मुख्य बुँदा:
- पर्सनल लोन निकाल्दा, तपाईँको आफ्नो परिस्थिति, ऋणको प्रकार र ऋण दिने संस्थाका आधारमा ब्याजदर कति पर्छ भन्ने निर्धारण हुन्छ।
- क्रेडिट स्कोरले तपाईँले लिएको ऋणको जिम्मेवारी सही ढङ्गले पुरा गर्न सक्नुहुन्छ वा हुँदैन भन्ने कुरालाई इङ्गित गर्छ।
- ऋण दिने संस्थाहरूले अस्ट्रेलियाको 'क्रेडिट हिस्ट्री'मा ध्यान दिन्छन्।
'पर्सनल लोन' भनेको, निश्चित ब्याजदरमा निश्चित समय भित्र बुझाउँछु भनेर बैंक तथा वित्तीय संस्थाबाट लिएको रकम हो।
सामान्यतया मानिसहरूले कार किन्न, छुट्टी मनाउन, विवाहका लागि, आफ्नो अन्त कतै भएको ऋण व्यवस्थापन गर्न वा अन्य कुनै खर्चलाई व्यवस्थापन गर्नका लागि यस्तो किसिमको ऋण निकाल्ने गर्दछन्।
एसिक्स मनिस्मार्ट टिमका एन्ड्रु ड्याडसवेल, पर्सनल लोनले निश्चित अवधि भित्र आफ्ना खर्चहरूका व्यवस्थापन गर्न सजिलो बनाइदिने बताउँछन्।
तर योसँग जोडिएका अन्य केही पक्षका बारेमा पनि जान्न जरुरी रहेको उनको भनाई छ।
“यसको नकारात्मक पक्ष भनेको यसमा शुल्कहरू जोडिएका हुन्छन्, अनि उनीहरूले व्याज लगाउँछन्।” ड्याडसवेल बताउँछन्।
आर्थिक सल्लाहकार विश्वास भट्टराई पर्सनल लोनमा कुनै पनि ग्यारेन्टी नहुने भएकाले महँगो पर्न जाने बताउँछन्।
“पर्सनल लोनहरूमा पनि कति चाहिँ , सेक्योर्ड लोन भन्ने हुन्छ, जसमा कार वा कुनै भेहीकलहरु ग्यारेन्टी गर्न सकिन्छ, आफूसँग भएको होस् वा नयाँ लिँदै गरेको, यस्तोमा रेट अलिकति बेटर हुन्छ,” भट्टराई भन्छन्।
“पर्सनल लोनमा एभरेजमा १५ देखि १८ पर्सेन्ट इन्ट्रेस्ट हुन्छ, नेगोसिएट गर्न सक्नुहुन्छ भने, अल्वेज ए गुड आइडिया, अर्को कुरा सर्भिस फि, मन्थ्ली फीहरू बारेमा विचार गर्नुपर्छ।”
पर्सनल लोनका लागि को योग्य हुन्छ?
पर्सनल लोन निकाल्नका लागि, तपाईँको उमेर १८ वर्ष पुगेको हुनु पर्छ भने, अस्ट्रेलियन नागरिक या त स्थायी बासिन्दा हुनुपर्छ।
“अस्थायी भिसामा रहेकाहरूले पनि पर्सनल लोन निकाल्न सक्छन्, तर यसका लागि केही थप आवश्यताहरु रहन्छन्।” ड्याडसवेल भन्छन्।
ऋण दिने संस्थाहरूले आवेदकहरूले पहिलेका लोनहरूलाई कसरी व्यवस्थापन गरेको छ भनेर अस्ट्रेलियन क्रेडिट हिस्ट्रीमा मात्र सरोकार राख्ने बताइन्छ।
उनीहरूले रोजगारी सम्बन्धी जानकारी, परिचय पत्र, सम्पत्ति, ऋण र क्रेडिट कार्डहरूको बारेमा जानकारी माग्छन्।
उनीहरूले 'क्रेडिट स्कोर'हरू पनि हेर्ने गर्छन्।

'क्रेडिट स्कोर' भनेको के हो त?
फाइन्डर भन्ने संस्थामा पर्सनल फाइनान्स एक्सपर्टका रूपमा कार्यरत एमी ब्राड्नी–जोर्ज क्रेडिट स्कोर, अस्ट्रेलियामा कुनै एक व्यक्तिले गर्ने ऋण धनको सारांश जस्तै भएको बताउँछिन्।
“तपाईँको क्रेडिट स्कोर भनेको शून्यदेखि एक हजारसम्म, तपाईँलाई दिइएको नम्बर हो, जसले तपाईँले आफ्नो ऋणहरूको व्यवस्थापन कसरी गर्नु हुन्छ भन्ने बारेमा जानकारी दिन्छ।”
क्रेडिट स्कोरमा कम नम्बर हुनु भनेको, ऋणदिनेहरुलाई जोखिम हो र यसै कारण उनीहरूले बढी ब्याजदर लगाउँछन्एमी ब्राड्नी–जोर्ज
“यदि कुनै कारणवश ऋणको किस्ता समयमै तिर्न नसकेको खण्डमा नम्बर पनि घट्दै जान्छ।”
यदि धेरै ऋण दिने संस्थामा एकै पटक आवेदन दिँदा पनि तपाई आर्थिक तनावमा हुनुहुन्छ भन्ने अर्थ राख्छ र यस कारण पनि क्रेडिट स्कोर कम हुन जान्छ।

