Key Points
- सम्बन्ध दर्ता नभएको अवस्थामा पनि आधिकारिक सम्बन्ध अवस्थित छ कि छैन भनेर अदालतले निर्णय गर्दा कुन मापदण्ड हेर्छ भन्ने कुरा मुद्दा विशेषमा निर्भर गर्छ।
- डि फ्याक्टो सम्बन्ध दर्ताले अविवाहित दम्पतीहरूको अधिकारको सुरक्षा गर्दछ, जसमा सम्बन्धबाट अलग हुँदाका मामिलाहरू वा पार्टनरको मृत्यु भयो भने सम्पत्तिको हकमा प्रभाव पार्छ।
- आधिकारिक सम्बन्ध टुटेपछि विवाद समाधान गर्नको लागि मध्यस्थता अदालतको विकल्प हो।
पछिल्लो जनगणना अनुसार अस्ट्रेलियामा २० लाखभन्दा धेरै मानिसहरू डि फ्याक्टो सम्बन्धमा दर्ता भएका छन् ।
तर खासमा डि फ्याक्टो सम्बन्ध भनेको के हो र यसलाई कहिले देखि कानूनी मान्यता दिइयो त ?
‘फ्यामिली ल एक्ट’ को परिभाषा अनुसार यदि दुई जना विपरीत लिङ्गी वा समलिङ्गी मानिसहरू घरेलु तरिकाले सँगै बस्छन् भने यसलाई डि फ्याक्टो सम्बन्ध भनिन्छ ।
तपाईँको सम्बन्धलाई आधिकारिक रूपमा मान्यता दिनको लागि प्रक्रिया र आवश्यकताहरू तपाईँको राज्य वा बसोबासको क्षेत्रमा निर्भर गर्छ।
उदाहरणको लागि साउथ अस्ट्रेलियामा डि फ्याक्टो सम्बन्धलाई ‘रिलेसनसिप रजिस्टर एक्ट २०१६’ अन्तर्गत दर्ता गरिन्छ ।
र एक पटक दर्ता भएपछि, यसले अस्ट्रेलियाभरि नै स्वतः रूपमा कानूनी मान्यता प्रदान गर्छ।

पारिवारिक कानूनमा विशेषज्ञता भएकी सिड्नीकी वकिल निकोल इभान्स, आधिकारिक सम्बन्ध दर्ता गर्दा हुने केही फाइदाहरू हाईलाइट गर्छिन् ।
“सर्वप्रथम, यसले आधिकारिक सम्बन्धमा छन् भनेर कानूनी मान्यता प्रदान गर्छ । जसले गर्दा भिसा प्राप्त गर्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई सहयोग गर्छ । यदि पार्टनरको मृत्यु भयो भने सम्पत्तिको हकमा प्रभाव पार्छ। नजिकको नातेदारका रूपमा चिकित्सा उद्देश्यका लागि निर्णयहरू लिन सकिन्छ।”
इभान्स बताउँछिन् कि आधिकारिक सम्बन्ध दर्ता भएमा बालबालिका हेरचाह गर्नको लागि कानूनी दृष्टिकोणबाट पनि ‘लिगल प्यारेन्टिङ’ प्राप्त हुन्छ ।
अझ विशेष गरी समलिङ्गी जोडीहरूका लागि यो महत्त्वपूर्ण हुन्छ।
उनी भन्छिन् “डि फ्याक्टो सम्बन्धमा फ्यामिली ल एक्ट ले विशेष गरी बच्चालाई जन्म नदिने आमालाई कानूनी अभिभावकको रूपमा मान्यता दिन्छ। यसको अर्थ बच्चा गर्भमा बस्दाखेरि नै दुवै पक्ष अघि डि फ्याक्टो सम्बन्धमा भएको हुनुपर्छ।”
आधिकारिक सम्बन्ध छ वा छैन अदालतले निर्धारण गर्छ
त्यस्तै सम्बन्ध दर्ता नभएको अवस्थामा पनि यदि दुई जना मध्ये एक जनाले अदालतमा सम्पत्तिको विभाजन वा अर्को पार्टनरसँग सम्बन्ध स्थापना गर्न प्रदान गरिने ‘पार्टनर मेन्टेनेन्स’ माग दाबी गरेको अवस्थामा, आधिकारिक सम्बन्ध अवस्थित छ कि छैन भनेर निर्धारण गर्न धेरै कारकहरूलाई विचार गरिन्छ।
- कति लामो समयदेखि सम्बन्धमा थिए
- उनीहरूबिचको शारीरिक सम्बन्धको स्थिति
- कुनै पनि संयुक्त सम्पत्ति
- जोडी सँगै बसिरहेका थिए कि थिएनन् भन्ने पनि हेरिन्छ
इभान्सका अनुसार, अदालतले निर्णय गर्दा कुन मापदण्ड हेर्छ भन्ने कुरा मुद्दा विशेषमा निर्भर गर्छ ।
तर यस्ता सम्बन्धका केही सामान्य गलत धारणाहरूबारे उनी यस्तो बताउँछिन्,
“धेरै मानिसहरू सोच्छन् कि डि फ्याक्टो सम्बन्ध हुन दुई वर्षको लागि सम्बन्धमा हुनुपर्दछ, यो सत्य होइन। धेरै मानिसहरू सोच्छन् यदि तपाईँ आधिकारिक सम्बन्धमा हुनुहुन्छ भने, दुई वर्ष पछि, अर्को व्यक्तिको सम्पत्तिको ५० प्रतिशत हकदार हुनुहुन्छ। त्यो पनि सत्य होइन।"
"त्यस्तै धेरै मानिसहरू सोच्छन् कि आधिकारिक सम्बन्धमा हुनको लागि सँगै बस्नु पर्छ, जुन सत्य होइन। यहाँ ‘केस ल’ ले भन्छ कि तपाईँ आधिकारिक सम्बन्धमा हुन सक्नुहुन्छ तर छुट्टै घरहरूमा बस्न सक्नुहुन्छ,” इभान्स बताउँछिन्।

