मुख्य बुँदा
- अस्ट्रेलियामा कार बेच्नका लागि सामान्यतया तीन वटा विकल्प छन्, व्यक्तिलाई बेच्ने, कार डिलरकोमा लगेर बेच्ने वा लिलामी गर्ने।
- व्यक्तिगत रूपमा बेच्दै गर्दा भने कारको मूल्य, आवश्यक मर्मत र कुनै राज्यमा चाहिँ सडकमा गुड्नका लागि योग्य छ कि छैन भनेर 'रोड वर्दी' सर्टिफिकेटको पनि आवश्यकता पर्छ।
- कार दोस्रो व्यक्तिलाई बेचिसकेपछि, मोटर रर्जिस्ट्री मार्फत आवश्यक नामसारी गर्ने काम गर्नु पर्छ।
हुन त अस्ट्रेलियामा पुराना गाडी खरिद ब्रिकीको रेकर्ड राख्ने कुनै त्यस्तो निकाय छैन। तर पनि नयाँ गाडी भन्दा तीन गुणाको हाराहारीमा पुराना गाडीहरू खरिद बिक्री हुने बताइन्छ।
न्यु साउथ वेल्सको फेयर ट्रडिङ्गमा रेगुलेटरी इन्गेजमेन्टका निर्देशक कैथी टाउनसेंड कार बेच्ने योजना बनाउँदै गर्दा आफ्नो कार कुन माध्यमबाट बच्ने भनेर सोच्नु पर्ने बताउँछिन्।
“यहाँ केही विकल्पहरू छन्, डिलरबाट बेच्न कि अक्सन वा अन्य विभिन्न माध्यमबाट, अहिले त अनलाइनबाट पनि बेच्न सकिन्छ।”

अक्सन हाउस वा डिलर चाहिँ सामान्यतया 'क्लासिक' अथवा पुराना मूल्यवान् कारहरू बेच्नका लागि अपनाइन्छ।
उनीहरूले नै बेच्नकालागि सबै काम गर्ने भएकाले झन्झटबाट आफू भने मुक्त भइन्छ।
तर यसरी बेच्दा आफूले खोजे जति मूल्य पाउन भने मुस्किल हुन्छ।
डिलर मार्फत कार बेच्दा, उनीहरूले आफ्नो मार्जिन राखेका हुन्छन् भने अक्सन हाउसमा पनि १० देखि १५ प्रतिशत कमिसन दिनु पर्ने हुन्छ।

व्यक्तिगत रूपमा बेच्ने हो भने
व्यक्तिगत रूपमा बेच्ने हो भने चाहिँ रजिस्ट्रेसन सम्बन्धी कागजातहरू तैयारी अवस्थामा राख्नु पर्छ।
“खरीदकर्ताहरुले कारका कागजात र तपाई उक्त कारको वास्तविक मालिक हो कि होइन भनेर जाँच गर्न सक्छन्, यसका लागि मानौँ तपाईँको लाइसेन्स मागिन सक्छ,” टाउनसेंड बताउँछिन्।
“उनीहरूले च्यासिस नम्बर वा भिआइएन नम्बर पनि माग्न सक्छन् यो चाहिँ कारसँग सम्बन्धित कुनै 'लोन' तिर्न बाँकि छ कि भनेर पर्सनल प्रर्पटीज सेक्युरीटिज रर्जिस्टार मार्फत चेक गर्न हो।”
व्यक्तिगत रूपमा बेच्ने हो भने चाहिँ, कारको वास्तविक अवस्था भने खुलाउनु जरुरी हुने बताइन्छ।
कारा फेला, अनलाइन मार्फत कार बेच्न मद्दत गर्ने कम्पनी कारसेल्सकी कन्जुमर मार्केटीङ्ग म्यानेजर हुन्।
उनका अनुसार पुरानो कार बेच्दै गर्दा पारदर्शिता निकै महत्त्वपूर्ण हुन्छ।
“आफूले लिस्टीङ्ग गरे पछि, कुराको सुरुवात हुँदै वा कमेन्ट सेक्सनमा कारको हिस्ट्री वा समस्याका बारेमा भन्नुपर्छ, यसले सम्भावित खरिदकर्तासँग इन्स्पेक्सनका दौरान हुने भेटमा हुन आउन सक्ने अप्ठेरोबाट जोगिन मद्दत गर्छ।”
यसबाहेक किन्न खोजेका ग्राहकको प्रश्नहरूको जवाफ समयमै दिनाले चाँडो ब्रिकी गर्न मद्दत पुर्याउँछ।

