन्नेबारे त्यहाँका एक जना मन्त्री घनश्याम भुसालको भनाई चर्चित भएको छ।


भारत र पाकिस्तानमा ठुलो परिमाणमा बालीनाली सखाप पारेको सलह किरा शनिवारदेखि नेपालमा पनि देखिएको छ।

फट्याङ्ग्रा प्रजातिको करिब एक औँला लामो यो किराले आफ्नो बाटोमा पर्ने सबै बालीनाली, फलफूल र पात समेत खाइदिने गर्दछ।

अफ्रिकाबाट आएर पाकिस्तान र भारतमा विध्वंस मच्चाइसकेको यो किरा नेपाल नआउने अनुमान गरिएको थियो, तर हावाको बहावसँग बग्दै बग्दै यो हाल नेपालका ५० भन्दा बढी जिल्लामा पुगिसकेको छ।

एउटा झुन्डमा ४ देखि ८ करोड सम्म सलह उड्ने गर्दछन्, तर त्यसको तुलनामा नेपालमा निकै सानो, करिब ३५ लाख सलहको झुन्ड पसेको र त्यो पनि टुक्रिएर थुप्रैतिर लागेको बताइएको छ।

Locust in Nepal
पाल्पाको तिनाउ गाउँपालिका २ झया्गलाको स्मार्ट कृषि गाउँको मकै बालीमा देखिएको सलह कीरा Source: कृष्ण दर्नाल/रासस

प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ, र यसको विकास छिटो हुने र धेरै क्षति पुर्‍याउने हुनाले नेपालका किसानहरू सलह देखि डराएका छन्।

नेपालमा यसले थुप्रै ठाउँमा बालीनाली खाइरहेको छ तर क्षतिको विस्तृत विवरण भने हालसम्म छैन।

सलहलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्नमा कृषि मन्त्री घनश्याम भुसालको भनाई चर्चित भएको छ।

“ठुलठुलो माइकहरू लगाइदिने। त्यो हेभी मेटल म्युजिक भन्ने एउटा हुँदो रहेछ, त्यो चाहिँ अमेरिकामा गाएको एउटा ब्यान्डले। त्यो गीत सुनाएपछि चाहिँ त्यो किरा चाहिँ जहाँको तहिँ हुँदो रहेछ, कक्रक्कै परि हाल्दो रहेछ। अनि यस्ता यस्ता अनेक चीज चाहिँ हामीले सङ्कलन पनि गर्दैछौं।”

हेभी मेटल नभए पनि मानिसहरूले परम्परागत रूपमा यस्ता किरा भगाउन प्रयोग गर्ने ढ्याङ्ग्रो र थाल ठटाउने काम गर्न थालेका छन् भने कतिपयले धुवाँ लगाएर समेत किरा भगाउने कोसिस गरिरहेका छन्।

बुटवलमा शनिबार सिमीको बोटमा देखिएको सलह किरा ळोकस्ट locust Nepal
बुटवलमा शनिबार सिमीको बोटमा देखिएको सलह किरा Source: निरा गौतम/रासस

कतिपयले विषादी पनि छर्किरहेका छन्, तर विषादीले सलहलाई मात्रै होइन अरूलाई पनि हानी गर्ने हुनाले विषादी नछर्किन र सलह पनि पोषिलो भएकाले बरु समातेर खान विज्ञहरूले सल्लाह दिएका छन्।

स्थानीय सरकारहरूले सलह नियन्त्रणका लागि सलह जम्मा गरेर ल्याएमा २० देखि १०० रुपैयाँ सम्म दिने घोषणा गरेका छन्।

हाल नेपाल छिरेका सलह ४ हप्तासम्म बाँच्ने अनुमान गरिएको छ।

Locust in Nepal
बुटवलमा देखिएको सलह किराका बथान Source: निरा गौतम/रासस

तर यसको वासस्थान गर्मी ठाउँमा भएको र मरुभूमिको बालुवा मुनि फुल पार्ने स्वभाव भएकाले नेपालमा धेरै समय नबस्ने र अन्यत्र जस्तो धेरै क्षति नगर्ने अनुमान गरिएको छ।

तर भारतमा अझै पनि ठुलो सङ्ख्यामा रहेका थप झुन्डहरू, हावाको बहावसँगै नेपाल आए भने नेपालमा थप विनाश गर्न सक्ने डर रहेको छ र कृषि मन्त्रालयले सलह गएपछि मात्रै धान रोप्न आग्रह गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now