मुख्य बुँदाहरू:
- व्यवसायहरू एकल व्यापारी, कम्पनी, वा साझेदारीको रूपमा सञ्चालन गर्न सकिन्छ।
- तपाईँको 'रेभिन्यु' ७५,००० डलर नपुगेसम्म तपाईँले जीएसटीको लागि दर्ता गर्नु पर्दैन।
- अस्ट्रेलियामा उद्यमीहरूका लागि ग्रान्ट, ऋण र निजी लगानी जस्ता विभिन्न आर्थिक सहयोगहरू उपलब्ध छन्।
अस्ट्रेलियाको चलायमान अर्थतन्त्र र व्यापारका लागि अनुकूल वातावरणले उद्यमीहरूका लागि उत्कृष्ट पृष्ठभूमि प्रदान गर्छ।
चाहे तपाईँसँग नयाँ विचार होस् वा यसलाई लाभदायक उद्यममा परिणत गर्ने जोस, यहाँ सानो व्यवसाय सुरु गर्नु धेरै इनामदायी हुन सक्छ ।
नदिन कोनेल स्मार्ट बिजनेस प्लान अस्ट्रेलियाकी निर्देशक हुन्। उनका अनुसार अस्ट्रेलिया व्यापार गर्नका लागि संसारको सबैभन्दा सहज ठाउँहरू मध्ये एक हो।
यहाँ प्रतिस्पर्धी कर दरहरू छन्। दस प्रतिशत जीएसटीको प्रणाली छ। एबीएन सेटअप गर्नुपर्छ। अनुदान मार्फत दिइने सरकारी सहयोगहरू पनि धेरै छन्। अस्ट्रेलियामा ७० अर्बभन्दा बढी रकम नवप्रवर्तनका लागि प्रदान गरिन्छ।नदिन कोनेल, निर्देशक, स्मार्ट बिजनेस प्लान अस्ट्रेलिया
सिड्नीका अर्थशास्त्र विश्लेषक अब्दल्ला अब्दल्लाह अस्ट्रेलियामा स्थिर अर्थतन्त्र भएको दाबी गर्दछन्।
यो लगानीकर्ता र उद्यमी दुवैका लागि एकदमै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
"कोभिडको समयमा जब हामीले केही मन्दी देख्यौँ, त्यस बाहेक हाम्रो अर्थतन्त्र स्थिर रूपमा बढ्दै गइरहेको छ," उनले बताए।
"त्यो सानो अवधि बाहेक, विगत तीन दशक वा सो भन्दा बढीमा, हामी निरन्तर बढ्दै गएका छौँ, पक्कै पनि त्यो एक राम्रै सङ्केत हो।"
अस्ट्रेलियाले व्यवसायीहरूको लागि उत्कृष्ट कानूनी रूपरेखा पनि प्रदान गर्ने अब्दल्लाहले बताएका छन्।
“यहाँ कम्पनीहरू, लगानीकर्ताहरू र वरपरका उद्यमीहरूका लागि राम्रो सुरक्षा छ, जस्तै सम्पत्ति माथिको अधिकार वा बौद्धिक सम्पत्ति, वा आईपीहरू। यहाँ कानूनी नियमहरू छन् जुन सबैलाई लागू हुन्छन्। यहाँको कानूनी व्यवस्थालाई पारदर्शी पनि भन्न सक्छौँ । र सबैभन्दा महत्त्वपूर्ण कुरा भने अस्ट्रेलियामा भ्रष्टाचार कम छ।"
व्यापारका प्रकारहरू
व्यापार योजनाहरू बारे जान्नु अघि, अस्ट्रेलियाको व्यापार ढाँचाहरू बुझ्न महत्त्वपूर्ण छ।
व्यवसायहरू एकल व्यापारी, कम्पनी, वा साझेदारीको रूपमा सञ्चालन गर्न सकिन्छ, र प्रत्येकको छुट्टै जिम्मेवारी र कानूनी आवश्यकताहरू हुन्छन्।
कस्तो व्यापार गर्न खोजेको हो भन्ने आधारमा व्यापार सञ्चालन गर्ने तरिका पनि फरक हुने अब्दल्लाहले बताए।
"यदि मलाई स्थानीय रूपमा सानो व्यवसाय गर्न मन छ भने, वा मेरो यसलाई बढाउने योजना छैन भने म एकल व्यापारी वा साझेदारीको बारेमा विचार गर्नेछु। तर, यदि मेरो आकाङ्क्षा कम्पनीलाई एक ब्रान्डको रूपमा बढाउने हो, यस ब्रान्डको मूल्य बढाउने र पछि यसलाई बेच्ने वा यसको केही हिस्सा बेच्ने हो भने, एक कम्पनी स्थापित गर्दा नै उचित हुन्छ," उनले भने।
