मुख्य बुँदाहरू:
- भ्रामक किसिमका समाचार छाप्नेमा अस्ट्रेलियनहरू पनि रहेको अध्ययनले देखाएको छ।
- प्रविधिको विकाससँगै अनलाइनमा झूटा समाचारहरू साँचो देखाउन सजिलो भएको छ।
- व्यक्तिको आफ्नो विश्वाससँग वा शङ्कास्पद जानकारीहरू बारे आउने झूटा समाचारहरूले मानव व्यवहारमा ठुलो प्रभाव पार्न सक्छ।
परिष्कृत बन्दै गइरहेको डिजिटल संसारमा गलत जानकारीले वास्तविक चुनौती उत्पन्न गर्छ । तर वास्तवमा यो के हो?
सुशी दास, आरएमआईटी विश्वविद्यालय भित्रको फ्याक्ट चेकिङ युनिटको, फ्याक्ट ल्याब को एसोसिएट डिरेक्टर हुन्।
"मिसइन्फरमेसन भनेको मूलतया भ्रामक जानकारी हो जुन मानिसहरूले यो गलत हो भनेर बुझ्दैनन्। तर डिसइन्फर्मेसन जानकारी भनेको झुटो सूचना हो जुन मानिसहरूले जानाजानी अरूलाई बहकाउन सिर्जना गर्छन्," उनले बताइन्।
"र उनीहरूले रमाइलोको लागि, वा राजनीतिक एजेन्डालाई स्थापित गर्न, वा क्लिकहरू मार्फत पैसा कमाउन यस्तो गर्न सक्छन्।”
फ्याक्ट चेकर सुशी दास र उनको टिमले गलत वा भ्रामक जानकारी समावेश हुन सक्ने पोस्टहरू पहिचान गर्न सोसल मिडियामा भाइरल सामग्रीको समीक्षा गर्छन्।
त्यसपछि उनीहरूले मानिसहरूमा सही जानकारी प्रस्तुत गरिएको सुनिश्चित गर्न सामग्रीको विश्वसनीयता प्रमाणित गर्न अनुसन्धान गर्छन्।
मेलबर्नका भरतराज पौडेल एक मिडिया विश्लेषक हुन्। उनी विश्वभरि नै गलत सूचना र भ्रामक सूचना दुवै रहेको बताउँछन्।
अनलाइन माध्यमहरूले प्रायः सामाजिक सञ्जालमा गलत सूचनाहरू चलाउने उनको भनाइ छ।
"सूचनासँग सम्बन्धित गलत सूचना, भ्रामक सूचनाहरू राजनीतिक स्वार्थको लागी पनि प्रयोग भइरहेका छन्," उनले बताए।

सामाजिक सञ्जालको प्रभाव
क्वीन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा डिजिटल मिडियाका एसोसिएट प्रोफेसर डा. टिमोथी ग्राहम भन्छन् कि 'सोसल मिडिया एल्गोरिदम'ले कहिलेकाहीँ झुटा समाचार र भ्रामक जानकारी फैलाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
सोसल मिडिया प्लेटफर्महरू विज्ञापनहरू प्रस्तुत गर्न निर्माण गरिएका हुन्। तिनीहरूले ‘इन्गेजमेन्ट’ वा संलग्नता र सान्दर्भिकता बढाउनको लागि प्रयोगकर्ताहरूको प्राथमिकताका आधारमा सामग्री देखाउन एल्गोरिदमहरू प्रयोग गर्छन् ।
सामाजिक सञ्जालहरूमा मानिसहरूले हेर्न चाहेका सामग्रीहरू फिडमा आउँछ । र सामाजिक तथा भावनात्मक सन्देशहरू दिएर मानिसहरूको ध्यान खिच्न खोजिन्छ तर ती सूचनाहरू सत्य हुन्छन् भन्ने हुँदैन। अझ सामाजिक सञ्जालहरूमा त सामग्रीहरू धेरै मानिसहरूसम्म पुर्याउनको लागी बुस्ट गरिएको हुन्छ ।
गलत जानकारी विभिन्न स्रोतहरूबाट उत्पन्न हुन सक्छ, जस्तै वास्तविक गल्तीहरू, पक्षपाती रिपोर्टिङ, सनसनीपूर्ण सामाग्री, र बहकाउन प्रयोग गरिने राजनीतिक, वैचारिक, वा आर्थिक जानकारीहरू।
'कन्स्पिरेसि थियोरी'ले प्राय गोप्य षड्यन्त्रहरूको बारेमा विस्तृत जानकारीहरू प्रस्तुत गर्छ। यसको विपरीत, गलत सूचनाले झुटो वा भ्रामक जानकारीको फराकिलो दायरालाई समेट्छ जसमा षड्यन्त्रकारी तत्त्वहरू समावेश हुन पनि सक्छ वा नहुन पनि सक्छ।
