मुख्य बुँदा
- अस्ट्रेलियामा साइकल चलाउँदा हेल्मेट लगाउनु अनिवार्य छ ।
- साइकल पूर्वाधारमा बाइक मार्ग, ट्रेल र बाइक लेनहरू पर्छन्।
- बजारमा फराकिलो टायर भएका माउन्टेन बाइकहरूदेखि पातलो टायर भएका रेसिङ बाइकहरूसम्मको विकल्प पाइन्छ।
साइकल चलाएर घुम्नु, शारीरिक रूपमा सक्रिय रहनको लागि उत्तम तरिका त हो नै साथमा यातायातको एक सुविधाजनक र किफायती माध्यम पनि हो। र यो वातावरणको लागि कार चलाउनु भन्दा राम्रो हुन्छ।
सुरक्षित रूपमा साइकल चलाउनको लागि, तपाईँले हेल्मेट लगाउनुपर्छ र आफ्नो बाइकको हेरचाह गर्ने तरिका सिक्नुपर्छ।
सम्पूर्ण उमेर समूहका अस्ट्रेलियनहरूलाई साइकल चलाउन प्रोत्साहित गर्ने देशको सबैभन्दा ठुलो साइक्लिङको क्षेत्रमा कार्यरत संस्था बाइसाइकल नेटवर्कका वेड सच्अडल्स्कि विभिन्न काउन्सिलहरूमा सिकारु साइकल चालक र त्यसमा पनि आप्रवासीहरू लक्षित कार्यक्रमहरू हुने गरेको बताउँछन्।
पैदल यात्रा गर्ने तथा साइकल हाँक्नेहरू सम्बन्धी एक सर्वेक्षण नेसनल वकिङ एन्ड साइक्लिङ सर्भेका अनुसार सन् २०२३ मा ९५ लाख २० हजार अस्ट्रेलियनहरूले साइकल हाँकेको बताएका थिए।
र नेटवर्कले आफ्नो नियमित यातायातको माध्यमको रूपमा साइकल चलाउने मानिसहरूको सङ्ख्या बढ्ने क्रममा रहेको अनुमान गरेको छ।
"ठुला सहरहरूमा, विशेष गरी भित्री सबर्बहरूमा, धेरै मानिसहरू काममा जान साइकल हाँक्ने गर्छन्," सच्अडल्स्कि भन्छन् ।
साथै धेरै मानिसहरूले फुर्सदमा रमाइलो गर्न वा स्वास्थ्यका हिसाबले पनि साइकल हाँक्ने हुनाले सप्ताहान्तमा पनि सडकमा प्रशस्तै साइकलहरू देखिन्छ।
अस्ट्रेलियाका धेरै कार्यस्थलहरूमा साइकल चालकहरूको लागि बाइक पार्क गर्ने ठाउँ, नुहाउने व्यवस्था र लकर लगायतका सुविधाहरू उपलब्ध हुने सच्अडल्स्कि बताउँछन्।

धेरै मानिसहरूले परिवार वा साथीहरूबाट साइकल चलाउन सिक्छन्, तर यसमा मदत गर्न विभिन्न समूह र सङ्गठनहरू पनि रहेका छन्।
क्रिस्टिना न्युबावर वेस्टर्न अस्ट्रेलियामा रहेको पिपुल इन बाइसाइकल नामक सामाजिक उद्यमकी प्रबन्ध निर्देशक हुन्।
यो समूहले जति सक्दो धेरै मानिसहरूलाई साइकल चलाउन प्रेरित गर्ने उद्देश्य सहित साइक्लिङ सम्बन्धी शिक्षा दिने कार्यशाला र कक्षाहरू प्रदान गर्छ।
उनी भन्छिन् कसरी सुरक्षित तरिकाले साइकल चलाउने भनेर जान्नु निकै महत्त्वपूर्ण हुन्छ।
"आफ्नो सुरक्षित सवारी चलाउने आधारभूत बानीहरूलाई थप राम्रो बनाउनुहोस्- बाइकलाई आफ्नो नियन्त्रणमा राख्नुहोस् , कसरी ब्रेक लगाउने जान्नुहोस्, गियरहरू कसरी प्रयोग गर्ने जान्नुहोस्, आकस्मिक अवस्थामा रोक्ने तरिका जान्नुहोस्, कसरी अगाडि र पछाडि स्क्यान गर्ने जान्नुहोस्, र कसरी सङ्केत गर्ने जान्नुहोस्।"

