Key Points
- बजारमा उपलब्ध होम लोनको ब्याज दर र सुविधाहरूको खोजीबाट सुरुवात गर्नुहोस्।
- पाँचदेखि २० प्रतिशतसम्मको डिपोजिट राख्नु पर्ने एक पूर्व सर्त हो।
- सरकारले घर किन्नेहरूका लागि प्रदान गर्ने सहायता बारे बुझ्नुहोस् किनभने त्यसका लागि तपाईँ पनि योग्य हुन सक्नुहुन्छ।
घर किन्नु भनेको धेरै मानिसका लागि जीवनको सबैभन्दा ठुलो निर्णयहरू भित्र पर्छ।
र यति धेरै खर्च हुने आर्थिक कारोबार गरिरहँदा मन भारी पनि हुन सक्छ।
तर तपाईँसँग रहेका विकल्प र घर किन्दा लिइने ऋण वा होम लोनले कसरी काम गर्छ भनेर थाहा पायो भने पनि बोझ धेरै हल्का हुनुका साथै केही शान्ति पनि मिल्न सक्छ।
घर किन्ने भनिसके पछि धेरै कुराहरू बारे जानकारी राख्नु पर्छ।
जसमा आफ्नो आवश्यकता र क्षमता अनुसारको घर किन्न लिइने ऋण वा होम लोनबारे बुझ्नुदेखि तपाईँ योग्य हुन सक्ने सरकारी सहायताबारे खोजी गरेर ऋण आवेदन प्रक्रियामा जानु पनि यसमा पर्छ।
दुवै राष्ट्रिय तथा राज्य स्तरका सरकारी वेबसाइटहरू घर खरिद प्रक्रिया बुझ्नको लागि एक उत्कृष्ट सुरुवाती बिन्दु हो।
प्रोपर्टी मार्केटले कसरी काम गर्छ?
एन्ड्रु ड्याड्स्वेल अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)का कज्युमर कम्युनिकेसन्स विभागका वरिष्ठ प्रबन्धक हुन्।
एसिकले मनीस्मार्ट भन्ने सङ्घीय सरकारी वेबसाइट सञ्चालन गर्छ जसमा उपभोक्ताहरूलाई विभिन्न विषयमा शिक्षा प्रदान गरिन्छ।

ड्याड्स्वेल होम लोनमा उत्कृष्ट डिल पाउनका लागि ब्याजदर किन धेरै महत्त्वपूर्ण हुन्छ भन्ने बारे बताउँछन्।
"किनभने तपाईँसँग यो लामो समयका लागि रहन्छ- होम लोन २५ वा ३० वर्ष लामो हुन सक्छ - तपाईँले तिर्ने ब्याज दरमा थोरै भिन्नता हुँदा पनि यस अवधिमा तपाईँले हजारौँ डलरसम्म थप तिर्नु पर्ने हुन सक्छ।"
मनीस्मार्ट वेबसाइटमा रहेको मोर्गेज क्यालकुलेटरमा हाल मानिसहरूले औसतमा कति ब्याजदर मा होम लोन लिएका छन् भनेर देखिन्छ र त्यही अनुसार आफ्नो मोर्गेज ब्रोकर मार्फत ब्याङ्कसँग राम्रो डिलका लागि कुरा गर्न सकिने उनको भनाइ छ।

तपाईंको प्राथमिकतामा के छ?
आफ्नो प्राथमिकतामा के पर्छ भनेर बुझ्नु पनि महत्त्वपूर्ण हुन्छ।
जतिसक्दो धेरै ऋण लिने प्राथमिकतामा पर्छ कि सबैभन्दा कम ब्याजदरमा ऋण पाउनु?
छिटो ऋण स्वीकृत होस् भन्ने चाहना पहिलो प्राथमिकतामा पनि हुन सक्छ भने कहिले उल्लेख गरिएका सम्पूर्ण कुराहरू ।
होम लोन लिँदा विचार गर्नु पर्ने एउटा प्रमुख कुरा भनेको ऋण छिटो तिर्न सक्ने क्षमता र लचिलोपनलाई सन्तुलनमा राख्नु हो।
जस्तै ऋण भेरिएबल रेटमा भएको बेला ब्याजदर परिवर्तन भइरहन सक्छ, तर फिक्स्ड रेट हुँदा निश्चित समयसम्म ब्याजदरमा परिवर्तन हुँदैन।
फिक्स्ड रेटको उक्त अवधि सकिएपछि धेरै जस्तो समयमा यो भेरिएबलमा परिवर्तन हुन्छ वा तपाईँले फेरी फिक्स्ड रेटमा नै बस्न समय थप्नको लागि ब्याङ्कसँग वार्ता गर्न सक्नुहुन्छ।
ड्याड्स्वेल बुझाउँछन्, "फिक्स्ड रेटमा ऋण लिँदाको फाइदाहरू मध्ये एक भनेको तपाईँलाई आफूले प्रत्येक पन्ध्र दिन वा प्रत्येक महिना कति रकम तिर्नु पर्छ भन्ने कुरा थाहा हुन्छ। तर यो पनि हो कि यदि ब्याजदर घट्यो भने त्यसबाट पाइने फाइदा भने तपाईँले लिन पाउनु हुन्न।"
उता भेरिएबलमा भने ब्याङ्कले ब्याजदर परिवर्तन गर्ने बित्तिकै तपाईँले तिर्ने रकममा पनि परिवर्तन हुन्छ।
"भेरिएबलमा यदि ब्याजदर घट्यो भने होम लोन अन्तर्गत तपाईँले तिर्नु पर्ने रकम पनि घट्छ तर फेरी ब्याजदर बढ्यो भने तपाईँले पनि धेरै तिर्नु पर्छ।"
तपाईँले जुनसुकै ब्याजदर र जस्तो प्रकारको ऋण रोज्नु भए पनि, पर्याप्त रकम बचत गर्न भने आवश्यक छ।
"तपाईँले अस्ट्रेलियामा होम लोन प्राप्त गरिरहँदा तपाईँलाई कम्तीमा पाँच प्रतिशतको डिपोजिट चाहिन्छ, र यो २० प्रतिशतसम्म पनि हुन सक्छ। यसबाट तपाईँसँग मोर्गेज तिर्नका लागि पैसा छ भनेर देखिन्छ।"

