मुख्य बुँदाहरू
- पोस्टनेटल डिप्रेसन, बेबी ब्लुज भन्दा लामो समयसम्म रहन्छ र यसका लक्षणहरू थप गम्भीर हुन्छन्।
- नव आमाहरूमा पाँच मध्ये एक जनामा र भर्खर बुवा बनेका १० मध्ये एक जनामा पोस्टनेटल डिप्रेसनले प्रभाव पार्ने देखिन्छ।
- उपचार विधिमा साइकोलोजिकल थेरापी वा डिप्रेसन प्रतिरोधी औषधिहरू पर्छन् साथै सहयोगी वातावरणले पनि सहयोगी भूमिका खेल्छ।
भर्खर आमा बनेकाहरूले बच्चा जन्मिएको केही दिनसम्म 'बेबी ब्लुज' भनिने एक किसिमको नराम्रो अनुभूति हुने अवस्थाको सामना गर्न सक्छन्।
यस्ता अनुभूतिहरू प्राय: हार्मोनमा हुने परिवर्तनका कारण हुन सक्छन्। र यस अन्तर्गत मनस्थिति वा मुडमा परिवर्तन, चिन्ता, रुन मन लाग्ने र सुत्न कठिनाइ हुने पर्न सक्छन्।
यद्यपि चुनौतीपूर्ण, यी भावनाहरू सामान्यतया चिकित्सा उपचारको आवश्यकता बिना छोटो समयमा नै ठिक हुन्छन्।
तर यदि यी लक्षणहरू नहटे वा आफ्नो र नयाँ बच्चाको लागि सामान्य रूपमा कार्य गर्ने तपाईँको क्षमतामा असर पुग्छ भने, तपाईँले 'पोस्टनेटल डिप्रेसन'को अनुभव गरिरहनुभएको हुन सक्छ।
जुली बोर्निन्कफ, पेरिनेटल एङ्जाइटी एन्ड डिप्रेसन अस्ट्रेलिया (पान्डा)की क्लिनिकल साइकोलोजिस्ट र प्रमुख कार्यकारी अधिकृत हुन्।
उनी भन्छिन् 'पेरिनेटल डिप्रेसन' गर्भावस्थामा वा बच्चा जन्मिसकेपछि देखिन सक्छ।
जुन समयमा भए पनि, डिप्रेसनको अनुभव गर्ने मान्छेले जीवनको जुन सुकै काल खण्डमा भोग्ने लक्षणसँग मिल्दोजुल्दो हुन्छ।
"मानिसहरूले आफ्नो मुड वा मनस्थितिमा सामान्य अवरोध महसुस गर्छन् साथै कुनै जानकारीलाई बुझ्न र त्यसलाई ग्रहण गर्न असक्षम हुन्छन्। उनीहरूलाई प्रायः संसारबाट टाढा रही ओछ्यानमा नै बस्न मन लाग्छ," बोर्निन्कफ भन्छिन्।
सुताइमा अवरोध हुने, कि त धेरै सुत्ने या पर्याप्त नसुत्ने, त्यस्तै सामान्य अवस्थामा जस्तो खाना खान नसक्ने जस्ता अवरोधहरू जीवनको जुन सुकै मोडमा डिप्रेसन हुनेहरूमा अपेक्षा गरिने उनको भनाइ छ।
र पहिले नै जीवनमा डिप्रेसन अनुभव गरेका महिलाहरूमा गर्भावस्था वा बच्चा जन्मिएपछि हुने पेरिनेटल डिप्रेसनको सम्भावना बढी हुन्छ।

पेरिनेटल डिप्रेसनको जोखिमका कारकहरू बारे बोर्निन्कफ बताउँछिन्।
परिवारमा डिप्रेसनको इतिहास भएका व्यक्तिहरूमा पनि यसको बढी जोखिम हुन सक्छ।
साथै जीवनमा आघात भोगेकाहरूलाई पनि यस समयमा डिप्रेसन र एङ्जाइटिको सम्भावना हुने उनको भनाइ छ।
"र यो पहिचान गर्न पनि महत्त्वपूर्ण छ कि धेरैका लागि, एङ्जाइटि र डिप्रेसन उनीहरूको जीवनको यस अवधिमा अलग बस्दैनन्। त्यसैले, मानिसहरूले एङ्जाइटि र डिप्रेसन दुवै एकैसाथ अनुभव गर्न सक्छन्।"
भर्खर आमा बन्दाको आफ्नो अनुभव बारे एसबीएस नेपालीकी नेपाल सम्वाददाता सेवा भट्टराईले सुनाएकी छिन्।
सम्बन्धित सामग्री