साथै दुई मध्ये एकले कानूनी रूपमा अरू कसैसँग विवाह गरेको भए पनि डि फ्याक्टो सम्बन्धको अस्तित्वलाई स्वीकार गर्ने व्यवस्था पनि कानुनमा रहेको छ।
पारिवारिक कानुनमा विशेषज्ञ रहेका ब्रिस्बेनका वकिल डेमियन ग्रीर बताउँछन्,
”यस्तो धेरै त हुँदैन तर पनि यो अवस्था भनेको चाहिँ एक जना व्यक्ति विवाहित हो, डिभोर्स भएको छैन तर उ डि फ्याक्टो सम्बन्धमा छ । जस्तो कि श्रीमान वैवाहिक सम्बन्धबाट अलग भयो तर कसैले पनि डिभोर्स फाइल गरेन तर सो श्रीमान अर्को कोही व्यक्तिसँग पाँच, छ वर्षदेखि सम्बन्धमा बसिरहेको छ अनि विवाह पनि गरेको छैन। यस्तो अवस्थामा उ विवाहित पनि हो र डि फ्याक्टो सम्बन्धमा पनि रहेको छ। ”
आधिकारिक सम्बन्धबाट अलग्गिने भए बालबालिकाको पालनपोषण तथा बच्चाको सम्बन्ध को व्यक्ति रहने जस्ता व्यवस्थापन विवाहितलाई जस्तै ‘फ्यामिली ल एक्ट’ अन्तर्गत अगाडी बढाइन्छ।
त्यस्तै आर्थिक बाँडफाँडको लागि कुनै विशेष परिस्थिति बाहेकमा दुई वर्ष भित्र नै अदालतमा हक दाबी सहित आवेदन पेस गर्नु पर्छ।
उनी भन्छन् कि दुई वर्ष भन्दा लामो समय पछि अदालती प्रक्रियामा गयो भने समस्या समाधानमा जटिलता आउँछ।
अथवा वैकल्पिक रूपमा पूर्व पार्टनरबिच आपसी सम्झौता भएको हुनै पर्छ, सँगै उनीहरूले यो पनि सुनिश्चित गर्नुपर्छ कि सम्झौता कानूनी रूपमा मान्य छ।
“महत्त्वपूर्ण कुरा भनेको सम्झौता राम्रोसँग दस्ताबेज हुनुपर्छ। र यसमा दुई तरिकाहरू छन्, या त सहमतिद्वारा अदालतलाई आदेश दिन अनुरोध गर्ने वा दुवै जनाको सम्झौतामा निर्धारण गर्ने।”
डी फ्याक्टो जोडीहरू पनि विवाहित जस्तै, सम्बन्धमा रहँदा कुनै पनि समयमा आर्थिक सम्झौतामा प्रवेश गर्न सक्ने इभान्स बताउँछिन्।
तर महत्त्वपूर्ण कुरा के भने यस प्रकारको सम्झौता कानूनी आधारमा वकिल द्वारा मात्र तयार गर्न सकिन्छ।
“यो दस्ताबेजले दुवै जना सम्बन्धमा रहँदा के किनेको भन्ने उल्लेख गर्छ। साथै यसमा यदि दुई जना अलग हुने अवस्था आएमा यस सम्पत्तिबाट हुने फाइदा र नोक्सानी कसरी बाँडफाँड गर्ने भनेर लेखिन्छ। र यस्तो दस्ताबेज वकिलले तयार गरेर हस्ताक्षर गरेको हुनुपर्छ।”
मध्यस्थता मार्फत विवाद समाधान
सम्बन्धबाट अलग हुने डि फ्याक्टो जोडीले पनि बालबालिका र वित्त सम्बन्धी विवादहरूको लागि सम्झौतामा पुग्न मध्यस्थता सेवाहरू पहुँच गर्न सक्छन्।
रिलेसनसीप अस्ट्रेलियाको वेस्टर्न अस्ट्रेलिया काउन्सिलर फियोना बेनेट भन्छिन् कि मध्यस्थताले दुई पक्षहरूलाई भावनामा बग्नबाट रोक्दै निष्पक्ष र समानतापूर्ण सम्झौतामा पुग्न मद्दत गर्न सक्छ।

