Key Points
- अस्ट्रेलियामा सङ्घीय कानुन अन्तर्गत धर्मको आधारमा भेदभाव गर्नु कानुन विपरीत नभए पनि, त्यो राज्य तथा प्रादेशिक कानुन अन्तर्गत अवैध हुन सक्छ।
- फेयर वर्क कमिसन, अस्ट्रेलियन ह्युमन राइट्स कमिसन र स्थानीय स्तरमा भेदभाव विरुद्ध काम गर्ने निकायहरूमा धार्मिक भेदभावको उजुरी पेस गर्ने केही फोरम हुन्।
- केही अवस्थामा, कामदारको आफ्नो धर्म मान्ने गर्ने अधिकारलाई प्रतिबन्ध लगाउनुको उचित कारण वा वैधानिक आधार पनि हुन सक्छ।
अस्ट्रेलियामा विगत वर्षहरूमा 'रिलिजियस डिस्क्रिमीनेसन बिल' अर्थात् धार्मिक भेदभाव विधेयकको स्थापनाको लागि प्रक्रियाहरू चलिरहेको छ ।
तर धर्म सम्बन्धी अधिकारको कुनै विशेष कानुन छैन।
फेयर वर्क एक्ट २००९ ले कार्यस्थलमा धार्मिक भेदभाव विरुद्ध राष्ट्रव्यापी अधिकार प्रदान गरे पनि यसको दायरा सीमित रहेको पाइन्छ।
करिना ओकोटेल अस्ट्रेलियन क्यापिटल टेर्रीट्रमा रहेको एक सामुदायिक कानुनी केन्द्र, रेसियल एन्ड रिलिजियस डिसक्रिमिनेसन लिगल सर्भिस इंककी प्रमुख वकिल हुन्।
उनी भन्छिन् कि, कुनै कर्मचारीले आफू माथि धर्मको आधारमा भेदभावको भएको महसुस भयो भने सबैभन्दा पहिले फेयर वर्क कमिसनसँग सम्पर्क गरेर ऐन अन्तर्गत उजुरी दर्ता गर्न सकिन्छ वा सकिँदैन भनेर हेर्नु पर्छ।

उदाहरणका लागि, कुनै संस्था वा रोजगारदाताले कसैको धार्मिक विश्वासको आधारमा उनीहरू विरुद्ध भेदभाव गर्नु गैरकानुनी हो।
मानिसहरूलाई रोजगार दिने प्रक्रियामा प्राय विभेद भइरहेको पाइन्छ तर यो भेदभाव पूर्वाग्रहमा आधारित भएकोले यसलाई प्रमाणित गर्न धेरै गाह्रो हुने अकोटेल बताउँछिन्।
कार्यस्थलमा पनि सहकर्मीहरूका बिचमा धेरै प्रकारका धार्मिक भेदभाव हुन सक्छन्, तर फेयर वर्क एक्टमा भने ती समावेश गरिएका छैनन्।
सङ्घीय स्तरमा, अस्ट्रेलियन ह्युमन राइट्स कमिसन मा पनि उजुरी गर्न सकिन्छ। यस संस्थाले उपयुक्त समाधान प्रक्रिया बारे सुझावहरू दिन सक्छ।
अकोटेलका अनुसार, उजुरी पछि प्रतिष्ठामा क्षति पुग्ने सम्भावनाका कारण रोजगारदाताहरूले सामान्यतया उजुरीकर्ताहरूसँग सम्झौता गर्न चाहन्छन्।
त्यसैले अदालतमा नगईकन अस्ट्रेलियन ह्युमन राइट्स कमिसनमै तुरुन्तै उजुरी दर्ता गर्नु र समस्या समाधान गर्न मद्दत माग्नु धेरै फाइदाजनक हुन सक्छ।
धेरैजसो राज्य तथा प्रदेशहरूमा भेदभाव विरोधी कानुनहरू छन् जसले धार्मिक विश्वास र अभ्यासहरूको संरक्षण गर्छन्।
यी सुरक्षा कानुनहरू तपाईँ बस्ने ठाउँको आधारमा फरक हुन सक्छन्।
एमी कूपर विक्टोरियन इक्वल ओप्पोरचुनिटी एन्ड ह्युमन राइट कमिसन (विइओहेचआरसी)कि हेड अफ लिगल हुन् ।
उनले कार्यस्थलमा भएको धार्मिक भेदभावका उजुरीहरू धेरै जसो धार्मिक आस्था पहिरन लगायतका विषयमा रहेका बताउँछिन्।
“एक जुइस महिलाले आफ्नो रोजगारदातालाई आफू शब्बाट मनाउन शनिवार उपलब्ध नहुने बताएपछि उनीलाई काममा 'डिफिकल्ट' भनेर लेबल गरियो। एक सिख मानिसको सुपरभाइजरले उनलाई आफ्नो पगडी उतार्न जोड दिँदा अप्ठ्यारो महसुस गरेका थिए। हामीले एक मुस्लिम महिलासँग कुरा गरेका थियौ जसले हामीलाई बताइन् कि उनले आफ्नो आस्था अनुसार प्रार्थना गर्न लगाएका केही मिनेटहरूलाई उनका सहकर्मीहरूले 'रेस्ट ब्रेक्स' भन्दै टिप्पणीहरू गर्थे।”