४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव
मम् माने आमा पोडकास्टका लागि केही समय अगाडी गरिएको कुराकानीमा उनले एक नव आमाको मानसिक स्वास्थ्य बारे बुझ्नु पर्ने कुरामा नेपाली समाजमा धेरै ध्यान नदिइने गरेको आफ्नो अनुभव सुनाएकी छिन्।
"मलाई पोस्टपार्टम चाहिँ ठिकठिकै भयो, अब अलिकति स्ट्रेस त भइ नै हाल्छ सबै कुरा नयाँ भए पछि। तर मलाई प्रिपार्टम चाहिँ धेरै गाह्रो भएको थियो, आफ्नो मेन्टल हेल्थको हिसाबले।"
"(मानसिक स्वास्थ्यको) अन्डरस्ट्यान्डिङ चाहिँ मैले मेडिकल सिस्टमबाट अथवा फ्यामिली सिस्टमबाट खासै पाइन, तर आफ्नो कन्टेम्प्रोरी साथीबाट चाहिँ पाएँ।"
गर्भावस्था र बच्चा जन्मिसकेपछि नव आमाहरूको मानसिक स्वास्थ्यबारे कुरा गर्न हिचकिचाउने नेपालमा मात्र हो त?
तीन वर्षीय अजाइकी आमा स्यरा बारीका लागि, गर्भावस्था यात्रा उत्साह र तयार भएको भावनाले भरिएको थियो।
तर उनको त्यो तयार भएको जस्तो भावना छोराको जन्म लगत्तै कसरी डरमा परिणत भयो भनेर उनी सम्झन्छिन्।
र उनी ती चुनौतीपूर्ण भावना अस्थायी बेबी ब्लुज भन्दा लामो समयसम्म, हप्तौँसम्म रही रहेको स्मरण गर्छिन्।
"म वास्तवमा कुनै कारण बिना नै दिनको ६० देखि ७० प्रतिशत समय रोएरै बिताउँथेँ। मलाई मेरो छोराका लागि सामान्य कुरा गर्न पनि डर लाग्थ्यो।... यति लामो समयसम्म यस्तो भइरहनु सामान्य होइन भन्ने मैले बुझिहाले।"
आफ्नो जनरल प्राक्टिस्नर (जीपी)सँगको परामर्श पछि उनलाई पेरिनेटल डिप्रेसनको 'क्लासिक केस' भनेर डाइग्नोसिस् गरियो।
स्यरा बङ्गलादेशमा जन्मिएकी थिइन् र पछिल्लो २० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी छिन्।
उनको मामिलामा अस्ट्रेलिया बाहिर रहेका उनका बुबाले उनलाई सहयोग लिन प्रोत्साहन गरेका थिए।
र आफ्ना दुवै अभिभावकले आफूले भोगेको सङ्घर्ष बारे बुझेको उनी बताउँछिन्।
तर अस्ट्रेलियामा अझै पनि पेरिनेटल डिप्रेसनलाई 'स्टिग्मा' वा कलंकका रुपमा हेरिने गरेको र त्यो पनि कुनै निश्चित जाति वा संस्कृतिमा मात्र सीमित नभएको उनको विश्वास छ।

"शतप्रतिशत सांस्कृतिक रूपमा यो परहेजको विषय हो, र यो बङ्गलादेशको मात्र हो भन्ने मलाई लाग्दैन। मैले धेरै स्थानीय अस्ट्रेलियनहरूलाई मेरो पोस्टनेटल डिप्रेसनको बारेमा धेरै कुरा गरेको छु। र यो अझै पनि निषेधित विषय हो, मेरो मतलब, मानिसहरूलाई यस्तो अवस्थामा कस्तो प्रतिक्रिया दिने नै थाहा छैन।"
ज्याकी बार्नफिल्ड लाइफलाइनकी एक्जूकेटिभ डिरेक्टर अफ सर्भिस डेलिभरी हुन्।
लाइफलाइन एक सङ्कट समर्थन सेवा हो जसले मेन्स्लाइन मार्फत विशेष गरि पुरुषहरूलाई परामर्श प्रदान गर्छ।
र पेरिनेटल डिप्रेसनका बारेमा सबैभन्दा धेरै सुनिने मिथकहरू मध्ये एक भनेको यसले त महिलाहरूलाई मात्र असर गर्छ भन्ने रहेको बार्नफिल्डको भनाइ छ।
उनी भन्छिन्, "पेरिनेटल डिप्रेसनले जसलाई पनि असर गर्न सक्छ।"
"मेरै श्रीमानले पनि वास्तवमा पेरिनेटल डिप्रेसन अनुभव गरेका थिए।"

