मोरिसन सरकारद्वारा राष्ट्रिय ब्रोडब्याण्ड संरचनामा सुधार गर्ने केही दिन अघि गरिएको घोषणाका साथ अबको केही वर्षमा थप लाखौँ मानिसहरूले अत्यधिक गतिको इन्टरनेट सेवा प्रयोग गर्न सक्ने बताइएको छ।
उता विपक्षी लेबर पार्टीले सरकारको यो कदम १० वर्ष ढिलो भएको आरोप लगाउँदै गर्दा भने केही विज्ञहरूले चाहिँ इन्टरनेट शुल्क झनै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
सरकारको पछिल्लो निर्णयका साथ राष्ट्रिय ब्रोडब्याण्ड सञ्जाल वा नेशनन ब्रोडब्याण्ड नेटवर्क (एनबीएन) संरचना सुधारका लागि ४.५ अर्व डलर लगानी गरिने छ जसबाट सन् २०२३ सम्ममा देशभर रहेका ७५ प्रतिशत घर र व्यवसायहरूले एक गिगाबिट प्रति सेकेन्डको गतिसम्मको इन्टरनेट सेवा प्रयोग गर्न पाउने बताइएको छ।
यसको लागि मानिसहरूका दैलोसम्म नै फाइबर केबल जडान गरिने बताउँछन् सङ्घीय सञ्चार मन्त्री पल फ्लेचर।
सरकारको यो निर्णय, संरचना विकासको तार्किक कदम भएको पनि उनको भनाइ छ।

हाल जडान भएका एनबीएन प्रणालीमा मानिसहरूका घरसम्म नभई, घर छेउका सडकहरुसम्म फाइबर केवल जडान गरिने र त्यहाँ रहेको फोन लाइनको नोडदेखि घरको दैलोसम्म चाहिँ सामान्य फोन लाइनका लागि प्रयोग गरिने तामाको तार प्रयोग गरिन्छ, जुन फाइबर तार जतिको उपयुक्त नभएको बताइएको छ।
तर, ब्रोडब्याण्ड सम्बन्धी सरकारको पछिल्लो घोषणाको विपक्षी लेबर पार्टीले कडा आलोचना गरेको छ।
सरकारले अहिले गरेको घोषणा सन् २००९ मै लेबर पार्टीले गरेको तर सन् २०१३ मा तत्कालीन गठबन्धन सरकारले उक्त योजना नअपनाउने घोषणा गरेको हो।
आफ्नो योजनाले ब्रोडब्याण्ड सेवालाई चाँडो र सस्तोमा उपलब्ध गराउने सरकारले त्यस बेला बताएको थियो।
लेबरकी छाया सञ्चार मन्त्री मिशेल रोल्याण्ड भन्छिन्, "गठबन्धनले अस्ट्रेलियालीहरूलाई गत सात वर्ष भन्दा बढी समय देखि झुटो बोल्दै आएको पुष्टि भएको छ।"
अस्ट्रेलियाली उपभोक्ता र व्यवसायहरूका इन्टरनेट प्रयोग बारे सरकारले बुझ्न नसकेको समेत उनले आरोप लगाइन।

पूर्व लेबर प्रधानमन्त्री केभिन रडले पनि मानिसहरूका घर सम्मै फाइबर केवल जडान पहिले नै गरिसक्नु पर्ने बताएका छन्।
एबीसीसँग कुरा गर्दै उनले भने, "एनबीएनमा सुधार गर्ने निर्णय प्रति मोरिसन सरकारको प्रशंसा गर्नुपर्ने कुनै कारण रहेको छैन।"
सरकारले अस्ट्रेलियाली कर दाताहरूको पैसा खेर फ्याल्नुका साथै पूर्वाधार निर्माणमा पनि बाधा सिर्जना गरेको रडको भनाई छ।

केही विज्ञहरूले पनि एनबीएन जडान प्रक्रियाको लागि जरुरत भन्दा बढी खर्च भैसकेको र आगामी दिनहरूमा उपभोक्ताहरूले इन्टरनेट प्रयोगका लागि झनै बढी शुल्क तिर्नुपर्ने अवस्था आउने चिन्ता पनि व्यक्त गरेका छन्।
मेलबर्न स्थित आरएमआईटी विश्वविद्यालयका दूरसञ्चार सम्बन्धी विज्ञ मार्क ग्रेगरीले राष्ट्रिय ब्रोडब्याण्ड नेटवर्कमा हुने सुधारबाट समुदायमा प्राविधिक विभाजनलाई झनै बढ्न सक्ने बताएका छन्।
उनका अनुसार उच्च गतिका इन्टरनेट प्रयोगका लागि शुल्क तिर्न सक्ने मानिसहरूलाई मात्र यसले फाइदा पुर्याउन सक्ने सम्भावना रहेको छ।
अहिले १०० मेगाबिटसम्मको इन्टरनेट गति उपभोग गर्न ८० डलर तिर्ने मानिसहरूले संरचना सुधार पछि त्यसको लागि १०० डलरसम्म तिर्नुपर्ने हुनसक्ने ग्रेगर बताउँछन्।
सरकारले चाहिँ एनबीएन कम्पनी (एनबीएनको)ले ग्रामीण क्षेत्रहरूमा पनि फाइबर इन्टरनेट सेवा प्रदान गर्दै, स्थानीय व्यवसायहरूलाई पनि धेरै सहयोग पुग्ने बताएको छ।
एनबीएन बारे एसबीएसको पुरानो भिडियो रिपोर्ट:





