गत आइतवार, १७ अक्टोबरको खेलमा सन् २०१९ विश्वकप क्रिकेटका विजेता इङ्गल्यान्डलाई उदयमान टोली अफगानिस्तानले ६९ रनले पराजित गरेको छ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको उक्त खेलमा अफगानिस्तानले पहिलो ब्याटिङ गरी २८४ रन बनाएको थियो भने, प्रत्युत्तरमा इङ्गल्यान्डले मात्र २१५ फर्काउन सफल भएको हो।
अफगानिस्तानका मुजिब उर रहमानले १६ बलमा २८ रन बनाउनुका साथै ५१ रन दिई तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे बापत उक्त खेलको 'म्यान अफ द म्याच'को उपाधि पाउन सफल भए।

त्यस्तै, शनिवार, १४ अक्टोबरका दिन भएको निकै चर्चा पाएको भारत र पाकिस्तान बिचको खेलमा भारतले प्रभावशाली प्रदर्शन गरेर पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ।
खेलको क्रममा, ४२ ओभर खेलेर पाकिस्तानले १९१ रन बटुल्न सफल भएको थियो भने, प्रत्युत्तरमा भारतले ३१ ओभरमै सजिलै उक्त रन बनाउन सफल भएको थियो।
सात ओभरमा मात्र १९ रन दिई दुई विकेट लिन सफल भएका भारतका जसप्रित बुम्राले आफ्नो प्रदर्शनको लागि उक्त खेलको 'म्यान अफ द म्याच'को उपाधि पाउन सफल भएका थिए।
बिहीवार, १२ अक्टोबरमा भएको खेलमा भने अहिलेसम्म विश्वकपको उपाधि हात पार्न असफल रहेको साउथ अफ्रिकाले अस्ट्रेलियालाई सजिलै पराजित गरेको छ।

लखनउको मैदानमा भएको उक्त खेलमा, साउथ अफ्रिकाको तर्फबाट क्विन्टन डी ककले १०६ बलमा १०९ रन बनाई आफ्नो टोलीलाई निकै राम्रो स्थानमा पुराएका थिए।
दक्षिण अफ्रिकाको ३११ रनको जवाफमा अस्ट्रेलियाले मात्र १७७ रन बनाउन सफल भएको थियो।
अहिलेसम्मको तालिका अनुसार, भारत, न्यु जिल्यान्ड, साउथ अफ्रिका र पाकिस्तान कम्तीमा दुई जितका साथ अग्र स्थानमा रहेका छन्।







