मुख्य बुँदाहरू
- घर डिजाइनका 'प्रोजेक्ट' र 'आर्किटेक्चरल' गरि दुई वटा विकल्प हुन्छन्।
- साइज र के कस्तो अपग्रेड गरिएको छ भन्ने कुराले घर निर्माणको खर्चलाई बढाउँछ।
- आफ्नो घर आफैँले निर्माण गर्न पनि तपाईँले आवेदन दिन सक्नु हुन्छ।
हरेक वर्ष अस्ट्रेलियामा धेरै मानिसहरूले मेरो घर भन्ने सपनालाई साकार गर्छन्, तर केहीलाई पहिले नै बनिसकेको घर खासै चित्त नबुझ्ने हुन सक्छ।
उनीहरूको आफूले सोचेको जस्तो डिजाइनमा त्यही अनुसारका सामाग्री र सुविधाहरू राखेर सुरुदेखि नै घर निर्माण गर्ने चाहना हुनसक्छ।
जस्टिन हिल अस्ट्रेलियाको एक घर निर्माण कम्पनी जेएसएच प्रोजेक्स्ट्सका प्रमुख कार्यकारी अधिकृत हुन्।
उनी खालि जग्गा किनिसकेपछि के गर्नु पर्छ भन्ने बारे बताउँछन्।
“तपाईँले विकास आवेदनहरू, निर्माण प्रमाणपत्रहरू प्राप्त गर्न, निर्माणकर्ता निश्चित गर्न, र त्यसपछि जग्गाको त्यो ब्लकमा डिजाइन गर्नुभएको घर निर्माण गर्न सबै स्वीकृतिहरू लिनु पर्छ।“
आर्थिक पक्षमा कसरी काम गर्ने?
जग्गा किन्न र घर बनाउन आवश्यक रकम जम्मा गरेर राख्दा सम्पूर्ण प्रक्रिया सजिलो हुन्छ।
सन्दिप नगडिया सिड्नीमा रहेको सेन्ट्रम फाइनान्स सलुसन्सका मोर्गेज ब्रोकर हुन्। र उनी यी दुवैका लागि एकै साथ ऋणको लागि आवेदन हाल्न सुझाव दिन्छन्।
"जग्गा र घर निर्माणको ऋण आवेदन सँगै दिन सक्छौँ। उदाहरणका लागि, यदि तपाईँसँग निर्माण सम्झौता, भवन निर्माण अनुमति, र अन्य सबै कागजातहरू छन् भने, बैङ्कले तपाईँलाई पूर्ण स्वीकृति दिनेछ।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नगडिया कनट्र्याक्ट राख्नु पर्ने कुराहरूबारे सुझाव दिदैँ एउटा प्रावधान राख्नु महत्त्वपूर्ण हुने बताउँछन्।
जुन प्रावधानले यो प्रक्रियामा हुने खर्च निश्चित समयसम्म थपघट नहुने सुनिश्चित गर्छ।
र यसो गर्दा कुनै समयमा मूल्यमा अप्रत्याशित वृद्धि भयो भने त्यसले तपाईँलाई असर पार्दैन।
"तपाईँले फिक्स्ड-प्राइस बिल्डिङ सम्झौता गरेको सुनिश्चित गर्नुहोस्। निश्चित मूल्यमा निर्माण ठेक्का सम्झौता गर्नु भन्नाले घर बनाउने ठेक्कामा १२० दिन वा छ महिनाको समयसम्म मूल्य बढाउनु हुँदैन भन्ने बुँदा सधैँ राख्नुपर्छ।"

