अस्ट्रेलियामा र अन्तराष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मानिसहरूलाई हरेक वर्ष ज्यानुअरी २६ मा ‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’ अन्तर्गत विभिन्न विधामा सम्मानित गरिन्छ, जसमा यस वर्ष समग्रमा ९४९ अस्ट्रेलियनहरू परेका छन्। ती मध्ये, भरत नेपाल मेडल अफ दि अर्डर अफ अस्ट्रेलियाको जेनेरल डिभिजनमा सम्मानित भएका हुन्। न्यु साउथ वेल्सको नेपाली समुदाय र त्यस्तै गरी मानसिक स्वास्थ्यमा पुर्याएको योगदानका लागि सम्मानित भएका नेपाल, सो पदक पाउने नेपाली पृष्ठभूमिका दोस्रो व्यक्ति हुन्। पेसाले मानसिक स्वास्थ्य अनुसन्धानकर्ता र पपुलेसन हेल्थको क्षेत्रमा कार्यरत रहेका नेपाल, आफूलाई एक मेन्टल हेल्थ अवेर्नेस एडभोकेटको रूपमा चिनाउँछन्। करिब १५ वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा कार्यरत नेपाल सिड्नी लगायत अन्य राज्य र प्रदेशमा एक मेन्टल हेल्थ फर्स्ट एड इन्सट्रक्टरको रूपमा तालिम दिँदै आएका छन् र यस क्षेत्रमा अझ धेरै जनचेतनाको आवश्यकता रहेको उनको भनाइ छ। उनी यसका साथै अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क एएनपीएल नामक गैर नाफा मूलक सामुदायिक संस्थाका संस्थापक अध्यक्ष पनि हुन्। सन् १९९७ मा अस्ट्रेलिया आइपुगेका नेपालसँग यस पदक, स्वयंसेवी कार्य र मानसिक स्वास्थ्यको विषयमा रहेका चुनौतीहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।