"हामीले यस्ता पनि धेरै कम्पनीहरू देखेका छौँ जुन ग्यारेजहरूमा सुरु भएका थिए र अब तिनीहरूको ब्रान्ड मल्टी बिलियन डलरको बनेको छ।"
आफ्नो व्यापार ढाँचाको छनोट गरिसकेपछि, तपाईँले स्थानीय कानून र नियमहरूको पालना गर्दै आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ।
यस व्यवस्थित प्रक्रियालाई पुरा गर्ने मार्गदर्शनका लागि धेरै स्रोतहरू उपलब्ध भएको कोनेल बताउँछिन्।
एकल व्यापारीको रूपमा दर्ता गर्न र अस्ट्रेलियन बिजनेस नम्बर (एबीएन) प्राप्त गर्नका लागि चाहिने अधिकांश जानकारी राज्यको सरकारी वेबसाइटमा उपलब्ध हुन्छन्।
सबै किसिमका व्यवसायहरूले आम्दानी कूल ७५,००० डलरभन्दा बढी भएमा जीएसटीको लागि दर्ता गर्नुपर्छ।

तर यदि तपाईँ एक कम्पनी सुरु गर्न चाहनु हुन्छ भने आफ्नो अकाउन्टेन्टको मद्दत लिएर अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कमिसनमा अस्ट्रेलियन कम्पनी नम्बर (एसीएन) सेटअप गर्न अब्दल्लाह सुझाव दिन्छन्।
एकल व्यापारीको हकमा उनको व्यवसाय आफ्नै ट्याक्स फायल नम्बर (टीएफएन) मा जोडिने भए तापनि कम्पनीहरूका लागि कम्पनीको छुट्टै टीएफएन हुनुपर्ने उनको भनाइ छ।
साथै यदि तपाईँ कर्मचारीहरू भर्ना गर्ने योजनामा पनि हुनुहुन्छ भने तपाईँले सरकारलाई आयकर बुझाउनका लागि 'पे एज यु गो' (पीएवाईजी)को लागि पनि दर्ता गर्नुका साथसाथै आफ्ना सेवा अनुसार लाइसेन्स, पर्मिट, आदि गर्नु पर्ने अब्दल्लाह बताउँछन्।
उनले सम्भावित समस्याहरूबाट बच्न व्यवसायीहरूले थप कानूनी र नियम पालनाका आवश्यकताहरू बुझ्नु पर्ने उनको भनाइ छ।
कोनेले यी आवश्यकताहरूमा बिमा नीतिहरू बनाउने पनि पर्ने बताउँछिन्।
"सामान्य व्यापार बिमाहरू हुन्छन्, यदि तपाईँले सेवा प्रदान गर्नुहुन्छ भने व्यावसायिक क्षतिपूर्ति बिमाहरू पनि छन्। त्यसै गरी उत्पादन बिमाहरू पनि छन्। यो चाहिँ तपाईँले सञ्चालन गरिरहनु भएको व्यवसायको प्रकारमा निर्भर हुन्छ," कोनेलले बताइन्।
"तर यदि तपाईँले व्यवसाय गरेको स्थानमा अरू मानिसहरू पनि आउँछन् भने, केही स्तरको बिमा वा सार्वजनिक दायित्व बिमा चाहिन्छ।"
व्यापार योजना
विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा भनेको राम्रो व्यापार योजना बनाउनु हो, जसलाई धेरैले सफलताको मार्गचित्र मान्छन्।
यसको लागि बजारको अनुसन्धान गर्नु पहिलो चरण भएको कोनेल बताउँछिन्।
बजारको अनुसन्धान गर्नुहोस्। तपाईँका ग्राहकहरू को हुन्, बजार कति ठुलो छ, कहाँ सञ्चालन गर्दै हुनुहुन्छ र यदि तपाईँको स्टोर छ भने, त्यस स्थानमा अरू के कस्ता स्टोरहरू छन्? तपाईँका प्रतिस्पर्धीहरू को हुन्? तपाईँ के बेच्न जाँदै हुनुहुन्छ, मूल्य के हुन्छ, उत्पादनहरू के हुन्? यदि ती कुराहरूको बारेमा स्पष्ट हुन सक्नुहुन्छ भने, तपाईँले बजारमा व्यवसायलाई राम्ररी सञ्चालन गर्न सक्नुहुन्छ।नदिन कोनेल, निर्देशक, स्मार्ट बिजनेस प्लान अस्ट्रेलिया