तपाईँले जग्गा किन्ने काम सक्काए पछि अर्को महत्त्वपूर्ण कुरा भनेको घर बनाउन लाग्ने खर्च निर्धारण गर्नु हुन्छ।
हिल भन्छन्, परियोजना अपेक्षा गरेको बजेट भित्र नै राख्नको लागि निर्माण व्यवसायी वा बिल्डरसँग विस्तृत छलफल हुनु आवश्यक हुन्छ।
यसो गर्दा अनुमान नै नगरिएको खर्च आउँदैन भने निर्माण कार्य पनि सहज तरिकाले अगाडी बढ्छ।
कुन बिल्डर छान्ने?
सामान्यतया अस्ट्रेलियामा दुई प्रकारका होम बिल्डर हुन्छन्: परियोजना निर्माणकर्ता जसलाई 'प्रोजेक्ट होम बिल्डर' भनिछ भने अर्को भनेको 'आर्किटेक्चर होम बिल्डर' वा वास्तुकला घर निर्माणकर्ता हुन्।
हिल यसलाई बुझ्ने गरि व्याख्या गर्छन्, "एक प्रोजेक्ट बिल्डरहरूमा, उनीहरूको वेबसाइटमा पहिले नै घरको नक्सा वा डिजाइनहरू हुनेछन् जुन उनीहरूले तपाईँ समक्ष ल्याउन सक्छन्।"
प्रोजेक्ट अन्तर्गत प्रस्तुत गरिएका विकल्पहरूमध्ये आफ्नो जग्गामा मिल्दो डिजाइनलाई तपाईँले रोज्न सक्नु हुन्छ।
तर आर्किटेक्चर बिल्डरसँग भने त्यस्तो डिजाइन वा नक्सा पहिले नै बनिसकेको हुँदैन।
"जब तपाईँ आर्किटेक्चर होम बिल्डरकोमा जानुहुन्छ, तपाईँले त्यो घर आर्किटेक्चरसँग र अझ त्यो भन्दा राम्रो भनेको बिल्डरसँग बसेर डिजाइन गर्नुहुनेछ", हिल भन्छन्।
परियोजनामा भएको घर वा आर्किटेक्चरसँग बसेर डिजाइन गरेको घर, तपाईँले जे रोजे पनि जति ठुलो घर हुन्छ त्यति नै धेरै खर्च हुने कुरा भने बुझ्नुपर्छ।
त्यसैले घर कति ठुलो छ भन्ने कुराले यसको निर्माण खर्चमा ठुलै प्रभाव पार्छ।

तर तपाईँको भविष्यको घर बनाउँदा हुने खर्च बढाउनेमा आकारको मात्र भूमिका हुँदैन।
घर तथा यसमा प्रयोग हुने सामाग्रीहरू अपग्रेड गर्दा पनि खर्च बढ्ने गरेको पाइन्छ।
प्रोजेक्ट बिल्डरहरूले दिएको घरको डिजाइन र योजनाहरूलाई मानेर त्यही अनुसार अगाडी बढेमा स्वीकृति पाउने प्रक्रिया सजिलो हुन्छ भने निर्माण कार्य पनि छिटो र तुलनात्मक रूपमा कम खर्चमा सम्पन्न हुन्छ।
यसको अर्थ पहिले नै डिजाइन गरिएको घर छान्दा यसले प्रक्रियालाई सजिलो बनाउने र समय र पैसा पनि कम खर्च हुने हिलको भनाइ छ।
आर्किटेक्चर घरहरू प्रोजेक्ट घर भन्दा महँगो हुने भए पनि यसमा सुरुदेखि नै तपाईँको सोच र डिजाइन रहेको हुन्छ।
यसको अर्थ घर बनाउँदै जाँदा थप केही परिवर्तन वा अपग्रेड गर्नु पर्ने कुराहरू खासै नहुने हुँदा यसबाट हुने खर्च भने कम हुन्छ।

आफैँले चाहिँ बनाउन पाइँदैन?
माथि उल्लेख गरिएका त भए परम्परागत निर्माणकर्ता वा बिल्डरहरू।
तर तपाईँको घर निर्माण गर्न यस्ता परम्परागत निर्माणकर्ताहरूसँग काम गर्नुको अतिरिक्त, तपाईँले मालिक-निर्माणकर्ताको भूमिका लिने विकल्प पनि रहेको छ।
यसका लागि ओनर-बिल्डर लाइसेन्स भनिने आफ्नो घर आफैँले बनाउन पाउने अनुमति पत्र प्राप्त गर्नु पर्छ।
तपाईँलाई निर्माण प्रक्रियाको लागि विभिन्न ट्रेडहरूको पर्यवेक्षण र समन्वय गर्ने अधिकार प्राप्त हुन्छ।
हिल भन्छन् यसले परियोजनामा बढी नियन्त्रण प्रदान गर्छ र बचतको सम्भावना पनि बढ्न सक्छ।
“यो अनुमति प्राप्त गरे पनि तपाईँले योग्य ट्रेडहरूसँग सम्झौता गरिरहनु पर्छ। तर तपाईँ ओनर-बिल्डर पर्मिट अन्तर्गत सोल बिल्डर पनि हुन सक्नु हुन्छ, यसमा भने तपाईँले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक आवेदन हाल्नु पर्छ।"
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au
मा इमेल पठाउनु होस्।







