Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने?

Man swimming by shark in sea

Sharks are an important part of the marine ecosystem, and having a better understanding of them can reduce the risk of a shark encounter. Credit: Westend61/Getty Images/Westend61

अस्ट्रेलियामा हजाराैँ किलाेमिटरका सुन्दर समुन्द्री तट (बीच)हरू छन्, यहाँ रिफ्रेस्मेन्टको लागि हाेस् या सामाजिक घुलमिलका लागि या त स्वस्थ्य रहन नै किन नहोस्, बीचमा पाैडी खेल्न जानु यहाँको जीवनशैलीकै हिस्सा हो । तर पाैडन बीचमा जानु अघि त्यहाँ हुने सम्भावित जोखिमबारे सचेत हुनुपर्छ । बीचमा शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न शार्कको व्यवहारसँगै सुरक्षित रहन के गर्ने भन्ने बारे जानकारी हुनु पर्छ ।


Published

Updated

By Phil Tucak

Presented by Maram Ismail, SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा हजाराैँ किलाेमिटरका सुन्दर समुन्द्री तट (बीच)हरू छन्, यहाँ रिफ्रेस्मेन्टको लागि हाेस् या सामाजिक घुलमिलका लागि या त स्वस्थ्य रहन नै किन नहोस्, बीचमा पाैडी खेल्न जानु यहाँको जीवनशैलीकै हिस्सा हो । तर पाैडन बीचमा जानु अघि त्यहाँ हुने सम्भावित जोखिमबारे सचेत हुनुपर्छ । बीचमा शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न शार्कको व्यवहारसँगै सुरक्षित रहन के गर्ने भन्ने बारे जानकारी हुनु पर्छ ।


मुख्य बुँदाः

  • समुन्द्रलाई स्वस्थ र सन्तुलित राख्न शार्कहरूले मरेका जीवहरूको सफाया गर्ने र आफै पनि शिकार गर्ने गर्छन्।
  • बीचका सुरक्षा निर्देशिका अनुसरण गर्ने र सुरक्षा गार्डहरू रहेका बीचहरूमा मात्रै पौडी खेल्ने हो भने शार्कको आक्रमण जोखिम न्यूनीकरण गर्न सकिन्छ।
  • पौडिरहेको सयमा शार्क भेटियो भने अवश्य डर लाग्न सक्छ तर यस्तो अवस्थामा नडराई शान्त रहने र त्यस ठाउँबाट पछाडि हट्ने प्रयास गर्नुपर्छ।

अस्ट्रेलियाको समृद्ध सामुन्द्रिक पर्यावरणमा शार्ककै विभिन्न प्रजाति पाइन्छ। जसमध्ये ग्रेट व्हाइट शार्क, टाइगर शार्क, ह्यामरहेड शार्क, बुल शार्क र विभिन्न चट्टान शार्कहरू लगायतका रहेका छन्।

समुन्द्रलाई स्वस्थ र सन्तुलित राख्न अत्यावश्यक रहेका यी शार्कहरूले मरेका जीवहरूको सफाया गर्ने मात्रै नभई आफै पनि सिकार गर्ने गर्छन्।

डा पउल बुचर, शार्क वैज्ञानिक हुन् । उनका अनुसार समुन्द्रको पारिस्थितिक प्रणाली सन्तुलन गर्नको लागि शार्कको भूमिका महत्त्वपूर्ण हुन्छ।

अधिकांश समय शार्कलाई शिकारीका रूपमा चिनिन्छ, जसको अर्थ सामुन्द्रिक खाद्य प्रणालीलाई यिनीहरूले प्रभाव पार्छन्।
डा पउल बुचर

"यिनीहरूले हिंस्रक जीवको जनसङ्ख्या नियन्त्रण गर्छन्। यिनीहरूले सामुन्द्रिक पर्यावरणलाई सन्तुलित राख्न कुनै एक मात्र प्रजातिको दबदबा नहोस् भन्ने सुनिश्चित गर्न मदत गर्छन्,” डा. बुचर बताउँछन् ।

शार्कहरूकाे वासस्थान र उनीहरूको व्यवहारबारे बुझियो भने समुन्द्री तटमा जाँदा शार्कको आक्रमणबाट हुने जोखिम कम गर्न सकिन्छ ।

शार्कको व्यवहार बुझौँ

yVUSWJhA.png
A shark seen from the Surf Life Saving aerial surveillance helicopter – Image: Surf Life Saving Australia.

न्यु साउथ वेल्सको प्राइमरी इन्डस्ट्री विभागका मुख्य रिसर्च वैज्ञानिक रहेका डा बुचर शार्क यहाँको प्रकृतिको हिस्सा भएकोले बीचमा जाँदा शार्क भेटिँदैन भनेर कसैले पनि शतप्रतिशत ग्यारेन्टी दिन नसक्ने बताउँछन्।

तर शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न केही महत्त्वपूर्ण बीच सुरक्षा मार्ग निर्देशन रहेका छन् ।

मेलबर्नको नेपाली समुदायमा वाटर सेफ्टी कार्यक्रमका अभियन्ता निराजन गाैलीले अस्ट्रेलियन नेपाल पब्लिक लिङ्क (एएनपीएल) संस्थाबाट बीचहरूमा जाँदा कसरी सुरक्षित रहने भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्।

