मुख्य बुँदाहरू
- आक्रामक ड्राइभिङ र रोडमा रिस पोख्ने व्यवहारका पछाडि दुवै व्यक्तिगत र बाह्य कारकहरू हुन्छन्।
- यदि रोडमा अर्को सवारीबाट तपाईँ माथि आक्रोश पोखिने सम्भावना देखिए त्यसको जवाफ दिने प्रयास नगर्नुहोस्।
- अर्को ड्राइभरले गल्ती गर्यो भने पनि उसको अवस्था बुझ्ने प्रयास गर्दै माफी दिनुहोस्।
रिस, थकान, तनाव र ध्यान अन्यत्र जानु, मानिसले बेला बेलामा यी अवस्थाहरूको अनुभव गर्नु सामान्य हो तर यस्ता दिमागी अवस्थाले सुरक्षित ड्राइभिङमा भने असर पार्न सक्छन्।
आक्रामक ड्राइभिङको पछाडि प्रायः कोही रिसाउनु वा सवारी चलाउँदा निराशा महसुस गर्नु कारक हुन्छन्।
युनिभर्सिटी अफ क्वीन्सल्यान्ड स्कुल अफ साइकोलोजीका असोसिएट प्रोफेसर जेम्स किर्बी सडकमा देखिने आक्रोश वा रोड रेजका पछाडि धेरै कारणहरू हुने बताउँछन्।
कहिले काहीँ रिसलाई बल दिनेमा अर्को व्यक्तिको उमेर वा लैंगिकतालाई लिएर रहेको पूर्वाग्रहले भूमिका खेल्छ।
त्यस्तै कहीँ पुग्न हतार भएको समयमा अर्को व्यक्तिले ट्राफिकमा ढिलाइ गरिदिनाले पनि रिस उठ्न सक्छ।

ड्राइभरहरू गाडीबाट बाहिर निस्किएर झगडा गर्न थालेको चाहिँ मिडियाहरूमा सामान्यतया देखाइने गरेको रोड रेजको उदाहरणहरूमध्ये पर्छ।
यद्यपि प्रोफेसर किर्बी यसलाई निरन्तर आक्रोशका साथ ड्राइभिङ गर्दा देखिने चरम रूप भनेर व्याख्या गर्छन्।
आक्रोशपूर्ण ड्राइभिङमा गालीगलौजदेखि ट्राफिक नियम उल्लङ्घनसम्म पर्न सक्छन्।
यसरी सडकमा रिस देखाउने व्यवहार असुरक्षित ड्राइभिङमा तब परिणत हुन्छ जब ड्राइभरहरूलाई सबै कुरा आफ्नो नियन्त्रणमा नै त छ नि भन्ने लाग्छ।
किर्बी भन्छन् यसरी रिसाएको बेलामा आफूलाई रिस उठाउने व्यक्तिसम्म पुग्न झन् धेरै 'फोकस' भएको जस्तो लाग्न सक्छ।
"हामीलाई त्यस्तो समयमा झूटो रूपमा विश्वास लाग्छ कि हामीसँग असाधारण ड्राइभिङ क्षमता छ जसले जोखिमपूर्ण ड्राइभिङका लागि थप प्रोत्साहित गर्न सक्छ।"

सडकमा देखिने आक्रोशको सामना
सामान्यतया सडकमा देखिने आक्रोशपूर्ण व्यवहारमा अर्कोलाई रिस उठाउन वा ढिलो गराउन जानीजानी ब्रेक लगाउने वा सवारीको स्पिड एक्कासि घटाउने पर्छन्।
त्यस्तै अत्यधिक गतिमा अर्को सवारी साधनको पछि लाग्ने, अन्य ड्राइभरहरूलाई बाटोबाट हटाउन बत्तीहरू बाल्ने र बन्द गर्ने कार्य पर्छन्।
त्यसैगरी टेलगेटिङ वा अर्को सवारीसँग टाँसिनै लागेको जसरी ड्राइभ गर्नु पनि रोड रेजमा सामान्यतया देखिने व्यवहारमा पर्छन्।
रोयल अटोमोबाइल क्लब अफ भिक्टोरिया (आरएसीभी) का नीति प्रमुख जेम्स विलियम्स प्रहरी तथ्याङ्कलाई उद्धृत गर्दै भिक्टोरियामा मात्रै टेलगेटिङ घटनाहरूका लागि प्रत्येक वर्ष लगभग २००० जरिवाना जारी गरिने बताउँछन्।
र टेलगेटिङलाई थप बुझाउन उनी दुई सवारी बिच कति सेन्टिमिटरको दुरी छ भन्ने कुराले भन्दा पनि यो अवस्था किन आएको हो र सडकमा के भएको थियो भन्ने कुरा महत्त्वपूर्ण हुने विलियम्सको भनाइ छ।
"जब तपाईँ लामो समयको लागि तपाईँको अगाडि कारको धेरै नजिक हुनुहुन्छ। यसलाई कानूनमा सवारी साधनको पछाडि पर्याप्त दूरी राख्न असफल भएको भनेर परिभाषित गरिएको छ।"

