हुन त पैदल यात्रीको सुरक्षा भनेको अधिकांश समयमा सामान्य दिमागको प्रयोगसँग सम्बन्धित हुन्छ।
तर एनआरएमएका सडक सुरक्षा विज्ञ डिमित्रा भ्लाहोमिट्रोसका अनुसार त्यसमा मात्र भर पर्न भने सकिँदैन।
पैदल यात्रीहरूमा पनि सबैभन्दा जोखिममा बच्चाहरू,वृद्धहरू र नशामा रहेका मानिसहरू रहने गरेको उनको भनाइ छ।
र उनीहरू लगायत सम्पूर्ण सडक प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न अस्ट्रेलियामा पैदल यात्रीहरूका लागि कानून रहेको छ।
कतिपयलाई यो कानून कठोर लागे पनि बाटो प्रयोग गर्ने सबैलाई सुरक्षित राख्न पनि त जरुरी छ।
पैदल यात्री भन्नाले के बुझ्ने?
रोयल अटोमोबाइल क्लब अफ भिक्टोरिया (आरएसीभी)का नीति प्रमुख जेम्स विलियम्स भन्छन्, पैदल यात्रीको कानूनी परिभाषा आश्चर्यमा पार्ने गरि फराकिलो भएको पाइन्छ।
"अस्ट्रेलियाभित्र पैदल यात्रीहरू भन्नाले फुटपाथ वा सडकमा पैदल हिँड्ने मानिसहरू मात्र होइनन्।"
[पेडेस्ट्रियन वा पैदल यात्री भन्नाले] साइकललाई धकेल्दै गरेका वा स्केटबोर्ड प्रयोग गर्ने, त्यस्तै रोलर स्केट, रोलरब्लेड, ह्वीलचेयर, वा मोबिलिटी स्कुटरहरू जस्ता पाङ्ग्रा भएका उपकरणहरू प्रयोग गर्ने सबै व्यक्तिहरू पर्छन्।जेम्स विलियम्स, नीति प्रमुख, आरएसीभी

हिड्दा पनि फस्ने?
केही झिना अन्तरहरू भए पनि अस्ट्रेलियाका सम्पूर्ण राज्य तथा प्रदेशहरूमा यस्ता सडक नियमहरू एउटै किसिमका सिद्धान्तहरूद्वारा निर्देशित छन्। सामान्य सिद्धान्तमा आधारित नियमहरू हुँदा त पैदल यात्रीहरूले नियम उल्लङ्घन गर्ने सम्भावना नहुनु पर्ने होइन र?
तर पनि देशभरमा पैदल यात्रुहरू सडक पार गर्दा दिनहुँ फस्ने गरेको भ्लाहोमिट्रोस बताउँछिन्।
प्राय: बाटो काट्दा पैदल यात्रीले सिग्नलमा हरियो मान्छे देखिँदा बाटो काट्ने र रातो मान्छे देखिएको बेला पर्खिने हो। यो सडक सङ्केतलाई उल्लङ्घन गर्नु हुँदैन।
"ट्राफिक सिग्नलमा रातो भएको बेला बाटो काट्न सुरु नगर्नुहोस्। यदि रातो मान्छे देखिएको छ र तपाईँ सडक पार गर्नुहुन्छ भने तपाईँलाई जरिवाना गर्न सकिन्छ।"
यो कानून अस्ट्रेलिया भरि नै लागु हुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
रातो बत्ती बलेको बेलामा बाटो काट्ने वा पैदल यात्रीले सडक नियम विरुद्ध कार्य गर्नुलाई सामान्यतया 'जेवाकिङ' भनिन्छ।
पेडेस्ट्रियन काउन्सिल अफ अस्ट्रेलियाका सीईओ तथा संस्थापक ह्यारोल्ड स्क्रबि जेवाकिङ अमेरिकी सोच भएको बताउँछन्।
"अस्ट्रेलियामा जेवाकिङ भन्ने कुनै कानून छैन। तर अस्ट्रेलियामा नियमहरू भने निकै स्पष्ट छन्।"
उनि थप्छन्, "पैदल यात्रीले जुन सुकै ठाउँ र समयमा बाटो काट्न सक्छन्,तर ध्यान पुर्याएर। यो कुरा चाहिँ ध्यानमा राख्नु पर्यो कि पेडेस्ट्रियन क्रसिङभन्दा उक्त स्थान २० मिटर भित्रको दुरीमा हुनु भएन साथै ट्राफिक लाइटमा रातो बत्ती वा रातो फ्ल्यास बत्ती बल्दा बाटो काट्नु भएन।"
न्यु साउथ वेल्समा रातो बत्ती झिलिक झिलिक गरेर बलेको बेला बाटो काटिएको छ भने पनि जरिवाना लाग्छ।

कहाँबाट बाटो काट्ने?