बजारमा प्रत्येक होम लोनको सर्तहरू फरक हुन सक्छन्।
र यससम्बन्धी सबै जानकारी राख्नु बोझिलो र अलमल्लमा पार्ने पनि हुन सक्छ।
बजारमा उपलब्ध रहेका फरक किसिमका ऋणका प्रकारहरूबारे बुझ्न मदत गर्ने स्रोत सामाग्रीहरू आर्थिक तुलना गर्ने साइटहरूमा उपलब्ध हुन्छन्।
स्याली टिन्डल रेट सिटीकी खोज निर्देशक हुन्।
र उनी बजार बारे जति अध्ययन गरे पनि व्यक्तिगत अवस्था सुहाउँदो सुझावका लागि आर्थिक सल्लाहकार राख्नु महत्त्वपूर्ण हुने विचार राख्छिन्।
धेरै मानिसहरूले आफू आर्थिक सल्लाहकार राख्न सक्ने गरि धनी नभएको विचार राख्ने गरे पनि त्यसको लागि अन्य विकल्प पनि हुन सक्ने टिन्डलको भनाइ छ।
"उदाहरणका लागि, मोर्गेज ब्रोकर, किनभने उनीहरूले पनि तपाईँको आर्थिक अवस्थालाई मिल्ने गरि लिनु पर्ने कदमहरू बारे सुझाव दिन सक्छन्।"
तर जानकारी र सुझावका लागि तपाईँ जता गए पनि, अन्ततः तपाईँले आफ्नो 'बोरोविङ्ग पावर' वा कतिसम्म ऋण लिँदा तिर्न सक्छु भनेर आफैँले निर्क्योल गर्नु आवश्यक हुने उनि बताउँछिन्।
होम लोनका लागि आवेदन हाल्ने प्रक्रिया अन्तर्गत ऋण प्रदायकले तपाईँको आर्थिक अवस्था प्रस्ट्याउने प्रमाणहरू माग्न सक्छन्।
र यसबाट उनीहरूले तपाईँले उधारो लिएको रकम तिर्न सक्नु हुन्छ भन्ने सुनिश्चित गर्छन्।
सामान्यतया मागिने प्रमाणहरूमा तपाईँको तलब देखाउने पेस्लिपहरू, अन्य आय, ब्याङ्क स्टेटमेन्ट, अन्य सम्पत्ति, ऋण वा दायित्वहरूको प्रमाण, तपाईँको बचत र क्रेडिट हिस्ट्री रहने गर्छ।