कस्ता खालका पर्सनल लोनहरू उपलब्ध छन् त?
ऋण दिने संस्था, ब्याजदर, शुल्क, आवश्यक कागजात र ऋण सम्बन्धी नियमहरू तुलना गरेर, पर्सनल लोनका लागि आवेदन दिन सकिन्छ।
द मनि स्मार्ट वेबसाइटले पर्सनल लोन क्यालकुलेटर सेवा उपलब्ध गराएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न खाले पर्सनल लोनहरू उपलब्ध गराउँछन्।
“बैंक तथा अस्ट्रेलियाका म्यूचल्सहरु, मानिसहरूले ऋणमा पहुँच पाउन भन्नका लागि, उधारो वा ऋण सम्बन्धी नियमहरूबाट बाँधिएका हुन्छन्,” लेन्डर हेरीटेज एन्ड पिपुल्स च्वाईसका पल फार्मर भन्छन्।
“बैंक बाहेकका ऋण प्रवाह गर्ने संस्थाहरू आफ्ना निमयहरुमा लचिलो हुने भए पनि, ब्याजदर वा अन्य शुल्कहरू भने बढी लिन सक्छन्।”
सामान्यतया पर्सनल लोनका दुई किसिम हुन्छन्
- सेक्युर्ड– यस्तो खालको पर्सनल लोनमा सामान्यतया संस्थाहरुले तपाईँले किन्न खोजेको सामान जस्तै कि कार जस्ता वस्तुहरूलाई धरौटीका रूपमा राख्छन्। यदि कुनै कारणले तपाईँले समयमै किस्ता तिर्न सक्नु भएन भने उनीहरूले यही सामान बेचेर आफ्नो पैसा असुल उपर गर्छन्।
- अनसेक्युर्ड लोन– यसमा चाहिँ कुनै धरौटीको आवश्यक हुदैन तर ब्याजदर र शुल्कहरू चाहिँ महँगो पर्न जान्छ।
फार्मरका अनुसार यस्ता ऋण लिँदा, सीमित मात्र रकम लिन सकिन्छ।
“यस्ता ऋणहरू २,००० डलरदेखि २०,००० डलरसम्म हुन सक्छ।”
पर्सनल लोनका लागि कसरी आवेदन दिने
सामान्यतया, आफूले ऋण निकालेर यसका रिपेमेन्टहरु व्यवस्थापन गर्न सक्छु भन्ने लाग्यो भने, आफूलाई उचित लागेको बैंक तथा वित्तीय संस्थामा अनलाइन मार्फत आवेदन हाल्न सकिन्छ।
यस्ता आवेदनहरू अस्वीकृत भए भने यसलाई सामान्य नै मानिन्छ।
“संस्थाहरूले आवेदन माथि मूल्याङ्कन गर्दा, तपाईँको आम्दानी, रिपेमेन्टका लागि पर्याप्त छ कि छैन भनेर विचार गर्छन्,” ब्राड्नी–जोर्ज भन्छिन्।
“तपाईँको आम्दानी नियमित छ कि छैन, कतिसमयदेखि उक्त जागिरमा छ, यस्ता कुराहरूमा पनि उनीहरूले ध्यान दिन्छन्।”

आफ्नो रिपेमेन्टलाई व्यवस्थापन गर्न सकिएन भने के हुन्छ त?
सामान्यतया समयमै किस्ता बुझाउन नसकेमा थप शुल्कहरू लाग्छन्।
तर आफूलाई आर्थिक रूपमा समस्या परेको खण्डमा चाहिँ, आफ्नो बैक तथा वित्तीय संस्थासँग यसका बारेमा छलफल गर्नु पर्ने बताइन्छ।
यसबाहेक नेसनल डेब्ट हेल्पलाईनमा १८०० ००७ ००७ मा सर्म्पक गर्न सकिन्छ।
स्क्यामहरूबाट जोगिन
मनि स्मार्टका एन्ड्रु ड्याडसवेल, पर्सनल लोन दिन्छु भनेर कसैले सम्पर्क गरे, संस्था वा उक्त व्यक्तिको आधिकारिकताका बारेमा बुझ आग्रह गर्छन्।
“कुनै पनि चिजमा त्यतिखेरै सम्झौता नगरिहाल्नुहोस्, विचार पुर्याउनुहोस् र आफूलाई शङ्का लागे सहयोग माग्नुहोस्।”