रोड रेज नै चाहिँ अपराध होइन; यद्यपि सडक सुरक्षामा बाधा पुर्याउने आक्रामक ड्राइभिङसँग सम्बन्धित कार्यहरू दण्डनीय हुन्छन्।
उदाहरणका लागि भिक्टोरियामा टेलगेटिङ गर्नेलाई २४८ डलरसम्मको फाइन लगाउन सकिन्छ र डिमेरिट पोइन्ट पनि गुमाउँछन्।
यदि तपाईँले रोडमा यस्ता व्यवहार देख्नु भयो भने आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्नु पर्ने विलियम्स बताउँछन्।
"(गम्भीर किसिमको रोड रेजको अवस्थामा) यदि तपाईँ असुरक्षित वा गाडी हाँक्न नसक्ने महसुस गर्नुहुन्छ भने तपाईँले पुलिसलाई सम्पर्क गर्नुहोस् र सुरक्षित स्थानमा जानुहोस् साथै निश्चित रूपमा खतरनाक ड्राइभिङको रिपोर्ट गर्नुहोस् र तपाईँलाई आवश्यक परेमा सहयोग खोज्नुहोस्।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
रोड रेजको अवस्था आउने सम्भावना देखिएमा आफूलाई संयमित राख्नु र तनाव बढ्नु अगाडी नै यसलाई कम गर्न कदम चाल्नु महत्त्वपूर्ण हुन्छ।
तर यदि अर्को व्यक्तिले आफूमाथि आक्रोश पोख्न खोजेमा पनि शान्त रहने र आफूलाई सो अवस्थाबाट जतिसक्दो छिटो निकाल्ने नै उत्तम उपाय हो।
यसमा चाहिँ अर्को ड्राइभरलाई अगाडी जान दिने, सुरक्षित तरिकाले साइड लगाएर आफ्नो सवारी रोक्ने वा अन्य कुनै कदम चालेर अवस्थालाई संयमित बनाउनु उचित हुन्छ।
विलियम्स आफूलाई रिस उठे वा रिसको सिकार हुने सम्भावना भए, यी दुवै अवस्थामा आगोमा घ्यु नथप्नु नै ठिक हुने बताउँछन्।
रोड रेज र इन्स्योरेन्स
अस्ट्रेलियामा रोड रेजका घटनाहरू कति हुन्छन् भन्ने राष्ट्रव्यापी आधिकारिक तथ्याङ्क त उपलब्ध छैन, तर पनि सन् २०२४ मा फाइन्डर नामको एक साइटले गरेको सर्भेमा चार मध्ये तिन अस्ट्रेलियनहरूले रोड रेज भोगेको देखिएको छ।
तुलनात्मक परिणामहरू दिने उक्त वेबसाइटका इन्स्योरेन्स सम्बन्धी विज्ञ टिम बेनेटका अनुसार कार इन्स्योरेन्सले रोड रेजको परिणाम स्वरूप हुने भौतिक क्षतिलाई कभर गर्ने बताउँछन्।
सामान्यतया उल्लङ्घन गर्ने व्यक्तिको कार इन्स्योरेन्स कम्पनीले उक्त खर्च व्यहोर्छ।