करिब १० मध्ये एक जना पुरुषलाई पेरिनेटल डिप्रेसन हुने अनुमान गरिएको छ र नव आमाहरूमा भने पाँच मध्ये एक जनामा यो देखिने गरेको पाइन्छ।
यस्तो अवस्था महिलाहरूमा बढी देखिने भए पनि, यसको पछाडीका कारकहरू वा 'ट्रिगर' भने समान भएको बार्नफिल्डको भनाइ छ।
उनी भन्छिन् कि यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको परिवर्तनको हुन्छ।
र परिवर्तनसँगै आउँछ अपेक्षा, आफूबाट के अपेक्षा राखिएको छ र अरूको अपेक्षा के रहेको छ भन्ने कुरा प्रमुख हुने बार्नफिल्डको भनाइ छ।
"यदि तपाईँ आफूलाई आदर्श परिवार, वा आदर्श बुबा जस्तो देखिने कुरासँग तुलना गर्दै हुनुहुन्छ भने, यसले तपाईँलाई त्यही हिसाबले प्रदर्शन गर्न थप दबाब दिन्छ।"
बार्नफिल्ड भन्छिन्, जोडीहरूमध्ये जोसुकै पोस्टनेटल डिप्रेसनबाट गुज्रिरहेको भए पनि यसमा पार्टनरबिच कुराकानी हुनु महत्त्वपूर्ण हुन्छ।
साथै महिला पार्टनरलाई समर्थन गर्नका लागि पुरुषहरूलाई उनको विशेष सल्लाह पनि छ।
"मेरो बिचारमा सबैभन्दा महत्वपूर्ण भनेको कुराकानीको लागि ढोका खुल्ला राख्नु हो, उनलाई कस्तो छ भनेर बुझ्न खोज्नुहोस्। र यसो गरिरहँदा तपाईँले कस्तो अनुभव गरिरहनु भएको छ भनेर कुरा गर्न सजिलो हुन्छ।"
"र यदि तपाईँलाई कुनै कुरा थाहा छैन भने, यसबारे उनलाई बताउनुहोस् कि तपाईँ वास्तवमा दुबिधामा हुनुहुन्छ र केही गल्ती गर्छु कि भनेर डर लागेको छ भनेर भन्नुहोस् अनि आपसमा मिलेर यसको समाधानका लागि काम गर्नुहोस्।"
पोस्टनेटल डिप्रेसन उपचार योग्य छ।
तपाईँको डाक्टरले तपाईँको आवश्यकताहरूको जाँच गरिसकेपछि उचित उपचारको सुझाव दिनेछन्।
आफ्नो अनुभवको आधारमा स्यरा भन्छिन् हरेक आमाले यो बुझ्न जरुरी छ की अँध्यारो सुरुङको अन्त्यमा पनि ज्योति हुन्छ।

उनको उपचारमा डिप्रेसन प्रतिरोधी वा एन्टीडिप्रेसेन्ट औषधि प्रयोग गरिएको थियो।
आफ्नो अवस्थामा आएको प्रगति बारे टिपोट राखेकोले उपचार पश्चात् उनको मनोदशामा स्पष्ट सुधार आएको क्षण पनि उनले सम्झन्छिन्।
"मलाइ लाग्छ १२ औँ हो कि १३ औँ दिनमा, म उठेँ अनि मलाई पकाउनु पर्छ, मेरो बच्चाको लागि यस्तो गर्नु पर्छ, उसलाई तेल लगाउनु पर्छ भन्ने सोच आयो। अनि त्यो दिनदेखि मलाई झन् झन् ठिक हुँदै गयो।"
स्यराले नव आमाबुबालाई दिने पहिलो सल्लाह भनेको हरेक दिन आफ्नो मानसिक स्वास्थ्यको निगरानी गर्नु भन्ने नै रहेको छ।
बोर्निन्कफ पनि त्यसमा सहमति जनाउँछिन्।
उनीहरूले हेल्प लाइनमा फोन गर्नेहरूलाई पेरिनेटल डिप्रेसन हुन सक्ने कुरालाई लिएर तयार हुनु यो अवस्था देखिइसकेपछि सहयोग माग्नु जत्तिकै महत्त्वपूर्ण हुने कुरा बताउने गरेको उनको भनाइ छ।
तपाईँले बच्चा जन्माउने योजना जस्तै गरी बच्चा जन्माउन जाँदै हुनुहुन्छ भने मानसिक स्वास्थ्य योजना पनि बनाउनुहोस्।जुली बोर्निन्कफ
समर्थन सेवाका लागि:
- पेरिनेटल एङ्जाइटी र डिप्रेसनको सहयोगको लागि पेरिनेटल एङ्जाइटी एन्ड डिप्रेसन अस्ट्रेलियालाई १३०० ७२६ ३०६ मा फोन गर्नुहोस् वा ४० भाषामा अनुवाद गरिएका स्रोत सामाग्रीका लागि panda.org.au मा जानुहोस्।
- मानसिक स्वास्थ्य समर्थनका लागि बियन्ड ब्लुलाई १३०० २२ ४६३६ मा फोन गर्नुहोस वा beyondblue.org.au मा जानुहोस्।
- एलजीबीटीआइक्यु प्लसको मानसिक स्वास्थ्य समर्थनका लागि क्युलाइफलाई १८०० १८४ ५२७ मा सम्पर्क गर्नुहोस् वा qlife.org.au मा जानुहोस्।
- सङ्कट समर्थनका लागि लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस्।
- पुरुषहरूका लागि परामर्श सेवा प्राप्त गर्न मेन्स्लाइनलाई १३०० ७८ ९९ ७८ मा फोन गर्नुहोस् वा mensline.org.au मा जानुहोस्।