यदि तपाईँले बाटो काट्न लागेको ठाउँतिर ट्राफिक लाइट देख्नु भएन भने जेब्रा क्रसिङ छेउछाउमा हुन सक्छ त्यता तिर आँखा दौडाउनुहोस्।
तपाईँलाई थाहा नै होला सडकको एक हिस्सामा सेतो धर्काहरू बनाइएको ठाउँ वा जेब्रा क्रसिङमा अन्य सवारी साधनहरूले पैदल यात्रीलाई प्राथमिकता दिनै पर्छ।
कहिले काहीँ यस्ता जेब्रा क्रसिङहरू भएको सडक थोरै उठाइएको हुन्छ।
जसलाई 'वुम्ब्याट क्रसिङ' भनिन्छ। उक्त ठाउँ बाटो काट्न बनाइएको हो कि सवारीको गति कम गर्न राखिएको 'स्पिड हम्प' हो भनेर यसबाट कतिपय झुक्किने गरेको भ्लाहोमिट्रोस बताउँछिन्।
तर त्यसका लागि सडक छेउमा मानिस हिँडेको वा खुट्टाको सङ्केत हेर्ने र त्यस्तो भए बाटो काट्ने तर यदि बाटो काट्न नमिल्ने कतिपय 'स्पिड हम्प' भएको ठाउँमा काउन्सिलले रुख रोपेको हुन सक्ने भन्दै भ्लाहोमिट्रोस सडक संकेतहरू बुझ्नुको महत्वलाई प्रस्ट्याउँछिन्।
त्यस्तै कुनै कुनै स्थानमा त सवारी गति सीमित गर्ने स्पिड हम्प भएको ठाउँमा मान्छे हिँड्न नमिल्ने गरि बार लगाइएको हुन्छ भने कतै पैदल यात्री हिँड्न मिल्दैन भनेर ‘no pedestrian access’ भन्ने सङ्केत नै राखिएको हुन्छ।
स्पिड हम्प चिन्ने अर्को तरिका भनेका त्यहाँ जेब्रा क्रसिङको जस्तो एकनासका सेतो धर्का हुँदैन त्यसको सट्टा सडकमा उठेको भागको दुबैतर्फ नमिलेका सेता धर्का हुन्छन् जुन झट्ट हेर्दा पियानोको की जस्तो देखिन्छन्।
कसरी बाटो काट्ने?
तपाईँ कसरी बाटो काट्नुहुन्छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण हुने विलियम्स बताउँछन्।
क्रसिङहरू नभएको ठाउँमा पैदल यात्रीले बाटो काट्दा सबैभन्दा छिटो सडक पारी पुगिने ठाउँ रोज्नु पर्ने र त्यो सडक सिधा भएको हेर्नु पर्छ।
साथै विलियम्स यसरी बाटो काट्दा सवारी साधनहरूलाई अवरोध पुर्याउनु पनि गैर कानूनी भएको कतिपय मानिसहरूलाई थाहा नहुने भनाइ राख्छन्।
सडक प्रयोग गर्ने अन्यका बारेमा विचार नगर्नु पनि गैर कानूनी हो।

सडकमा हिड्न मिल्छ?
तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ तर विलियम्स भन्छन् सडकमा हिँड्दा मात्रै पनि जरिवाना तिर्नु पर्ने हुन सक्छ।
"प्राय गरि यो चाहिं निश्चित हो कि हिँड्नलाई बनाइएकै सडक पेटी वा घाँस रोपिएका ठाउँ हुँदा हुँदै सडकमा हिँड्नु गैर कानूनी हो। आरएसीभीको सुझाव छ कि आफूतिर आइरहेको गाडीलाई हेर्दै बाटो काट्नु सुरक्षित हुन्छ।"
पैदल यात्रीलाई प्राथमिकता
केही स्थानमा पदयात्रीलाई सवारी साधनले पहिले जान दिनु पर्छ, जस्तै कि सडकबाट सवारी साधनलाई ड्राइभवे तर्फ मोड्दा र क्रसिङहरूमा।

जरिवाना
पैदल यात्रीहरूले पालना गर्नु पर्ने कानून सबै राज्य र प्रदेशहरूमा समान भए पनि उलङ्घन गर्दा तिर्नु पर्ने जरिवाना भने तपाईँ बसेको स्थान अनुसार फरक हुन्छ।
विलियम्स सचेत गराउँछन् कि भिक्टोरियामा यो रकम निकै धेरै छ।
जस्तै ट्राफिक लाइटको नियम उल्लङ्घन गर्दा वा सडक पेटी छोडेर सडकमा हिँड्दा जरिवाना ९६ डलरबाट सुरु हुन्छ त्यस्तै पुलिसले भनेको निर्देशन मान्न चुकेमा ३८५ डलर तिर्नु पर्ने हुन्छ।
पैदल यात्रीको शिष्टता
पैदल यात्रीको व्यवहार नियमहरूलाई लिएर कमजोर हुँदा सधैँ भने जरिवाना पर्दैन।
तर व्यक्तिगत सुरक्षा पनि त हाम्रो नै जिम्मेवारी हो र त्यसको लागि सही काम गर्नु नै उपयुक्त हुन्छ।
साथै कहिलेकाहीँ सुरक्षा भन्दा पनि अरूप्रति देखाइने शिष्टता पनि महत्वपुर्ण हुने विलियम्सको भनाइ छ।
पेडेस्ट्रियन जोम्बी भनेका को हुन्?
आजकाल धेरै मानिसहरू सडक पार गर्दा ट्राफिक नियमहरूलाई बेवास्ता गर्दै आफ्ना मोबाइल तथा उपकरणहरू चलाउँदै हिँड्ने गरेको देखिन्छ।
ह्यारोल्ड स्क्रबि स्मार्ट फोनको लतले 'पेडेस्ट्रियन जोम्बी' भनिने मानिसहरूलाई जन्माएको बताउँछन्।
पेडेस्ट्रियन जोम्बीहरू संसारभरि परिचित छन् र तिनीहरू दुर्भाग्यवश सडक दुर्घटनाहरूको लागि जिम्मेवार छन्।ह्यारोल्ड स्क्रबि, सीईओ, पेडेस्ट्रियन काउन्सिल अफ अस्ट्रेलियाका
अस्ट्रेलियाका केही राज्य तथा प्रदेशमा ध्यान अन्यत्र लगाएर बाटो काट्ने सम्बन्धमा जरिवाना गर्छन्, तर यस कानूनलाई लिएर अस्पष्टता पाइन्छ।
पेडेस्ट्रियन काउन्सिल अफ अस्ट्रेलियाले राष्ट्रिय स्तरमा नै ध्यान भङ्ग भएको अवस्थामा सडक पार गर्ने कार्यलाई गैरकानूनी बनाउनु पर्ने आवाज उठाउँदै आएको छ।
पैदल यात्रीहरूका लागि तपाईँको राज्य तथा प्रदेशमा रहेका नियमहरू बारे थाहा पाउन नेसनल ट्रान्सपोर्ट कमिसनको वेबसाइटमा जानुहोस्।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।








