चुनाव भन्दा पाँच हप्ता अगाडीको उक्त बहसका साथ मतदाताहरूलाई आफ्नो भोट कसलाई दिनेबारे निर्णय गर्न सहयोग गर्ने भनिएता पनि केही दिन अगाडीको उक्त पहिलो बहसमा चाहिँ नीतिगत कुराहरू बारे खासै बहस भएन।
तर अमेरिकी राष्ट्रपति को हुने भन्ने कुराले विश्वभर नै असर पर्ने भनाइका माझ पछिल्लो बहसले अन्तर्राष्ट्रिय जगत्मा अमेरिकाको छविलाई कतिको असर पार्ला त?
यसबारे बोल्दै लन्डन स्थित च्याटह्याम हाउस नामक एक अध्ययन केन्द्रमा संयुक्त राज्य तथा अमेरिकी महादेश कार्यक्रमकी निर्देशक लेस्ली भिन्जामुरीले भनिन कि धेरै युरोपेली विज्ञहरूले डोनाल्ड ट्रम्पबाट "कम आसा" गरेता पनि, पहिलो बहसले मानिसहरूलाई झनै दुखित बनाएको हुन सक्छ।
अमेरिकन युनिभर्सिटीको संसदीय र राष्ट्रपतीय मामिला सम्बन्धी अध्ययन निकायका प्रमुख रहेका डेभिड बार्करको भनाइ पनि त्यस्तै रहेको थियो।
डोनाल्ड ट्रम्प र जो बाइडेन बिचको बहस, उनकै शब्दमा "लज्जास्पद" रहेको उनले बताए।
अमेरिकी मतदाताहरूलाई उनीहरूको भविष्यमा महत्त्वपूर्ण रहने समस्याहरूको समाधान कसरी गरिने बारे बहस गर्नुको सट्टा, अराजकता, दुर्व्यवहार र झुटो आरोपहरू लगाउन समय खर्च गरिएको बार्कर बताउँछन्।
बहसको क्रममा दुवै उम्मेदवारहरूलाई प्रश्न गर्ने जिम्मा रहेको थियो पत्रकार जिम वालेसको र उनी पनि ट्रम्प र बाइडेनलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।

राष्ट्रपतीय पदका प्रत्याशीहरू बिच बहस आयोजना गराउँदै आएको आयोग - जुन कुनै राजनैतिक पार्टीसँग आबद्ध रहेको छैन, उक्त आयोगले भविष्यमा हुने बहसहरूमा पछिल्लो अवस्था नदोहरिएको सुनिश्चित गर्न बहसका केही नियम परिवर्तन गर्ने योजना बनाएको छ।
यसै क्रममा पहिलो बहसमा आफ्नो जीत भएको बताउँदै डोनाल्ड ट्रम्प ले आफू दोस्रो बहसको लागि पनि तयार रहेको बताएका छन् तर नियमहरूमा कुनै परिवर्तन गरिन नहुने उनको धारणा छ।
साथै जो बाइडेन ले आगामी बहसमा सहभागी हुन नचाहेको पनि उनले दाबी गरे।

बाइडेनले चाहिँ आगामी बहसमा आफ्नो सहभागिता रहने र त्यस बेला चाहिँ डोनाल्ड ट्रम्पले प्रश्नहरूको जवाफ दिने आफूले आशा गरेको बताएका छन्।
तर अमेरिकी मतदाताहरुले चाहिँ डोनाल्ड ट्रम्प र जो बाइडेन बिचको पहिलो बहसबारे के सोचे त?
मिसिगन राज्यका केही बासिन्दाहरूको भनाइ सहितको प्रस्तुति सुन्न पेज माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
दोस्रो चरणको राष्ट्रपतीय बहस आगामी अक्टोबर १६ तारिख हुने कार्यक्रम छ।