राज्य र प्रादेशिक स्तरमा भेदभावको विरोधमा काम गर्ने निकायहरूले उजुरीकर्ताहरूलाई अदालत जानुको विकल्पको रूपमा दुवै पक्षको लागि उपयुक्त हुने नतिजामा पुग्न मद्दत गर्छन्।
तर कार्यस्थलमा धर्मको आधारमा हुने भेदभाव, कानुनद्वारा सधैँ निषेधित हुँदैन।

उदाहरणका लागि, भिक्टोरियामा, धार्मिक आस्था बोकेका संस्थाहरूले कर्मचारीहरूलाई केही सर्तहरूमा काम गर्दा भेदभाव गर्न सक्ने कुपर बताउँछिन्।
धार्मिक संस्थाहरूमा रोजगारदाताको धर्मको पालना गर्नु रोजगारीको एक आवश्यक भाग भएकाले, कूपरका अनुसार यदि व्यक्तिको धर्मले उनीहरूलाई काम गर्नबाट रोक्छ भने, त्यस कानुन अन्तर्गत भेदभाव उचित र समानुपातिक हुन्छ।
जस्टिन क्यारोल ब्ल्याकबे लयर्सका कमर्सियल डिस्प्युट्स पार्टनर हुन्।
उनका अनुसार धार्मिक संस्थाहरूले एक धर्म वा त्यस सम्प्रदायका अनुयायीहरूको धार्मिक संवेदनशीलतामा चोट नपुग्ने प्रतिकूल कारबाही गर्दा फेयर वर्क एक्ट अन्तर्गत त्यो गैर कानुनी भेदभावमा संलग्न हुँदैन।
रोजगारदाताहरूले फेयर वर्क एक्ट र आफ्ना राज्य र प्रादेशिक नियमहरूको पालना गरेर मुद्दा र उजुरीहरू रोक्न सक्छन्।
यसका लागि रोजगारदाताहरूले पनि सक्रिय कदमहरू लिन सक्छन्।
"धार्मिक मानिसहरूलाई व्यवसाय सञ्चालनमा कुनै महत्त्वपूर्ण प्रभाव नपर्ने तरिकाले सहयोग गर्नुहोस्। साथै धार्मिक नभएका मानिसहरूलाई यसले कुनै हस्तक्षेप नहोस् भन्ने कुरा याद राख्नुहोस्। कर्मचारीहरूबाट के अपेक्षा गरिएको छ भन्ने बारे जानकारी दिनुले पनि मद्दत गर्न सक्छ।"
अकोटेलका अनुसार, काममा धार्मिक भेदभावका घटनाहरू सधैँ स्पष्ट हुँदैनन् र अन्य गैर कानुनी उल्लङ्घन वा जातीय भेदभावसँग पनि मेल खान सक्छन्।
"एक व्यक्ति आफ्नो मुद्दा अदालतमा लैजान चाहन्थे, तर त्यसो गर्ने कुनै आधार थिएन। अन्ततः हामीले उहाँको 'प्राइभेसी' अर्थात् गोपनीयता सम्बन्धी मुद्दा हुन सक्छ भनेर पट्ट लगायौ। त्यसैले, कानुनी मार्गदर्शन प्राप्त गर्न एकदमै महत्त्वपूर्ण छ। कानुनका प्रतिबन्धहरूलाई ध्यानमा राख्दै, एक वकिलले तपाईँलाई उपलब्ध विकल्पहरू मार्फत मार्गदर्शन गर्न र उत्तम प्रक्रिया के हुन सक्छ भनेर सुझाव दिन सक्छ", अकोटेल बताउँछिन्।
राज्य वा प्रादेशिक स्तरमा धार्मिक भेदभाव सम्बन्धी उजुरी गर्ने बारे जानकारीको लागि तल दिइएका लिङ्कमा जानुहोस्:
| ACT | ACT Human Rights Commission | https://hrc.act.gov.au/ |
| NSW | Anti-Discrimination Board of NSW | https://antidiscrimination.nsw.gov.au |
| NT | Northern Territory Anti-Discrimination Commission | http://www.adc.nt.gov.au/ |
| QLD | Queensland Human Rights Commission | https://www.qhrc.qld.gov.au/ |
| SA | South Australian Equal Opportunity Commission | https://eoc.sa.gov.au/ |
| TAS | Equal Opportunity Tasmania | https://equalopportunity.tas.gov.au/ |
| VIC | Victorian Equal Opportunity & Human Rights Commission | https://www.humanrightscommission.vic.gov.au/ |
| WA | Western Australian Equal Opportunity Commission | http://www.eoc.wa.gov.au/ |
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।







