मुख्य बुँदाहरू
- अस्ट्रेलियामा हाल ३० प्रतिशत घरहरूले यसलाई प्रयोग गरिरहेको सौर्य ऊर्जा बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ।
- घरधनी र भाडामा लिनेहरू दुवैसँग सौर्य ऊर्जा जडान गर्ने विकल्प छ। यद्यपि, भाडामा लिनेहरूले यसलाई कम फाइदाजनक पाउन सक्छन्।
- सोलार जडान गर्नेका लागि अस्ट्रेलियाका राज्य र प्रदेशहरूमा विभिन्न योजनाहरू उपलब्ध छन्।
सन् २०२१-२२ को अवधिमा अस्ट्रेलियामा पहिलो पटक घरमा खपत हुने बिजुलीको तुलनामा सौर्य र वायु ऊर्जा बढी उत्पादन भएको अस्ट्रेलियाको तथ्याङ्क विभाग, अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)को रिपोर्टले देखाएको छ।
यसले पनि देशमा आवश्यक पर्ने ऊर्जाको लागि यस्ता नवीकरणीय ऊर्जा कति महत्त्वपूर्ण रहेका छन् भन्ने स्पष्ट पार्छ।
सोलारका फाइदा
बिजुली उत्पादनका लागि सामान्य रूपमा प्रयोग गरिने प्रविधिभन्दा पनि अस्ट्रेलियामा सोलारबाट उत्पादन हुने ऊर्जा थप सस्तो पर्ने देखिए पछि यसको लोकप्रियता पनि बढेको छ।
यो पनि सुन्नुहोस्

अस्ट्रेलिया र नेपालबिच सौर्य ऊर्जा उत्पादनमा साझेदारी होला त?
डा आर्ची च्यापम्यान युनिभर्सिटी अफ क्वीन्सल्यान्डको स्कुल अफ इलेक्ट्रिकल इन्जिनियरिङ एन्ड कम्प्युटर साइन्सका असोसिएट प्रोफेसर हुन्।
यसै विधामा विशेषज्ञता पनि हाँसिल गरेका उनी भन्छन् यो सस्तो हुने मात्र नभई स्थानीय रूपमा उत्पादन हुने हुँदा विद्युत् नेटवर्कमा पर्ने भार पनि कम हुन्छ।
त्यस्तै सोलारबाट उत्पादन हुने उर्जाबाट घरमा भएका विभिन्न विद्युतीय उपकरणहरू चल्ने भएकाले बिजुलीको बिल त कम हुने नै भयो यसका साथै यसले स्वच्छ तरिकाबाट विद्युत् उत्पादन गर्ने पनि अर्को फाइदा हो।
यद्यपि, कोइलाले अझै पनि अस्ट्रेलियाको ऊर्जा उत्पादनको ६० प्रतिशत हिस्सा ओगटेको एनर्जी अस्ट्रेलियाको रिपोर्टले देखाएको छ।
जलवायु परिवर्तनमा कार्बन उत्सर्जनको प्रभावलाई हेर्दा कोइलाबाट उत्पादित ऊर्जाको प्रयोगलाई कम गर्न हामीले केही गर्न सकिन्छ भने त्यो राम्रो कुरा हो।आर्ची च्यापम्यान, असोसिएट प्रोफेसर
स्ट्यान कर्प्यान सोलार भिक्टोरियाका सीईओ हुन्, र उनको ठम्याई छ कि लामो समय कोइलामा आश्रित रहेको अस्ट्रेलिया अब सौर्य उर्जा तर्फ अगाडी बढ्दै छ।
अस्ट्रेलियामा पछिल्लो समयमा घरको छानामा सोलार प्यानल राख्नेहरूको सङ्ख्या बढ्दो छ।
जसबाट सौर्य ऊर्जा देशको ऊर्जा प्रणालीमा महत्त्वपूर्ण बन्दै गएको स्पष्ट हुन्छ।
कर्प्यान भन्छन् हाल अस्ट्रेलियाका 'फ्रीस्ट्यान्डिङ' घरहरू मध्ये ३० प्रतिशत वा ४० लाख घरहरूका छानामा सोलार राखिएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
विश्व डिकार्बनाइजेसनतर्फ अघि बढ्दै जाँदा, सन् २०५० सम्ममा नेट जिरोको लक्ष्य हाँसिल गर्ने अस्ट्रेलिया लगायत धेरै राष्ट्रहरूको प्रतिबद्धता रहेको छ।
पेरिस सम्झौतासँग जोडिएको यो प्रतिबद्धताले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउन निर्देश गरेको छ।
जसमा विद्युत् उत्पादनका लागि कोइला र ग्यासको सट्टा नवीकरणीय ऊर्जा प्रयोग गर्ने पनि रहेको कर्प्यान बताउँछन्।
"हामी हाल राष्ट्रिय रूपमा करिब ३० प्रतिशतमा छौँ र कमनवेल्थ सरकारको प्रतिबद्धता अन्तर्गत सन् २०३५ सम्म नवीकरणीय ऊर्जा स्रोतहरूबाट आउने बिजुली ८२ प्रतिशतसम्म वृद्धि हुनेछ," कर्प्यान भन्छन्।

