यौन शिक्षा, अभिभावकहरूलाई आफ्ना बालबालिकासँग कुरा गर्ने सबैभन्दा चुनौतीपूर्ण विषयहरू मध्य एक हो। अस्ट्रेलियाली विद्यालयहरूमा यौन स्वास्थ्यको बारेमा व्यापक रूपमा पढाइन्छ, र अभिभावकहरूले आफ्नो लाज र अप्ठेरो पन हटाउन विभिन्न स्रोत साधनहरू पाउन सक्छन्। यस विषयमा आफ्ना बालबालिकासँग कसरी कुरा गर्ने भन्ने बारे अभिभावकका लागि विज्ञहरूको सल्लाह कस्तो छ त?
मुख्य बुँदाहरू:
- अस्ट्रेलियाका विद्यालयहरूमा प्रिस्कूलदेखि कक्षा १२ सम्म यौन स्वास्थ्य पढाइन्छ
- बाल विकास सिद्धान्त अनुसार उमेर-उपयुक्त विषयहरू सिकाइन्छ
- अभिभावकहरूलाई समयमै बालबालिकासँग यौन स्वास्थ्य बारे कुरा गर्न विज्ञहरूको सल्लाह
- अस्ट्रेलियामा यौन शिक्षाको व्यापक उपलब्धता भए तापनि धेरै किशोर किशोरीहरूले इन्टरनेट, आफ्ना साथीहरू वा जीपीबाट जानकारी प्राप्त गर्ने
यौन स्वास्थ्य हरेक व्यक्तिको समग्र जीवन र समृद्धिको अभिन्न अङ्ग हो। यो यौन, गर्भाधान र गर्भावस्थासम्म मात्र सीमित छैन।
यौन शिक्षाले बाल विकासका मुख्य पक्षहरू, जस्तै वयस्कता, सरसफाइ र आत्मीयता तथा स्नेहको भावनालाई समावेश गर्दछ।
त्यस्तै, सकारात्मक र स्वस्थ सम्बन्ध कायम राख्न पनि यसले आधारशील भूमिका निभाउँदछ।
अस्ट्रेलियाका विद्यालयहरूमा प्रिस्कूलदेखि कक्षा १२ सम्म यौन स्वास्थ्य पढाइन्छ।
बाल विकास सिद्धान्तमा आधारित यस राष्ट्रिय पाठ्यक्रम, मानव विकासका शारीरिक, भावनात्मक र मनोवैज्ञानिक चरणहरूलाई ध्यानमा राखेर बनाइएको छ।
रेनी वेस्ट न्यु साउथ वेल्सको शिक्षा विभागमा माध्यमिक शिक्षा सल्लाहकार हुन्। अस्ट्रेलियाको पाठ्यक्रम अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्डअनुसार निर्माण गरिएको उनको भनाइ छ ।
विद्यार्थीहरूले के, कहिले पढ्छन्?
किन्डरगार्टेनका बालबालिकाहरूलाई शरीरका अङ्ग र तिनका कार्यको बारेमा सिकाइन्छ। र कक्षा बढ्दै जाँदा, गर्भधारण र गर्भावस्थाको बारेमा पढाइन्छ।
जब विद्यार्थीहरू भावनात्मक विकासका साथ किशोरावस्थामा पुग्छन्, तब उनीहरूलाई सम्बन्ध, सहमति र घनिष्ठताको बारेमा पढाइन्छ।

वेस्टले बताइन् कि शिक्षकहरूले पाठ्यक्रमलाई विद्यालयको सांस्कृतिक र धार्मिक मान्यता अनुसार छाँटकाँट गर्दछन्। त्यस्तै, समुदायको विविधता र समावेशीकरणका मूल्य मान्यतालाई पनि ध्यानमा राखिन्छ।
न्यु साउथ वेल्सका विद्यालयहरूले यौन सम्बन्धी विषय कहिले र कसरी पढाउने भन्ने कुरा सामान्यतया अभिभावकहरूलाई सूचित गर्छन्। घरमा कुरा नगरिने विषयहरूको बारेमा विद्यालयमा कुरा गरिन्छ।

क्याथी जमाइटिस न्यु साउथ वेल्सको शिक्षा विभागमा माध्यमिक तहका लागि पाठ्यक्रम निर्देशकको रूपमा कार्यरत छिन्।
यौन र सम्बन्धित विषयको बारेमा कुरा गर्न अभिभावकहरूले घरमा सुरक्षित वातावरण प्रदान गर्नु पर्ने उनी बताउँछिन्।
जीपीको मद्दतको आवश्यकता
डाक्टर मगाली बरेरा अस्ट्रेलियाको सबैभन्दा बहु सांस्कृतिक सबअर्ब वेस्टर्न सिड्नीमा ३० वर्षदेखि जीपीको रूपमा कार्यरत छिन्।
बाल स्वास्थ्य विशेषज्ञ रहेकी डाक्टर बरेरा बताउँछिन् कि, दुर्भाग्यवश अधिकांश किशोर किशोरीहरू घरमा यौनको बारेमा कुरा गर्ने वातावरण नपाउँदा एक्लै सल्लाह माग्न आउँछन्।
प्रायः यस्तो - गर्भ निरोधक उपायका बारेमा सोध्न आउने किशोरीहरूको खण्डमा हुने उनले बताइन्।

डाक्टर बरेरा बताउँछिन् कि अधिकांश अभिभावकहरू केही निश्चित समय पछि मात्र यौन स्वास्थ्यको बारेमा कुरा गर्न आफ्ना बालबालिकासँग आउने गरेका छन् - जस्तै किशोरीहरूको पहिलो महिनावारी पछि वा किशोरहरूको पहिलो स्वप्नदोष पछि।
यस्तै आफ्नो छोराछोरीले हस्तमैथुन गर्न र किशोरावस्था सम्बन्धित अन्य समस्याहरू देखिन थालेपछि मात्र अभिभावकहरू यौन बारे कुरा गर्न सुरू गर्ने उनको भनाई छ।
यस्तो मौकामा यौन स्वास्थ्यको बारेमा खुला किसिमले छलफल गर्न डा बरेराको सल्लाह छ।
तर केही परिवारका धार्मिक मान्यताको विरुद्ध बोल्नु पर्ने जस्ता चुनौती पनि हुन्छन्।
यसको लागि उनले सम्मानजनक रहेर, वैज्ञानिक जानकारी र मानव अङ्गको आकारमा बनाइएका सर सामाग्री प्रयोग गरेर कुराहरू बुझाउने गरेको बताइन्।
अभिभावकहरूले अप्ठेरो नमानीकन कसरी यौन स्वास्थ्यको बारेमा कुरा गर्न सक्छन् ?
डाक्टर बरेरा सल्लाह दिन्छिन् कि कुराहरू सरल र सत्य रूपमा बताउनु नै सबैभन्दा उचित हुन्छ।
द राइजिङ चिल्ड्रेन एक सरकारी आर्थिक सहायतामा सञ्चालित स्वतन्त्र संस्था हो, जसले अभिभावकहरूका लागि अनलाइन श्रोत साधनहरू प्रदान गर्दछ।
उक्त संस्थाको वेबसाइटमा अभिभावकहरूले आफ्ना बच्चाहरूसँग यौन स्वास्थ्यको बारेमा उमेर-उपयुक्त कुराकानीहरू कसरी गर्ने भन्ने बारे व्यापक जानकारी उपलब्ध छन्।
अभिभावकहरू यस विषयमा पहिले नै जानकार भएर तयार रहनुपर्ने प्रमुख डेरेक म्याककोर्म्याक सुझाव दिन्छन्।