कतिमा बेच्ने भन्ने बारेमा पनि अनुसन्धान गरेर, ठिक मूल्य राख्दा ग्राहकहरूलाई आकर्षित गर्न सजिलो हुने फेला बताउँछिन्।
एलेक्स फरेस्ट, वेर्स्टन अस्ट्रेलियाको रोयल अटो मोबाइल क्लबका (आरएसी) भेइकल एन्ड फ्युलका म्यानेजर हुन्।
उनका अनुसार कार ब्रिकी गर्नु पूर्व मर्मत सम्भार गर्दा, सम्भावित ग्राहकसँग मोलतोल गर्न सजिलो हुन्छ।
“विज्ञापनहरूमा पनि भर्खरै सर्भिसिङ्ग गरिएको वा नयाँ टायर फेरिएको जस्ता कुराहरू रखिन्छन, जसले ग्राहकलाई आकर्षित गर्छ,” फरेस्ट भन्छन्।
नत्र ग्राहकले यसमा त नयाँ टायर, ब्रेक, ब्याट्री जस्ता कुराहरू फेर्नु पर्ने रैछ भन्न सक्ने उनले बताए।
तर, कार बेच्नु अघि मोडीफाई गर्नु वा अपग्रेड गर्नु चाहिँ ठिक नहुने बताइन्छ।
“रूप रयाक, ठुला टायर, टो-बार जस्ता कुराहरू राखेर चाहिँ यसले मूल्य बढाउन मद्दत गर्छ जस्तो मलाई लाग्दैन,” फरेस्टले भने।
केही मानिसलाई भने कार बेच्दा मानिसहरू घरमा आएर हेरेको वा टेस्ट ड्राइभ गरेको मन नपर्न सक्छ।
फेला भन्छिन् कि कार बेच्दा आफन्त वा पारिवारिक सदस्य साथमा भए सजिलो हुन्छ।
“यो चाहिँ सानो एउटा ट्रिक हो, तपाइसँग साथी वा परिवारको सदस्य लिएर जानुस्, किन्ने मान्छेलाई सार्वजनिक ठाउँ जस्तै सपिङ सेन्टरको कार पार्क वा मान्छेहरू भएको ठाउँमा बोलाउनुस्,”फेलाले सुझाव दिइन।
“टेस्ट ड्राइभमा लग्दा, आफै जानुस् वा सुरक्षाका लागि उनीहरूको गाडीको चाबी वा लाइसेन्स लिएर राख्नुस्।”
तर तपाई बस्ने राज्य वा प्रदेशका आधारमा, बेच्नु अघि तपाईँले त्यहाँको नियम अनुसार सडकमा गुडाउन योग्य छ भन्ने रिर्पोट आवश्यक हुन सक्छ।
“भिक्टोरियामा चाहिँ, गाडी किनबेच गर्दा, 'रोड वर्दी' सर्टिफिकेट चाहिन्छ, तर वेर्स्टन अस्ट्रेलियामा त्यो आवश्यक हुँदैन,” फरेस्ट भन्छन्।
यसै गरी मेकानिकल जाँच पनि आवश्यक पर्ने भए पनि अनिवार्य भने छैन।

गाडी बेचिसकेपछि
कार बेचिसकेपछि, तीन कुरा गर्न भने भुल्नु हुँदैन।
- आफ्नो इन्स्योरेन्स र रोडसाईड एसीस्टेन्सलाई जानकारी गराउने।
- टोल अकाउन्ट परिवर्तन गर्ने ।
- र आफ्नो राज्यको मोटर रर्जिस्ट्रीलाई जानकारी गराउने।
पुरानो गाडी किन्दै गरेकाले चाहिँ केमा ध्यान दिने?
मेलबर्न बस्ने नेपाली मूलका मेकानिक, डिल्लीराज भट्ट बजेट अनुसारको गाडी हेरिसकेपछि आफू भन्दा जान्ने मानिसलाई लिएर जान सल्लाह दिन्छन्।
“गाडी क्रयास भएको छ कि छैन, डोरहरू, बुटहरू कलोज भएको छ कि छैन, बोनटहरु लक भएको छ कि छैन..यो कुराहरू विचार गर्नुपर्छ,” डिल्लीराजले भने।
“गाडी चलाउने, ब्रेकहरू हेर्ने र हेडलाईट बल्छ बल्दैन, फोकस हुन्छ हुँदैन जस्ता कुराहरू हेर्नुपर्छ।”
उनले गाडी किन्नु अघि मेकानिकलाई गएर देखाउँदा ढुक्क भइने पनि बताए।
सम्बन्धित सामाग्री

पुरानो गाडी किन्दै गर्दा के कुरामा ध्यान दिने त?