उदाहरणका लागि, आरएमआईटी विश्वविद्यालयको फ्याक्ट ल्याब टिमले एउटा कन्सपिरेसि थियोरी बारे अनुसन्धान गरेको छ, जसले कपडामा हुने ट्यागहरूको सट्टामा प्रयोग भएका क्युआर कोडबाट व्यक्तिहरूलाई ट्र्याक र नियन्त्रण गर्ने प्रयास हो भन्ने सुझाव दिएको थियो।
फेसन उद्योगलाई वातावरणमैत्री बनाउनको लागि यो कदम चालिएको भनिए पनि कन्सपिरेसि सी थियोरीले भने विश्व आर्थिक मञ्च, बैङ्कहरू र सरकारले आविष्कार गरेको योजना हो भनी आरोप लगाएको छ।
"यो गलत र झुटो छ। यी कोडहरूले तपाईँलाई वस्तुको बारेमा विवरणहरू बताउँछन्, यो कहाँ बनाइएको थियो, यसलाई सही नीतिगत रूपमा बनाइएको हो, यसलाई कसरी धुने लगायत कपडा विवरणहरू। तर, मानिसहरू तर्क गर्छन् कि यिनीहरूले तपाईँलाई ट्र्याक गर्दै छन्," दासले बताइन्।
गलत सूचनाको प्रभाव
सिड्नीमा रहेका व्यवहार सम्बन्धी वैज्ञानिक डाक्टर ड्यारेन कोपिन भन्छन् कि भाषाको सुरुवात भएदेखि नै गलत जानकारी दिने गरेको पाइन्छ।
समाजमा प्रभाव पारिरहेको यस विषय अहिलेको जल्दो बल्दो मुद्दा हो।
विगतमा हेर्दा मानिसहरूले आफ्नो स्थानीय समुदाय, परिवार र संस्कृतिबाट सत्य, तथ्य, र विश्वासयोग्य सूचना प्राप्त गर्दथे। तर अहिले संसारभरबाट विभिन्न माध्यमबाट सूचना प्राप्त हुन्छन् ।
"क्यानबेरा विश्वविद्यालयको अध्ययन अनुसार, अस्ट्रेलियनहरू भ्रामक सूचनाहरू बाँड्नेमा लागि संसारमै खराब मध्येमा पर्छन्। ८० प्रतिशतले उनीहरूलाई शङ्कास्पद लाग्ने सूचना सेयर गर्छन्। जसले गर्दा झुटा समाचार र गलत जानकारी फैलन नदिन झन् जटिल बनेको छ," कोपिनले बताए।
गलत सूचना फैलँदा सामाजिक, राजनीतिक, र व्यक्तिगत रूपमै कुनै कुरा प्रतिको बुझाइमा महत्त्वपूर्ण असर पार्न सक्छ।।
“जस्तो कि समाजमा पहिल्यै रहेको विचार र विश्वासका बारेमा आउने गलत सूचना वा फेक न्युजले मानिसको व्यवहारमै प्रभाव पार्छ । यसले मानिसहरूले दिने मत र धारणा पनि पार्छ," कोपिनले बताए।
"जस्तो कि कोभिडको समयमा हेर्यो भने पनि धेरै नै गलत सूचनाहरू आएका थिए र विश्व स्वास्थ्य सङ्गठनका महासचिवले सङ्क्रमणको महामारी सँगै सूचनाको महामारी वा इन्फोडेमिकसँग लड्नु परिरहेको बताएका थिए।”
डा. कोपिन मानिसहरूले झूटा समाचारहरू फैलाउन सक्ने कारणहरूको बारेमा बताएका छन्।
फेक न्युजले मानिसको भावनाको अनिश्चिततासँग खेल्छ। मानिसहरू अनिश्चितता मेटाउने प्रश्नहरूको जवाफ खोजिरहेका हुन्छन् र त्यही अन्तर पुरा गर्नको लागि फेक न्युज प्रयोग गरिन्छ। अर्को भनेको मानिसहरूमा धेरै नकारात्मकता छ।डाक्टर ड्यारेन कोपिन, व्यवहार सम्बन्धी वैज्ञानिक
नेपाली समाजमा भने पीआर लगायत अन्य जानकारी, जसले मानिसहरूको ध्यान छिटो लिन सक्छ, यसबारे अलि बढी उतारचढाव गरेर शीर्षक राखेर एक क्लिकका लागि मात्र पनि गलत सामग्रीहरू प्रस्तुत भइरहेको भरतराज पौडेल बताउँछन्।
“समाचारहरूलाई बढाइ चढाइ, रङ्गिन बनाएर देख्ने जसले भ्रम फैलाउने काम गरेको छ। जस्तो कि अस्ट्रेलियाको आप्रवासी नीतिका बारेमा यस्तो उस्तो भनेर केही भ्रम फैलाउने सूचनाहरू आइरहेका हुन्छन्,“ उनले बताए।
मानिसहरूलाई आफ्नो एक पक्षीय विचारधारालाई स्थापित गर्ने उद्देश्यले पनि गलत सूचना प्रतिको आकर्षण बढाउने डाक्टर कोपिनको भनाइ छ।

‘फेक न्युज’ कसरी पत्ता लगाउने र यसबाट कसरी बच्ने?