'प्रि अप्रुभल' र 'मोर्गेज ब्रोकर'
घर किन्ने प्रक्रियामा यो गर्नै पर्छ भन्ने नभए पनि सम्भावित खरीकर्ताहरूले ऋणको लागि प्रि अप्रुभल भनिने पूर्व-स्वीकृति प्राप्त गर्न सक्छन्।
यसको मतलब यो हो कि ऋणदाता सैद्धान्तिक रूपमा, तपाईँलाई घर किन्नको लागि एक निश्चित रकम ऋण स्वरूप दिन सहमत भएको छ।
तर ध्यान दिनु पर्ने कुरा चाहिँ के हो भने प्रि अप्रुभल लिइएको समय र होम लोन निश्चित भएको समय फरक-फरक हुन सक्छन्, र टिन्डल भन्छिन् यसबिचमा कुराहरू परिवर्तन पनि हुन सक्छन्।
ब्याङ्कले एक पटक प्रि अप्रुभल दिए पछि त्यो कहिलेकाहीँ तीन महिनासम्म मान्य हुन सक्छ।
तर तपाईँको आर्थिक अवस्थामा वा ब्याजदरमा केही परिवर्तन आएको छ भने यसबारे ब्याङ्कलाई जानकारी गराएर आफ्नो बोरोविङ्ग पावरबारे कुरा गर्नु महत्त्वपूर्ण हुने उनको भनाइ छ।
टिन्डल भन्छिन् अस्ट्रेलियाको बजारमा बैङ्क, क्रेडिट युनियन र अन्य अधिकृत संस्थाहरू सहित १०० भन्दा बढी ऋणदाताहरू छन्।
ब्याङ्क र तपाईँ बिच पुलको भूमिका खेल्ने मोर्गेज ब्रोकरले विभिन्न ऋणदाताहरूसँग काम गर्न सक्छन् र यसबाट पनि तपाईँलाई भिन्न ऋण प्रस्तावहरूलाई तुलना गर्न सजिलो हुन्छ।
अब मोर्गेज ब्रोकर पनि त सही छान्नु पर्यो नि, त्यसका लागि चाहिँ के गर्ने?
मोर्गेज ब्रोकर सेवा प्रदान गर्ने म्याड लोन्सका संस्थापक जर्ज सामियोस ब्रोकरको प्रमाणहरू कसरी जाँच गर्न सकिन्छ भनेर बताउँछन्।

"प्रत्येक ब्रोकरको वेबसाइटको तलपट्टि क्रेडिट इजाजत पत्र नम्बर हुन आवश्यक छ वा तिनीहरू इजाजत पत्र भएको व्यक्ति वा कम्पनीको क्रेडिट प्रतिनिधि हुनुपर्छ।"
यसबाहेक यस उद्योगका प्रतिनिधि संस्थाहरू एमएफएए वा एफबीएएको सदस्य हुनु पर्छ।
तपाईँ बस्ने स्थानको आधारमा राज्य/प्रदेश सरकारले दिने अनुदानका लागि पनि तपाईँ योग्य हुन सक्नुहुन्छ।
राष्ट्रव्यापी रूपमा, योग्यता पुगेका घर खरिदकर्ताहरूले होम ग्यारेन्टी स्किमको प्रयोग गर्न सक्छन्।
यसमा पछिल्लो एक दशकमा पहिलो पटक घर किन्नेदेखि पहिले कहिल्यै घर नकिनेहरूले पनि फर्स्ट होम ग्यारेन्टी पनि उपयोग गर्न सक्छन्।
सामियोस पहिलो घर किन्ने व्यक्तिले कतिसम्म ऋण लिन सक्छन् त भन्ने बारे बुझाउँछन्।
९५ प्रतिशतसम्म ऋण लियो भने ऋणदातालाई तिर्नु पर्ने मोर्गेज इन्स्योरेन्स तिर्नु पर्दैन।
यसले ग्राहकलाई ठुलो रकम जोगाउन त मदत गर्छ तर खर्च हुने ठाउँ अरू पनि रहेको उनको भनाइ छ।
"त्यहाँ अझै धेरै अन्य खरिद सम्बन्धित शुल्कहरू हुन्छन्, जस्तै स्ट्याम्प ड्युटी, पानी, भवन र पेस्ट बीमा।"
घर खरीदकर्ताहरूले कति खर्च गर्न सक्छन् भन्नेमा पनि सीमितता वा क्याप हुन्छ जुन तपाईँ बस्ने राज्य/प्रदेश अनुसार फरक हुन्छ। फेरी पनि सामियोस।
"जस्तै, ब्रिसबेनमा उक्त क्याप रकम ७००, ००० डलर रहेको छ। अब यदि तपाईँले कूपरू जस्तो सबर्ब जुन सिटीबाट नजिक रहेको रहेको छ, तपाईँले त्यहाँ ७००, ००० डलर खर्च गर्न सक्नुहुन्छ। र तपाईँले तत्काल भने पाँच प्रतिशत मात्र तिर्दा हुन्छ। जसको अर्थ ७००, ००० को पाँच प्रतिशत भन्नाले तपाईँले ३५,००० डलर मात्र डिपोजिट राख्दा हुन्छ।"

पहिलो पटक घर किन्नेहरू पनि सहुलियतहरूका लागि योग्य हुन सक्छन्, जस्तै स्ट्याम्प ड्युटी, वा विशेष गरी नयाँ घर मालिकहरूका लागि दिइने अनुदान, सामियोस भन्छन्।
जस्तै फर्स्ट होम सुपर सेभर स्किमलाई नै लिऊँ जुन योजना राष्ट्रिय स्तरमा नै लागू हुन्छ।
"यसको मूल कुरो के हो भने तपाईँले आफ्नो डिपोजिटमा १७.५ प्रतिशतसम्म बचाउन सक्नुहुन्छ।"
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।