अस्ट्रेलिया सरकारले हरेक बीचहरूमा कहाँ पाैडी खेल्न हुन्छ वा हुदैँन भनी जानकारी दिएको हुन्छ, सम्बन्धित सबै बीचहरूमा पनि सूचना साम्रगी राखिएको हुन्छ, लाइभ गार्डहरू पनि राखिएको हुन्छ त्यसैले सबै जानकारी लिएर मात्रै बीचमा पाैडी खेल्नुपर्छ।
निराजन गाैली

त्यस्तै डा पउल बुचर भन्छन्, हामीले सधैँ के सम्झनुपर्छ भने शार्कले आक्रमण गर्ने सम्भावना एकदम न्यून हुन्छ, तर यदि आक्रमण गरिहाल्यो भने कसरी प्रतिकार गर्ने भनेर तयारी अवस्थामा भने हुनुपर्छ ।

“पौडिरहेको समयमा शार्क भेटियो भने डर लाग्न सक्छ तर यस्तो अवस्थामा नडराई कन शान्त रहनुपर्छ, बिस्तारै पौडिने गर्नुपर्दछ। शार्कसँग आमने-सामने भइयो भने त्यस ठाउँबाट पछाडि हट्ने कोसिस गर्नुपर्छ।"

पौडिरहेको समय छ भने शरीरलाई त तुरुन्तै ठाडो बनाउने प्रयास गर्नुपर्छ। यदि तपाईँहरू अरू व्यक्तिहरूको नजिकै हुनुहुन्छ भने समूहमा जम्मा हुनुपर्छ किनभने शार्कले धेरै जनाको समूहलाई आक्रमण गर्ने सम्भावना निकै कम हुन्छ।
डा पउल बुचर

त्यस्तै समुन्द्रमा पौडिन जानु अघि जोखिम रोकथामका केही विधिहरू अपनायो भने पनि शार्कबाट हुने आक्रमणको जोखिम कम गर्ने डा बुचर बताउँछन् ।

र बीचमा जानुअघि अस्ट्रेलिया सरकारद्वारा जारी केही महत्त्वपूर्ण जानकारीहरू हेरेर मात्र जान अभियन्ता गाैली सुझाव दिन्छन् ।

“वाटर सेफ्टी सम्बन्धित धेरै जानकारी रोयल लाइफ सेभिङ भिक्टोरिया, अस्ट्रेलियाका वेभ साइट लगायत एएनपिएल बाट पनि लिन सक्नुहुन्छ ।”

अस्ट्रेलियाका केही राज्य र प्रदेश सरकारहरूले शार्कबाट हुने आक्रमण कम गर्नको लागि विभिन्न रणनीतिक कार्यक्रमहरू सञ्चालन गर्छन्, जस अन्तर्गत शार्क निगरानी कार्यक्रमहरू, ड्रम लाइनहरू र जालहरू बिछ्याउने लगायत हवाई निगरानीका लागि ड्रोन र हेलिकप्टरको प्रयोग हुन्छ ।

तर शार्कको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ, त्यसैले समुन्द्रमा आक्रमणको उच्च जोखिम भएका शार्कसँग आत्तिने भन्दा पनि चनाखो रहनु पर्ने बताउँदै डा बुचरको भनाइ छ।

उनि भन्छन्, शार्कहरूले सामुन्द्रिक पर्यावरणको अभिन्न अङ्ग मात्र नभई अस्ट्रेलियाको संस्कृतिमा पनि आफ्नो स्थान बनाएका छन् ।

“शार्कहरूलाई विश्वभरका मानिसहरूले आफ्नो कल्पनामा कैद गरेका हुन्छन्, विशेष गरी आदिवासीहरूले। यी हजारौँ वर्षदेखि आदिवासी कथाहरू र कलाका साथै आधुनिक साहित्य, चलचित्र र कलामा सांस्कृतिक सन्दर्भहरूमा विभिन्न तरिकाबाट समाहित भएका छन्।”

बीचमा पौडी खेल्दा सुरक्षित रहने उपायहरू

  • सुरक्षा निगरानी रहेका रातो र पहेँलो झन्डा रहेको निश्चित क्षेत्रमा मात्र पौडी खेल्ने।
  • बालबालिकाहरूलाई पानीमा भित्र वा बाहिर रहँदा हरबखत निगरानी गर्ने।
  • कुनै चोटपटक वा घाउ लागेको छ भने पानीबाट बाहिर निस्कनुपर्छ।
  • एक्लै भन्दा पनि अरू व्यक्तिहरूसँग मिलेर पौडी खेल्नु उत्तम हुन्छ।
  • समुन्द्रको वरिपरि रहँदा पेय पदार्थ वा ड्रग्स सेवन गर्नु हुँदैन ।
  • बीचमा रहेका लाइफ गार्डहरू सँग सल्लाह लिनुपर्छ।
  • माछाहरू आहारा दिने सङ्केत भएका क्षेत्रहरूमा जानु हुँदैन ।
  • डल्फिन र शार्क फरक हुन् तर दुवैको आहारा उस्तै हुन्,र शार्कले डल्फिनलाई समेत खान्छ ।
  • सम्भावित घटनाबारे आफैँ जानकार रहनु पर्छ ।
  • आफ्नो क्षमता र परिधि आफैँले मूल्याङ्कन गर्ने ।
  • यदि स्वयंसेवक बन्न मन छ भने, नजिकैको Surf Life Saving club मा सम्पर्क गर्ने
  • साथै थप जानकारीको लागी BeachSafe.org.au वा Beachsafe app डाउनलोड गर्नुहोस् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now