गलत सूचनाको व्यापकतालाई ध्यानमा राख्दै सही समाचारहरू पत्ता लगाउने र प्रमाणित गर्ने सीपहरू विकास गर्नु महत्त्वपूर्ण छ।
सुशी दास सही र गलत समाचारहरू छुट्टाउने प्रक्रियाबारे यस्तो बताउँछिन् ।
"तपाईँले केही कि वर्ड लाई नयाँ ट्याबमा राख्न सक्नुहुन्छ, र ती कि वर्ड प्रयोग गरेर अन्य चीजहरू खोज्न सक्नुहुन्छ। त्यस्तै यो विषयमा लेखहरू लेखिएको छ कि छैन भनेर वर्ड फ्याक्ट चेकबाट हर्न सकिन्छ," सुशी दासले बताइन्।
"वास्तविक तस्बिर हो कि हो होइन भनेर पत्ता लगाउन गुगलमा राइट क्लिक गर्न सक्नुहुन्छ, र तपाईँले गुगलमा इमेज सर्च विकल्प पाउनुहुनेछ।"
त्यस्तै डाक्टर कोपिन समाचार वा पत्याउन गाह्रो हुने किसिमका सूचना सामाजिक सञ्जालहरूमा सेयर गर्नुभन्दा पहिले यो सही हो या होइन भनेर बुझ्नु पर्ने बताउँछन्।
हरेक पटक कुनै सूचना वा सामाग्री सेयर गर्नु अघि सोचेर मात्र सेयर गर्नुपर्छ किनभने गलत सूचना फैलाउनुमा तपाईँ पनि भागीदार बन्न सक्नुहुन्छ।

भविष्यका प्रवृत्तिहरू
प्रविधिको विकाससँगै गलत सूचनाको फैलने क्रम पनि बढ्दै गएको छ। प्रोफेसर टिमोथी ग्राहमले डिजिटल संसार परिवर्तन भएसँगै भविष्यमा के कस्ता चुनौतीहरू आउन सक्छन् त भन्ने बारे बताएका छन्।
“मेरो विचारमा सबैभन्दा ठुलो चुनौती भनेको एआईले जारी गर्ने सूचना हो, जसमा लेखक समेत उल्लेख गरेर केही विश्वासयोग्य बनाइएको हुन्छ। र चित्रहरू पनि त्यस्तै हुन्छ, एआईबाट आएका चित्र झुक्काउने खालका हुन्छन् ," उनले बताए।
गलत सूचनाको दुनियाँमा आफू भने सधैँ सुसूचित भएर बस्नुपर्छ।
सुशी दासका अनुसार झुटो जानकारीहरूलाई फैलन नदिने प्रभावकारी माध्यम भनेको नै एक आपसमा खुलेर छलफल गर्ने, अपमानजनक शब्दबाट टाढा रहने , र तथ्यपरक जानकारीलाई निरन्तर रूपमा प्रस्तुत गर्ने हो।
त्यस्तै, क्रमिक रूपमा हुने परिवर्तनलाई धैर्यताका साथ सकिनु पनि आवश्यक रहेको उनको भनाइ छ।