कारमा क्षति नै पुग्ने घटना भयो भने घटनामा संलग्न दुवै कारका ड्राइभरहरूले एक अर्काको जानकारी टिप्नु पर्छ।
तर अर्को पक्ष निकै आक्रोशित भएको अवस्थामा त्यस्तो सम्भव नहुने भन्दै बेनेट केही सुझाव दिन्छन्।
"सकेसम्म चाँडो के भएको हो सम्पूर्ण टिपोट राख्ने प्रयास गर्नुहोस्। कम्तीमा, त्यो लाइसेन्स प्लेट नम्बर जतिसक्दो चाँडो प्राप्त गर्ने प्रयास गर्नुहोस्।"
इन्स्योरेन्सका लागि दाबि परेको रोड रेज घटनाका दोषीहरूको इन्स्योरेन्स कभरका लागि तिर्नु पर्ने रकम पनि सामान्यतया बढ्ने गर्छ।
तर दुर्भाग्यवश अर्काको आक्रोशको सिकार हुने व्यक्तिको हकमा पनि इन्स्योरेन्सको रकम बढ्न सक्ने बेनेट बताउँछन्।
तपाईं यात्रु मात्र भएको अवस्थामा के हुन्छ?
अर्काको कारमा यात्रा गरिरहँदा ड्राइभरले आक्रोशपूर्ण व्यवहार देखायो भने त्यसले तपाईँलाई तनावमा पार्न सक्छ।
साथै तपाईँलाई आफूले केही गर्न नसक्ने अनुभव वा आफ्नो जीवन नै जोखिममा परेको लाग्न सक्छ।
यस्तो अवस्थामा कसरी प्रतिक्रिया जनाउने भन्ने कुरा चाहिँ तपाईँको ड्राइभरसँग सम्बन्ध कस्तो हो भन्ने कुरामा निर्भर हुन्छ।
प्रोफेसर किर्बी 'शान्त होऊ' नै नभनी कसरी ती ड्राइभरलाई शान्त बनाउन सकिन्छ भन्ने बारे केही टिप्स दिन्छन्।
सबैभन्दा पहिले त सम्भव भएसम्म ड्राइभरलाई उक्त अवस्था अलि गाह्रो थियो भनेर उसलाई चित्त नबुझ्नु ठिक भएको प्रतिक्रिया दिनु पर्ने किर्बीको भनाइ छ।
यसबाट ड्राइभरले तपाईँले आफ्नो कुरा बुझेको अनुभव गर्छन्।
यदि तपाईंले तिम्रो नै गल्ति थियो भन्नु भयो भने अवस्था झन् विग्रने सम्भावना हुन्छ।
त्यसपछि "केही बेर गाडी रोक्ने हो?" वा "रेडियो बजाउने हो?" भनेर सोधेर त्यो अवस्थाबाट उसको ध्यान अन्तै मोड्न प्रयास गर्नु पर्ने उनको सुझाव छ।

यदि एक व्यक्ति लगातार रोडमा आक्रोश पोख्ने व्यवहारमा संलग्न छन् भने, मनोवैज्ञानिक थेरापीले उनीहरूलाई रिसको व्यवस्थापन र अभिव्यक्तिलाई लिएर मद्दत गर्न सक्छ, किर्बी भन्छन्।
सुरक्षित र जिम्मेवार ड्राइभिङको लागि आवश्यक पर्ने कुराहरू भनेकै उच्च स्तरको सावधानी अपनाउने, धैर्यता, र अरूका बारेमा पनि विचार गरेर चलाउनु हुन्छ।
प्रोफेसर किर्बी सचेत हुन, अरूलाई बुझ्न र अन्य ड्राइभरहरूलाई शङ्काको लाभ दिने वा झट्ट निर्णय गर्नु भन्दा पनि उनीहरूको अवस्थाबारे बुझ्न कोसिस गर्दै माफी दिन सुझाव दिन्छन्।

यदि तपाईंलाई रोडमा यात्रा गरिरहँदा सुरक्षित महसुस भएन भने पुलिसलाई सम्पर्क गर्नुहोस्।
खराब ड्राइभिङ अन्तर्गत पर्ने व्यवहार बारे रिपोर्ट गर्न क्राइमस्टपर्सलाई १८०० ३३३ ००० मा फोन गर्न सक्नुहुन्छ।