आर्थिक सहयोग
यदि तपाईँलाई आफ्नो व्यवसाय सुरु गर्न आर्थिक सहयोग चाहिन्छ भने अस्ट्रेलियामा वित्तीय विकल्पहरू छन् जसलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ।
अनुदान, ऋण र निजी लगानीकर्ताहरू लगायत सम्भावित उद्यमीहरूलाई उपलब्ध सेवाहरू रहेको कोनेलले बताइन्।
"प्रदेश र स्थानीय तहको हिसाबले सरकारसँग ७० अर्ब डलरभन्दा बढी अनुदान उपलब्ध छ। त्यसै गरी निजी लगानीकर्ता पनि छन् - यो चाहिँ तपाईँको व्यवसायमा लगानी गर्न खोजी रहेको कसैलाई व्यक्तिगत रूपमा चिन्नु हुन्छ भन्ने सम्भव हुन सक्छ। त्यस्तै, तपाईँले इक्विटीको प्रस्ताव पनि गर्न सक्नुहुन्छ," उनले भनिन्।
कोनेलले अस्ट्रेलिया सरकारको बिजनेस वेबसाइटको 'ग्रान्ट्स एन्ड प्रोग्राम फाइन्डर ट्याब’ मा धेरै अनुदानहरूको सूची पाउन सकिने बताइन्। ती अनुदानहरूले विभिन्न क्षेत्रहरूमा अवसरहरू प्रदान गर्दै विभिन्न उद्योगहरूलाई बढावा दिने गर्छन्।
"मानिसहरू वास्तवमा त्यहाँ गएर खोजी गर्न सक्छन्। तर फेरि राज्य सरकार पनि छन्। र सबै राज्य सरकारका वेबसाइटहरूमा अनलाइन अनुदानहरू सूचीबद्ध छन्। र त्यसबाहेक तपाईँको स्थानीय काउन्सिलसँग पनि प्राय: अनुदानहरू हुन्छन्," कोनेलले बताइन्।
थप जानकारीको लागि तपाईँ आफ्नो राज्यको विभागलाई सम्पर्क गर्न सक्नुहुन्छ।
उदाहरणका लागि, सर्भिसेस न्यु साउथ वेल्सले सम्भावित उद्यमीहरूलाई व्यापार र स्टार्ट अप यात्रामा मार्गदर्शन प्रदान गर्ने, सर्भिसेस न्यु साउथ वेल्सको व्यापार ब्युरोकी कार्यकारी निर्देशक कसान्ड्रा गिबन्स बताउँछिन्।
हाम्रा बिजनेस कन्सियर्जहरूले व्यवसायहरूलाई वित्तीय सहायताको जानकारी खोज्न मद्दत गर्दछन्। यसले विभिन्न क्षेत्रहरूमा स्टार्ट-अप व्यवसायहरूका लागि उपलब्ध रहेका सरकारी अनुदान र छुटहरूबारे जानकारीहरू उनीहरूसम्म पुर्याउँछ।कसान्ड्रा गिबन्स, कार्यकारी निर्देशक, सर्भिसेस न्यु साउथ वेल्स व्यापार ब्युरो
प्रत्येक 'बिजनेस कन्सियर्ज'ले आफ्ना ग्राहकहरूसँग कुरा गरेर उनीहरूको परिस्थिति अनुसार के गर्न सकिन्छ भनेर सल्लाह दिने गर्छन्।
हरेक सफल व्यवसाय एक कदमबाट सुरु हुन्छ भन्दै कोनेलले अनुसन्धान, नेटवर्किङ, र आफ्नो व्यापार सम्बन्धि सोचलाई बढावा दिँदै आफ्नो सपना तर्फको यात्रा सुरु गर्न बताएकी छिन्।
"सबैभन्दा ठुलो गलत धारणा यो हो कि व्यवसाय सुरु गर्न धेरै पैसा हुनुपर्छ। तपाईँले सबै कुरा पुनः आविष्कार गर्नुपर्दैन, तपाईँ शून्यबाट सयमा जानु पर्दै," उनले बताइन्।
"तपाईँले बिस्तारै सुरु गर्न सक्नुहुन्छ र बढ्दै जाँदा लगानी गर्न सक्नुहुन्छ। व्यवसाय सुरु गर्न खोज्दा धेरै चुनौतीपूर्ण हुन सक्छ तर सही व्यक्तिहरूसँग कुरा गर्दा भने सहज हुन्छ। व्यवसाय सफल बनाउन सबैले मिलेर काम गर्न सक्छन्।"






