काइली सार्डिन्हा ४८ बर्सकी मात्र थिइन् जति बेला उनलाई गम्भिर हृदयाघात भयो ।
उनी जवान थिइन, स्वस्थ देखिन्थिन र कुनै प्रारम्भिक लक्षणहरू पनि देखिएका थिएनन्।
सन् २०१७ मा ब्रिसबेनमा आयोजित एक साङ्गीतिक कार्यक्रममा रमाइलो गरिरहेका बेला सार्डिन्हालाई आफ्नो पाखुरा हुँदै शरीर भरी सहनै नसकिने गरी गाह्रो हुन थाल्यो र आफ्ना श्रीमान् सहित उनले त्यहाँका कर्मचारीहरूसँग मद्दत मागिन्।
तत्कालै उनलाई अस्पताल पुर्याइयो र पछि के भएको रहेछ भन्ने थाहा पाएपछि उनलाई पत्याउनै मुस्किल पर्यो।
अस्पतालमा पुगेपछी सार्डिन्हा दम्पतीलाई डाक्टरले स्थिती निकै गम्भिर रहेको र तत्काल शल्यक्रिया गर्नुपर्ने कुरा सुनाए।
"हामीलाई त छानाबाट खसे जस्तै भयौं," उनले भनिन्।

हृदयघात आजका दिनमा पनि अस्ट्रेलियामा मानिसहरूको मृत्युको मुख्य कारण बन्दै आएको छ।
यसै गरी मुटु सम्बन्धी नै अन्य विभिन्न रोगहरू एक चौथाइ अस्ट्रेलियालीहरुको मृत्युको कारक बनिरहेको छ ।
तथ्याङ्कहरूका अनुसार, अस्ट्रेलियामा सन् २०१८ मा ५८ हजार ७ सय जनामा हृदयाघात र अस्थिर एन्जीना वा कोरनरी सम्बन्धी मुटुका गम्भीर घटनाहरू भएको देखिएको थियो र २८ वर्ष माथिका करिब ३८ हजार ६ सय मानिसमा स्ट्रोक अर्थात् मस्तिष्कघात भएको बताइएको छ ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा प्रत्येक दिन सरदर १६१ वटा हृदयाघात र एक सयको हाराहारीमा मस्तिष्कघातका घटनाहरू हुने गरेका छन् ।
अस्ट्रेलियन इन्स्टीच्यूट अफ हेल्थ एन्ड वेलफेयरले अस्ट्रेलिया मुटु सम्बन्धी रोगका पछिल्ला तथ्याङ्कहरू सङ्कलन गर्ने गरेको छ ।
उक्त संस्थामा कार्यरत रिर्चाड जुक्स भन्छन् कि मुटु र मुटुका धमनी सम्बन्धी रोगका कारण सन् २०१९ मा मात्र ४२ हजार ३ सय मानिसले ज्यान गुमाउन पुगेका छन् ।

“मुटु, मस्तिष्कघात र रक्तनली सम्बन्धी रोग” नामक उक्त रिर्पोटमा अस्ट्रेलिया तथ्याङ्क विभागसँग रहेका नवीनतम तथ्याङ्कहरूलाई समावेश गरी बिश्लेषण गरिएको छ ।
उक्त रिर्पोटमा मुटु वा रक्तनलीले पार्ने स्वास्थ्य सम्बन्धी ६२ प्रतिशत समस्याहरू परिवर्तन हुन सक्ने कारणहरूमा निर्भर गर्ने पाइएको छ ।
अनि अनुमानहरूका अनुसार करिब १२ लाख अस्टेलिायालीहरुमा मुटु सम्बन्धी रोगको कारक मानिएका अस्वस्थता छ।
जुक्सका अनुसार केही अस्ट्रेलियाली समुदाय बाँकी रहेका अन्य समुदायहरूभन्दा बढी नै खतरामा रहेका छन्।
"आदिवासी अस्ट्रेलियालीहरुको मात्रै कुरा गर्ने हो भने पनि अन्यको तुलनामा उनीहरुमा मुटु सम्बन्धि रोग लाग्न सक्ने दोहोरो सम्भावना छ," उनले भने।
सुखद समाचार पनि छन्

तर यी खराब समाचारका बिचमा पनि केही सुखद समाचार छन्।
जनसङ्ख्यामा बढोत्तरीका बाबजुद पनि सन् १९८० यता मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने सङ्ख्यामा भने नाटकीय गिरावट देखिएको छ ।
सन् १९८० देखि सन् २०१९ सम्मको आँकडा हेर्ने हो भने मुटु सम्बन्धी रोगका कारण हुने मृत्युदरमा २२ प्रतिशतले कमी देखिएको छ ।
सोही अवधिमा मस्तिष्कघातका कारण हुने मृत्युमा पनि ३० प्रतिशतको कमी आएको छ ।
सङ्ख्यात्मक हिसाबमा भन्ने हो भने प्रत्येक एक लाख पुरुषमा, मुटु सम्बन्धी रोगका कारण हुने ७ सय ५० मृत्यु घटेर डेढ सयसम्म पुगेको छ भने महिलाहरूको हकमा चाहिँ प्रत्येक एक लाख जनसङ्ख्यामा ४५२ मृत्यु वर्षेनी हुने गरेकोमा अब यो सङ्ख्या १०७ मा झरेको छ।
अबको केही वर्षहरूमा अस्ट्रेलियालीहरुको मृत्युको मुख्य कारण मुटु रोग नबन्न सक्ने पनि जुक्सको भनाई छ।

"हाल देखिएको क्रम जारी नै रह्यो भने अब छिट्टै डिमेन्सिया अस्ट्रेलियालीहरूको मृत्युको प्रमुख कारकतत्व बन्ने छ," उनले भने।
धूम्रपान जस्ता जोखिमयुक्त कारणहरूको कमी र पछिल्लो समय भइरहेका अनुसन्धान, उपचार र व्यवस्थापन जस्ता कुरामा सुधार आउँदा यस्तो गिरावट आएको हो।
बिल स्टाभरेस्की अस्ट्रेलियन हार्ट फाउन्डेसनसँग आबद्ध छन् ।
उनी भन्छन् कि बितेका बर्षहरूमा उपचारका क्षेत्रमा धेरै सुधार भएका छन् र यसले हृदयाघात र मस्तिष्कघातबाट बच्ने दर बढाएको छ ।
र यता काईली सार्डिन्हाका लागि हृदयाघातको त्यो नमिठो अनुभव उनको शरीर र दिमागमा रही रहनेछ ।
उनी मुटु सम्बन्धी समस्यालाई हल्का रूपमा नलिन सबैलाई आग्रह गर्छिन्।
"हेर्नुस्, आफ्नो मुटुलाई माया गर्नुपर्छ। यो तपाईँको पुरै शरिरको इन्जिन हो र यो बिना बाँच्न सकिन्न," उनले भनिन्।
"तपाईँको उमेर बढ्दै जाँदा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनु एकदमै जरुरी छ।"






