मुख्य बुँदा
- 'रिप करेन्ट' भनिने पानीका धारहरू अस्ट्रेलियाली समुन्द्रको एक मुख्य खतरा हो।
- पौडी खेल्नका लागि रातो र पहेँलो झन्डा राखिएको क्षेत्र र लाईफ सेभरहरु रहेको क्षेत्रलाई मात्र सुरक्षित मानिन्छ।
- अस्ट्रेलियामा सार्कको खतरालाई कम गर्न रणनीतिहरू लागू गरिएका छन्।
- विभिन्न तरिकाले “सार्क स्मार्ट” हुने तरिकाहरू छन्।
गत वर्ष सर्फ लाइफ सेभिङ्गसले करिब १०,००० मानिसलाई समुन्द्रबाट उद्धार गरेको थियो।
समुद्रमा आउने छालका बारे राम्रो जानकारी नहुनाले मानिसहरूलाई जोगाउन धेरै कसरत गर्नुपरेको उक्त संस्थाको भनाई छ।
सर्फ लाइफ सेभिङ्गसका तटीय सुरक्षा हेर्ने प्रबन्ध निर्देशक शेन ड, रिप्स भनिने सामुद्रिक धार सहितको छालहरूबाट सबैभन्दा ठुलो खतरा वा जोखिम रहेको बताउँछन्।
उनका अनुसार समुन्द्रमा पौडी खेल्दा हुने एक तिहाइ भन्दा बढी मृत्यु यस्तै ठुला छालहरूका कारण हुन्छ।
“गत वर्ष १४१ जनाको समुन्द्री किनारामा डुबेर मृत्यु भयो, त्यसमा ३६ जना छालमा परेर मारिए,” उनले भने।

'रिप्स' किन खतरनाक मानिन्छ?
रिप्स भनेको समुन्द्रमा आउने छालकै एक प्रारूप हो जो निकै शक्तिशाली हुन्छ यो अदृश्य रूपमा पानीको भित्री भागबाट बग्ने गर्दछ।
यसलाई पानीको विपरीत दिशामा बग्ने धारका रूपमा पनि लिइन्छ।
यसलाई पहिचान गर्न निकै गार्हो हुने शेन ड बताउँछन्।
पानीको सेतो छाल नभएको स्थान पौडीका लागि सुरक्षित होला भनेर सोचिन्छ, तर स्थिर जस्तो लाग्ने पानीमा 'रिप्स'को सम्भावना बढी हुन्छ।
“हामी कहाँ एउटा भनाई छ, सेतो भनेको राम्रो हो–बग्दै गरेको सेतो छाल, हरियो भनेको चाहिँ खतरा हो, हरियो पानी गहिरो हुन्छ र विपरीत दिशामा बगिरहेको हुन्छ।”शेन ड
'रिप्स'मा परे के गर्ने?
- शान्त बसेर आफ्नो शक्ति सञ्चित गर्ने।
- हात उठाएर सहयोग माग्ने।
- पानीको बहाव जता छ उतै बग्ने।
- समुन्द्री तटको समानान्तर दिशामा पौडिन कोसिस गर्ने।
तर यसबाट बच्ने उपाय भनेको चाहिँ सुरक्षित स्थानमा मात्र पौडी खेल्नु हो।
रातो र पहेँलो झन्डा भएको स्थानमा पौडी खेल्ने
गत वर्ष भएका पौडी सम्बन्धी दुर्घटनाहरू मध्ये ७६% लाइफ सेभरहरु उपलब्ध हुने ठाउँको एक किलोमिटर वरपरमा भएका छन्।
त्यसैले आफ्नो क्षमतालाई मध्यनजर गर्दै लाइफ गार्ड भएका स्थान र पहेँलो अनि रातो झन्डा गाडिएको स्थानमा मात्र पौडी खेल्नु उचित हुन्छ।
पौडी खेल्न जाँदा कोही साथी लिएर जानुलाई पनि सुरक्षित मानिन्छ।
लाईफ गार्ड सहितका समुन्द्रीतटहरुको जानकारीका लागि सर्फ लाइफ सेभिङ्गसको वेबसाइट जानुहोस्।

के हाम्रा समुन्द्री किनारमा शार्कको खतरा छ?
शार्कबाट हुने आक्रमणका घटना प्राय असामान्य मानिने गरिएको छ र यी छिटपुट रूपमा मात्र हुन्छन्।
तर पनि संसारमा अमेरिकी तटहरू पछि अस्ट्रेलियामा शार्कको आक्रमण धेरै हुने गरेको बताइन्छ।
औसतमा बर्सेनि शार्कको टोकाई वा आक्रमणमा २२ जना जति पर्ने गरेका छन्।
टोराङ्गा कन्जरभेसन सोसाइटीकी वन्यजन्तु आरक्षण अधिकारी डाक्टर फिबी माअर बर्सेनि करिब एक जनाको सार्कको आक्रमणबाट मृत्यु हुने बताउँछिन्।
“शार्कले पहिचान गर्दैन,” उनले भनिन्।
“उसका लागि तपाईँ मान्छे, कछुवा वा माछा जे भए पनि फरक पर्दैन।"

शार्कका ४०० प्रजाति मध्ये केही मात्र मानिसहरूका लागि खतराजन्य हुन्छन्।
ती मध्ये टाइगर शार्क, ह्वाइट शार्क र बुल शार्क चाहिँ अस्ट्रेलियाका न्यु साउथ वेल्स, वेर्स्टन अस्ट्रेलिया र क्वीन्सल्यान्डमा पाइन्छन् ।
र यी घातक पनि हुन्छन्।
न्यु साउथ वेल्सको शार्क कार्यक्रमका मार्सेल ग्रिन, यी माछाहरू केही हदसम्म टिनएजर जस्तो हुने बताउँछन्।
“सबैले आ-आफ्नै खालको व्यवहार देखाउँछन्, तर पनि केही सामान्य व्यवहारहरू भने एकै खाले हुन्छन्।”
उदाहरणका लागि टाइगर र बुल शार्कहरू बिहान र साँझको समयमा बढी देखिन्छन् र यो समयमा पौडी खेल्दा बढी जोखिम हुन्छ।
तर अन्य प्रजातिहरूले चाहिँ उनीहरूलाई आघात पुर्याएको अवस्थामा मात्र हानि गर्छन्।

'शार्क स्मार्ट' कसरी बन्ने
अस्ट्रेलियामा शार्कबाट बच्नका लागि विभिन्न नीतिहरू लागु गरिएका छन्।
समुन्द्रमा जालीको प्रयोग, हेलिकप्टर र ड्रोनहरूबाट निरीक्षण, साइरन लगायतका उपायहरू लागु गरिएका हुन्छन्।
सार्कलाई इलेक्ट्रिक ट्याग लगाइदिएर पनि उनीहरूको अवस्थाका बारेमा जानकारी राखिन्छ।
सार्क स्मार्ट स्रोतहरू न्यु साउथ वेल्स, वेर्स्टन अस्ट्रेलिया र क्वीन्सल्यान्डमा उपलब्ध छन्।