घरमा सोलार कसले जडान गर्न सक्छन् ?
धेरै मामिलामा त घर धनीहरूले नै सोलार प्यानल जडान गर्छन् ताकि भाडामा बस्नेहरूले नवीकरणीय ऊर्जाको फाइदा उठाउन्।
धेरै जसो केसहरूमा, घरको मालिकले सोलार राख्छन्, तर त्यसका लागि छूट र प्रोत्साहनहरू दिइएका छन्, भिक्टोरियामा त छ नै साथमा केही अन्य राज्यहरूमा पनि।स्ट्यान कर्प्यान, सीईओ, सोलार भिक्टोरियाका
घरमा सोलार राख्दा जुन खर्च हुन्छ त्यो छोटो समयमा यसबाट उत्पन्न हुने ऊर्जाले भरपाई गर्न सक्दैन।
त्यसैले पनि भाडामा बस्नेहरू अस्थायी हुने र एक घरमा कति लामो समय बस्छन् भन्ने पनि निश्चित नहुने भएकोले उनीहरूलाई आफ्नै खर्चमा सोलार प्यानल जडान गर्न सुझाव नदिइने कर्प्यान को भनाइ छ।

रिबेटको व्यवस्था
तपाईँको घरमा सौर्य ऊर्जा जडान गर्नका लागि उपलब्ध छुट र प्रोत्साहनहरू बारे पत्ता लगाउन सरकारी वेबसाइटहरूमा जान सुझाइन्छ।
तपाईँलाई छुटको रकम फिर्ता पाउने वा रिबेटका लागि मद्दत गर्न कमनवेल्थ सरकारको energy.gov.au रहेको छ।
प्रोत्साहन योजनाको उदाहरण दिनुपर्दा, सोलार भिक्टोरियाले १,४०० डलरको रिबेट दिन्छ।
त्यस्तै घर मालिक वा भाडामा बस्ने जसले सोलार जडान गरे पनि चार वर्षसम्मको लागि निर्ब्याजी ऋण पनि यसले दिने गरेको छ।
थप, यसले घरको ब्याट्री खरिद गर्न ८,८०० को ब्याज-रहित ऋण प्रदान गर्छ।
र अन्य राज्य तथा प्रदेशमा पनि समान किसिमका योजनाहरू रहेको र त्यसका लागि आफैले खोजी गर्नु पर्ने कर्प्यानको भनाइ छ।
तपाईँको राज्य वा प्रदेशमा रहेको व्यवस्था बारे जानकारीको लागि सम्बन्धित वेबसाइटहरूमा जानुहोस् वा energy.gov.au मा जानुहोस् र तपाईँलाई उपलब्ध छुटहरू र योजनाहरूबारे थाहा पाउनु होस्।
राज्य तथा प्रदेशमा रहेका सोलार सम्बन्धी व्यवस्था बारे जान्न सकिने केही लिङ्क:
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- क्वीन्सल्यान्ड
- वेस्टर्न अस्ट्रेलिया
- साउथ अस्ट्रेलिया
- नदर्न टेरिट्री
- एसीटी
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: 'शेयर्ड हाउजिङ' भनेको के हो?
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।