मध्यस्थताको प्रक्रिया निःशुल्क हुन्छ।
एक पक्षले मध्यस्थताका लागी आग्रह गरेपछि अर्को पक्षलाई पनि सहभागी हुन इच्छुक छ वा छैन भनेर सोधिन्छ ।
बेनेटले बताउँछिन्, यदि दुवै पक्षहरू अगाडि बढ्न सहमत भएमा, सम्बन्ध के कारणले जोखिममा पुग्यो भन्ने लगायत सम्बन्धको इतिहास बुझिन्छ।
“दुवै जना मध्यस्थताका लागि सँगै एउटा कोठामा बस्न सक्ने स्थिति छ वा छैन भनेर हामी हेर्ने र बुझ्ने गर्छौँ।”

मध्यस्थता सुरु गर्नु अघि सबन्धमा के कस्ता जोखिम रहेका छन्, पारिवारिक वा घरेलु हिंसाको स्थिति छ वा छैन भनेर पनि बुझ्ने गरिएको उनको भनाइ छ।
अन्ततः मध्यस्थताको उद्देश्य भनेको छुट्टिएका जोडीहरूले आफ्ना विवादहरूलाई सशक्त रूपमा समाधान गर्न सकुन् भन्ने नै रहेको बेनेट बताउँछिन्।
"सिधै अदालतको प्रक्रिया सुरु गरियो भने, स्वतः धेरै नै विवाद सुरु हुन्छ। तर मध्यस्थताबाट अघि बढ्यो भने आफैले अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्न सक्षम भइसक्नु हुन्छ। मध्यस्थताको समयमा केही ज्ञान प्रदान गरिन्छ जसबाट पछाडि बसेर अरूले जे भन्यो त्यही गर्नुभन्दा पनि समस्यालाई आफैले समाधान गर्न सक्छु भन्ने सोच ल्याउँछ।”

सम्बन्धका कानूनी मामिलाहरूमा तपाईँको राज्यमा वकिल खोज्ने सामान्य जानकारीको लागि लफुल्लि एक्सप्लेन्डमा जानुहोस्, यो कानून समाज एनएसडब्लु को पहलमा इन्स्टिच्युट अफ भिक्टोरिया र क्वीन्सल्याण्ड ल सोसाइटी लगायत
अस्ट्रेलियाका अन्य कानून समाजहरूको समर्थनमा सुरु भएको हो ।
पारिवारिक सम्बन्धका मुद्दाहरू र मद्दत गर्न सक्ने सेवाहरूको बारेमा जानकारीको लागि, अस्ट्रेलिया सरकारद्वारा सञ्चालित
फ्यामिली रिलेसनसीप अनलाइन वेबसाइटमा जानुहोस् वा १८०० ०५० ३२१ मा कल गर्नुहोस्।
के तपाई सङ्कटमा हुनुहुन्छ?
आपत्कालीन समयमा ००० मा कल गर्नुहोस्। लाफलाइनलाई १३ ११ १४ मा वा राष्ट्रिय यौन दुर्व्यवहार, घरेलु हिंसा परामर्श सेवालाई १८०० ७३७ ७३२ पनि सम्पर्क गर्न सक्नुहुन्छ।