सडकका ट्राफिक नियमहरू, र अस्ट्रेलियामा साइकल चलाउने नियमहरू बुझ्न निकै महत्त्वपूर्ण छ।
यस अन्तर्गत दुर्घटना भएको अवस्थामा आफूलाई बचाउन सधैँ साइकलको हेल्मेट लगाउने पनि पर्छ।
सच्अडल्स्कि भन्छन्, "अस्ट्रेलिया हेल्मेट अनिवार्य गर्ने विश्वको पहिलो देशहरूमध्ये पर्छ। तपाईँले हेल्मेट लगाउनु पर्छ र यदि लगाउनु भएन भने ठुलै जरिवाना तिर्नु पर्ने हुन सक्छ। राति, र खराब मौसममा, तपाईँले आफ्नो बाइकमा २०० मिटर टाढाबाट देखिने बत्तीहरू जडान गरेको हुनुपर्छ।"
"कानूनले तपाईँले सधैँ रातो बत्तीमा र स्टप साइनमा रोकिनु पर्छ भनेको छ। धेरैजसो राज्यहरूमा, वयस्कहरूलाई फुटपाथमा सवारी गर्न प्रतिबन्ध लगाइएको छ, तर बच्चाहरूले सामान्यतया गर्न सक्छन्। र हातमा फोन लिएर सवारी नगर्नुहोस्, तथापि, हेडफोन प्रयोग गर्न भने पाइन्छ।"

साइकल चलाउँदा, अन्य साइकल चालक, पैदल यात्री र सवारी साधनहरू लगायत आफ्नो वरपरको अवस्थाबारे सचेत रहनुहोस्।
र साइक्लिङ गर्दा तपाईँलाई मोटर चालकहरूले सजिलै देख्ने किसिमको लुगा लगाउनु पनि फाइदाजनक हुन्छ।
तपाईँका लागि धेरै प्रकारका साइकलहरू उपलब्ध हुन्छन्, फराकिलो टायर भएका माउन्टेन बाइकहरूदेखि पातलो टायर भएका रेसिङ बाइकहरूसम्म।
र आफ्नो लागि उचित साइकल कुन हो त भनेर थाहा पाउन भने स्थानीय साइकल पसलको भ्रमण गर्नु नै उपयुक्त हुन्छ।
क्रिस्टिना न्युबावर साइकल लिएर कहाँ जाने हो र यो यातायातको साधनका रूपमा हो वा शारीरिक व्यायामको लागि हो भन्ने कुराले पनि तपाईँलाई कस्तो प्रकारको साइकल वा उपकरण चाहिन्छ भन्ने निर्धारण गर्न सकिने बताउँछिन्।
छोटो दुरीको यात्राका लागि कुनै विशेष तयारी नचाहिने भए पनि १५ किलोमिटर वा सोभन्दा बढीको यात्रा हो भने तयारी आवश्यक हुने उनको भनाइ छ।
घरबाट निस्कनु अघि आफ्नो बाइक यात्राको योजना बनाउनु धेरै राम्रो हुने न्युबावरको भनाइ छ।
"साइकल चलाउने मार्गहरू पत्ता लगाउने सबैभन्दा सजिलो तरिका भने गुगल म्यापमा खोजी गर्नु हो।एक ठाउँदेखि अर्को ठाउँमा जाने रुट खोज्नुहोस् र आफ्नो यातायात साधनको रूपमा साइकल चयन गर्नुहोस्।"

अस्ट्रेलियाका धेरै शहरहरूमा साइकल मार्ग वा बाइक लेनहरू छुट्टाइएका छन्, र वेड यसले तपाईँलाई आफ्नो वरपरको आनन्द लिने अवसर प्रदान गर्ने भनाइ राख्छन्।
यदि तपाईँ साइकल चलाउन इच्छुक हुनुहुन्छ भने, क्रिस्टिना न्युबावर आफू जस्तै साइकल चलाउन उत्साहित साथीहरू फेला पार्न धेरै विकल्पहरू रहेको बताउँछिन्।
तपाईँले स्थानीय सामुदायिक साइकल समूहहरू भेट्टाउन सक्नुहुन्छ।
त्यस्तै सोसल मिडियामा अन्य साइकल चालकहरूसँग जोडिने अवसरहरू पनि रहेको वेडको भनाइ छ।
क्रिस्टिना न्युबावर अस्ट्रेलियामा जो कसैले साइकल चलाउन सक्ने कुरामा जोड दिन्छिन्।
अस्ट्रेलियामा साइक्लिङ गर्ने बारे थप जान्न यहाँ जानुहोस्:
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।






