भारतमा जारी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार, ८ अक्टोबरमा भएको खेलमा अस्ट्रेलियाको टोली, आयोजक भारतसँग ६ विकेटले पराजित भएको छ।
चेन्नाइको मैदानमा भएको उक्त खेलमा पहिलो ब्याटिङ गरी अस्ट्रेलियाले मात्र १९९ रन बनाउन सफल भएको थियो।
ब्याटिङको क्रममा स्टिभ स्मिथ र डेभिड वार्नरले क्रमशः ४६ र ४१ रन बनाएका थिए भने, भारतको तर्फबाट १० ओभरमा २८ रन दिई, रविन्द्र जडेजाले तीन विकेट लिएका थिए।
दुई सय रनभन्दा कम बनाएको अस्ट्रेलियाले यो खेल जित्ला भन्ने धेरैले आशा त गरेका थिएनन् र भारतको तीन रनमा तीन विकेट गएपछि चाहिँ खेलमा नयाँ पाटो देखिएको थियो।
भारतका कप्तान रोहित शर्मा लगायत इशान किशन र श्रेयस अय्यर शून्य रनमै आउट भएका थिए। तर त्यसपछि जमेको विराट कोह्ली र केएल राहुलको क्रमशः ८५ र ९७ रनले भारतलाई सजिलै विजयी हुन सहयोग गरेको हो।

यस खेलमा अस्ट्रेलियाको तर्फबाट जोश हेजलवुडले ३८ रन दिएर तीन विकेट लिएका थिए।
विश्वकप क्रिकेटको १३औँ संस्करण अन्तर्गत भएको पहिलो खेलमा भने न्यु जिल्यान्डले इङ्गल्यान्डलाई नौ विकेटले हराएको थियो। उक्त खेलमा न्यु जिल्यान्डको तर्फबाट डेभन कन्वेले १५२ रन र रचिन रविन्द्रले १२३ रन बनाएका थिए।
दस टोली सहभागी यस विश्वकपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया, न्यु जिल्यान्ड, इङ्गल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान र नेदरल्यान्ड्स सरिक रहेका छन्।
सबै देशहरू एक-अर्कासँग खेले पछि उच्च अङ्क बटुलेका चार टोलीहरू बिच सेमि-फाइनल १५ नोभेम्बर देखि हुनेछ।
भारतको विभिन्न शहरहरुमा हुने यस प्रतियोगिता १९ नोभेम्बरसम्म जारी रहने छ।







