क्यारोलिन कक्स भन्छिन् उनका पिता ज्याक मोलसको मृत्यु पूर्व एउटा अन्तिम इच्छा रहेको थियो।
"जब हामीले उहाँलाई अन्तिम समयको लागी तयारी गर्ने क्रममा के इच्छा छ भनेर सोधेका थियौँ, उहाँले भन्नुभयो म यत्ति चाहन्छु कि कसैले मेरो हात समातेको होस् र हामीले पनि त्यही आसा गरेको थियौँ, र हामीले सकेनौँ।"
कोभिड-१९ सङ्क्रमण भए पछि गत जनवरीमा ९७ वर्षको उमेरमा ज्याकको मृत्यु भयो।
कक्स भन्छिन् उनका पिताले पुरा जीवन जिएका थिए- ढिलो गरी आफ्नो पेसा परिवर्तन गरेर, र अवकाशप्राप्त समयलाई पनि निकै रमाइलोसँग बिताएर।
आफ्ना पिताको उदारताबाट आफूले पनि धेरै सिकेको उनले बताइन।
"र उहाँले आफ्नो पेसा पनि परिवर्तन गर्नु भयो जब उहाँ ४५ वर्षको हुनुहुन्थ्यो, क्याफेमा काम गर्नेबाट कानुन सम्बन्धी पुस्तकालयमा काम गरेर र त्यसले उहाँलाई निकै सन्तुष्टि दिएको थियो। तर जब अवकाश लिनुभयो उहाँले आफूलाई परिवार प्रति समर्पित राख्नु भयो, त्यो निकै राम्रो कुरा थियो र हामी त्यसको लागी उहाँ प्रति कृतज्ञ छौँ।"
जति बेला परिवारमा कोभिड देखिएका कारण क्यारोलिन आइसोलेसनमा रहेकी थिइन्- चार घण्टाको दुरीमा बस्ने उनकी दिदी मिसेल मोलसले आफ्ना पितालाई हेर्न सिड्नीसम्मको यात्रा गरिन, तर उनले त्यति समय पर्खन सकेनन्।
"मलाई थाहा थियो कि म त्यहाँ उहाँ जीवितै भएको समयमा पुगेको भए पनि, उहाँको शरीरलाई छुन पाउने थिइन।"
ज्याक मोलस अब ती १० हजार अस्ट्रेलियाली मध्येका एक बनेका छन् जसले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाए।
देशले सो दुखद कोसे ढुङ्गा आइतबार ३ जुलाईमा पार गर्यो।
अस्ट्रेलियामा कोभिड-१९ का कारण भएका अधिकांश मृत्युहरू, ७० प्रतिशत, पछिल्ला छ महिनामा भएका थिए।
पुरा रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सन् २०२१ लाई तुलना गर्दा त्यति बेला १३ सयले ज्यान गुमाएका थिए।
त्यस वर्ष भन्दा अगाडी ९ सय ९ जनाको मृत्यु भएको थियो।
ग्रिफिथ युनिभर्सिटीका भाइरोलोजिस्ट नाइजेल म्याकमिलन भन्छन् यति अहिले रहेको हिसाबले कोभिड मृत्यु जारी रहे, यो वर्षको अन्त्य सम्ममा १४ हजारले भाइरसका कारण ज्यान गुमाउने छन्।
"यसले कोभिड-१९ लाई दोस्रो वा तेस्रो सबैभन्दा धेरै मृत्यु हुने पछाडिको कारक बनाउने छ। अहिले नै कोरोनेरि मुटु सम्बन्धी रोग पछाडिको दोस्रो नम्बरमा कोभिड रहेको छ।"
ओमिक्रनका सब भेरिएन्टहरू थपिने क्रम बढिरहँदा र न्यून वा शून्य प्रतिबन्धहरू भएको अवस्थाका कारण सङ्क्रमण दर उच्च रहेको छ।

डिकन युनिभर्सिटीकी महामारी रोग विशेषज्ञ क्याथरिन बेनेट भन्छिन् दैनिक मृत्यु हुने दरका हिसाबले अस्ट्रेलिया सूचिमा माथि आइरहेको छ, तर प्रतिव्यक्तिको आधारमा चाहिँ अझै पनि यो तल नै रहेको छ।
"अहिले हामी एउटा ढाँचा देख्ने छौँ जहाँ उच्च सङ्क्रमण सङ्ख्याका कारण मृत्यु सङ्ख्या पनि बढिरहने छ, विशेष गरी जाडो भरि।"
तर गर्मी यामको सुरुवात सँगै त्यो सङ्ख्यामा कमी आउनेमा आसावादी रहेको उनको भनाइ छ।
सङ्क्रमण र मृत्यु दरमा कमी ल्याउन नाइजल म्याकमिलन जस्ता विज्ञहरूले अझ धेरै गरिनु पर्ने बताएका छन्।
"हामी फेरी लकडाउनमा त फर्किँदैनौँ तर हामीसँग यो भन्दा राम्रोसँग काम गर्ने प्रविधि छ। एन्टीभाइरलहरू निकै महत्त्वपूर्ण छन्।"
गम्भीर बिरामी हुनबाट जोगिन उनी सबैलाई बुस्टर खोप लगाउन आग्रह गर्छन्।
सम्बन्धित सामाग्री

अस्ट्रेलियामा तपाईँले कसरी कोभिड-१९ विरुद्धको खोप लगाउन सक्नुहुन्छ?
तर डा म्याकमिलन थप्छन् कि अहिले अस्ट्रेलियामा ६५ वर्ष माथिका व्यक्तिहरूलाई मात्र एन्टी-भाइरल औषधि प्रदान गरिँदै छ।
उनको बिचारमा यो प्रतिबन्धलाई खुकुलो बनाएर ५० वर्ष माथिकालाई प्रदान गरिने व्यवस्था ल्याउनु पर्छ।
सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरले मास्क लगाउन अनिवार्य गरिने नियम तत्काललाई नल्याइने बताइसकेका छन्, तर उनले मानिसहरूलाई तेस्रो मात्राको खोप लगाउन भने आग्रह गरेका छन्।

बुस्टर खोप लगाउने सङ्ख्यामा क्वीन्सल्याण्ड सबैभन्दा तल छ, जहाँ ४० प्रतिशत जनसङ्ख्याले मात्र सो खोप लगाएका छन्।
त्यस्तै योग्यता पुगेका वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूमध्ये लगभग ३५ प्रतिशतले चौथो मात्राको खोप लगाएका छैनन्।
क्यारोलिन कक्स भन्छिन् उनको पिताको मृत्युले सबै मानिसहरूलाई थप सचेत हुन झकझक्याउने छ।
"मानिसहरूले अझै पनि ज्यान गुमाइरहेका छन् र त्यो कुरा हामीले बिर्सन हुँदैन।"
यो पनि पढ्नुहोस्

फाइजरको कोभिड-१९ ट्याब्लेट बजारमा आउन किन समय लागिरहेको छ?




