स्थानीय काउन्सिलहरूले अस्ट्रेलिया डे मा नै नागरिकता वितरण गर्नु नपर्ने

Australian citizenship

An Australian citizenship recipient holds his certificate during a citizenship ceremony Source: AAP

स्थानीय काउन्सिलहरूले अस्ट्रेलिया डे को दिनमा नै नागरिकता वितरण गर्नु पर्ने यस अघिको गठबन्धन सरकारले ल्याएको बाध्यकारी व्यवस्थालाई सङ्घीय लेबरले खारेज गरेको छ। नयाँ परिवर्तन अन्तर्गत २६ जनवरी अगाडी र पछाडि गरेर छ दिन भित्रको समयमा समारोह आयोजना गर्न सकिने भए पनि सरकारले सार्वजनिक बिदाको दिन नै आयोजना होस् भन्ने चाहेको बताएको छ।


अस्ट्रेलिया डे नयाँ नागरिकहरूलाई स्वागत गर्ने प्रमुख दिन हो।

तर अब स्थानीय काउन्सिलहरूले कहिले नागरिकता वितरण समारोह राख्ने भन्ने निर्णय गर्ने लचकता प्राप्त गरेका छन्।

अध्यागमन मन्त्री एन्ड्रु जाएल्स भन्छन्, "हामीले के गर्‍यौँ भने हामीले अड्चनहरूलाई हटायौँ, मेलबर्नका केही काउन्सिलका नागरिकहरूलाई आफ्ना साथी र परिवारका बिच अस्ट्रेलियाली नागरिक भएको खुसी साट्न रोकिएको व्यवस्थालाई हटायौँ।"

ANDREW GILES KALDOR CONFERENCE 2022
Immigration Minister Andrew Giles speaks during the Kaldor Conference 2022 Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

मेलबर्नका केही काउन्सिलहरूले आदिवासी समुदायको सम्मानमा अस्ट्रेलिया डे मा समारोहहरू नगर्ने भन्दै यस अघि आवाज उठाएका थिए।

पूर्व गठबन्धन सरकारले ल्याएको नागरिकता वितरण समारोह अस्ट्रेलिया डे को दिन नै आयोजना गर्नु पर्ने बाध्यकारी व्यवस्थालाई हटाउने सरकारी निर्णय आएको हो।

नयाँ नियम अन्तर्गत नागरिकता वितरण समारोह २६ जनवरीको तिन दिन अगाडी वा पछाडि जसको अर्थ २३ जनवरी देखि २९ जनवरी सम्ममा आयोजना गर्न सकिने छ।

सन् २०१७ मा पूर्व प्रधानमन्त्री स्कट मोरिसनले काउन्सिलहरूलाई अस्ट्रेलिया डे माथि राजनीति गर्न नदिने भन्दै २६ जनवरीमा नै नागरिकता वितरण गर्नु पर्ने नियम ल्याएका थिए। उनले उक्त निर्णयको बचाउमा सन् २०१९ मा यस्तो भनेका थिए।

"यी नियमहरू हुन्, यदि तपाइलाई मान्न मन छ, ठिक छ, हामी तपाइहरूको संलग्नतामा खुसी हुन्छौँ। यदि तपाई चाहनुहुन्न भने हामी अरू कसैलाई यो काम दिन्छौँ, त्यसमा केही समस्या छैन।"

शुक्रवार उक्त नियमलाई उल्टाउँदै एल्बनिजी सरकारले स्थानीय काउन्सिलहरूले नागरिकता वितरण समारोह अस्ट्रेलिया डे मा नै गर्नु पर्ने व्यवस्थालाई हटाएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मेलबर्नका केही स्थानीय काउन्सिलहरूले आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर अस्ट्रेलियालीहरूले सो दिनलाई आफ्नो भूमि कब्जा गरिएको दुखद दिनको रूपमा हेर्ने भन्दै उनीहरूको सम्मानमा समारोह जनवरी २६ नगर्ने निर्णय गरेका थिए।

उनीहरूले सो दिनको सट्टा अर्को समयमा गर्नु पर्ने भन्दै समारोह नगर्ने निर्णय गरेपछि त्यस्ता काउन्सिलहरूलाई मोरिसन सरकारले सन् २०१७ देखि नागरिकता वितरण गर्नबाट वञ्चित गरेको थियो।

अध्यागमन मन्त्री जाएल्सले आफ्नो सरकार मानिसहरूलाई विभाजित गर्ने भन्दा एकताबद्ध गर्न चाहने बताएका छन्।

मेलबर्नको भित्री उत्तरी भागमा रहेको यार्रा सिटी काउन्सिलले सबैभन्दा पहिले नागरिकता वितरण समारोहलाई त्याग्ने निर्णय गरेको थियो।

मेयर क्लाउडिया न्वेनले आफ्नो काउन्सिलले सरकार समक्ष उक्त प्रतिबन्ध हटाउन निरन्तर आवाज उठाएको र उनको समुदाय यो निर्णयबाट उत्साहित भएको बताएकी छिन।

यार्रा नजिकै रहेको अर्को काउन्सिल मेर्री-बेकले पनि यसै महिनाको सुरुवातमा यार्राको निर्णयलाई पछ्याउने पक्षमा मत हालेको थियो।

यससँगै यार्रा, डार्राबिन पछि त्यस्तो निर्णय गर्ने मेर्री-बेक तेस्रो काउन्सिल बनेको छ।

स्थानीय मेयर एन्जेलिका पानोपोलस भन्छिन् नयाँ नियमले नागरिकता समारोह कहिले गर्ने भन्ने बारे निर्णय गर्न काउन्सिलहरूलाई अधिकार दिएको छ।

सङ्घीय सरकारले अझै पनि नागरिकता वितरण २६ जनवरीमा नै होस् भन्ने चाहना राखेको छ।

प्रधानमन्त्री एन्थनि एल्बनिजीले एक पक्षको विचारधाराले गर्दा कसैले पनि यो अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन्।

तर विपक्षीले भने यो निर्णयले निकै वृहत् परिवर्तन ल्याउन सक्ने बताएको छ।

गठबन्धनका अध्यागमन प्रवक्ता ड्यान टिहानले एल्बनिजी सरकार बिस्तारै अस्ट्रेलिया डेको मिति सार्न तर्फ लाग्ने भन्दै आफ्नो चिन्ता व्यक्त गरे।

तर प्रधानमन्त्री एल्बनिजीले सो कुराको खण्डन गरेका छन्।

"म अस्ट्रेलिया डेको समर्थन गर्छु, सरकारले अस्ट्रेलिया डेको समर्थन गर्छ, यहाँ कुनै परिवर्तन हुँदैन।"

सरकारका अनुसार अहिले १ लाख भन्दा कम नागरिकताका आवेदनहरू प्रक्रियामा रहेका छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now