लन्चेस्टनमा नेपाली क्रिकेट कति माथिसम्म पुग्न सक्ला त?

लन्चेस्टनको नेपाली क्रिकेट टोली राज्यकै एक दह्रो प्रतिस्पर्धीको रूपमा स्थापित भएको छ।

Launceston Nepali Cricket Club

Launceston Nepali Cricket Club members with Bridgett Archer, Member for Bass. Source: Provided

अस्ट्रेलियाकै प्राकृतिक खनिज मानिने क्रेडल माउन्टेनको राष्ट्रिय निकुञ्ज जाने मुख्य द्वार लगायत वाइन तथा अन्य कृषि-जन्य उत्पादनको उर्वर क्षेत्र हो, टास्मेनियाको दोस्रो ठुलो शहर लन्चेस्टन।

अस्ट्रेलियाका अन्य शहरहरूभन्दा तुलनात्मक रूपमा सानो र शान्त रहेको लन्चेस्टनमा केही वर्ष यता भने नेपालीहरूको उपस्थिति बढ्दै गएको छ।

पछिल्लो जनगणनाको तथ्याङ्कलाई आधार बनाउने हो भने लन्चेस्टन सिटी काउन्सिल क्षेत्रमा मात्र १,८२२ नेपालीभाषीहरूको उपस्थिति छ जुन अङ्ग्रेजी बोल्ने मानिसहरूको सङ्ख्या पछिकै सबैभन्दा उच्च हो।

ती मध्ये १,२४२ ले आफूहरूको जन्म नेपालमा भएको बताएका छन् भने ४४९ जना भुटानमा जन्मेका हुन्।

टास्मेनियाली क्रिकेटमा नेपाली प्रभाव

Launceston Cricket Club
Ram Shrestha out in the field for his club. Source: Provided

नेपालीभाषीहरूको बढोत्तरीसँगै केही वर्ष अघि स्थापना भएको लन्चेस्टन नेपाली क्रिकेट क्लबमा खेलाडीहरूको चाप पनि बढेको छ।

राम श्रेष्ठ उक्त क्लबको अध्यक्ष हुन्।

उनी भन्छन् कि खेलाडीहरूको सङ्ख्या निकै बढेकोले यो वर्षदेखि स्थानीय क्रिकेट प्रतियोगिताहरूमा क्लबले दुई छुट्टाछुट्टै टोलीहरूलाई भाग लिन पठाउन थालेको छ।

“एउटै मात्र टिम हुँदा हाम्रो क्लबमा रहेको थुप्रै सदस्यहरूको खेल्ने मनसाय पुरा नहुने देखियो," उनले एसबीएस नेपालीसँग भने।

"त्यही भएर खेल्ने दक्षता अनुसार खेलाडीहरूलाई दुई टोलीमा बाँडेका छौँ (र) दुवै टोली क्रिकेट टास्मेनियाले आयोजना गरेका प्रतियोगिताहरूमा भाग लिन्छन्।"

सन् २००८ मा अस्ट्रेलिया आएका राम श्रेष्ठको अस्ट्रेलियाली बसाइसराइ सिड्नी, गोल्डकोस्ट र डार्विन हुँदै सन् २०१३ मा लन्चेस्टनमा पुगेर विश्राम लिएको छ।

क्लबको स्थापनाकाल देखिनै एक मुख्य पात्रको रूपमा रहेका श्रेष्ठ भन्छन् कि उनी लन्चेस्टन सर्दा नेपालीहरूको उपस्थिति नगण्य थियो।

“त्यति बेला नेपालीहरूको बाक्लो बस्ती थिएन, क्लबको सुरुवात (पनि केवल) सामाजिक मेलमिलापको लागि भएको थियो,” उनले भने।

श्रेष्ठसँगको हाम्रो कुराकानी सुन्नुहोस्: लन्चेस्टन नेपाली क्रिकेट क्लब टास्मेनियाली क्रिकेटमा निकै माथि उक्लने अध्यक्ष राम श्रेष्ठको विश्वास हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तर खेलाडीहरूको जोस, दक्षता, अनि नेपाली समुदायको बढ्दो उपस्थितिले गर्दा लन्चेस्टन नेपाली क्रिकेट क्लबको महत्त्व पनि बढेको श्रेष्ठ बताउँछन्।

सन् २०१८ मा औपचारिकता पाएको क्लबले अहिले टास्मेनिया क्रिकेट लिगको ए र बी ग्रेड क्रिकेट प्रतिस्पर्धाहरूमा भाग लिँदै आएको छ। 

 पछिल्लो क्रिकेट सिजनमा ए ग्रेडको प्रतिस्पर्धा अन्तर्गत पाँचौँ स्थानमा प्राप्त गर्न सफल उक्त नेपाली क्लब बी ग्रेडको प्रतियोगितामा भने १२ औँ स्थानमा छ।

सन् २०२० मा क्रिकेटको क्षेत्रमा ल्याएको सांस्कृतिक विविधताको लागि क्रिकेट टास्मेनियाबाट पुरस्कृत भएको थियो।

Award
Source: Provided

एशेज हेर्न पाउँदाको मज्जा

टास्मेनियामा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटहरू निकै हुने भए पनि टेस्ट क्रिकेट चाहिँ निकै दुर्लभ रहेको छ। 

तर यस वर्षचाहिँ होबार्टले निकै महत्त्वपूर्ण प्रतिस्पर्धा हात पार्‍यो। 

क्रिकेट खेलको इतिहासमै अस्ट्रेलिया र इङ्गल्यान्ड बिच हुने टेस्ट क्रिकेटको प्रतियोगिताले विशेष महत्त्व राखेको छ। 

‘द एशेज’ भनिने यी दुई देशबिचको टेस्ट क्रिकेटको प्रतिस्पर्धा संसार भरिनै निकै लोकप्रिय रहेको छ।

कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियमहरूका कारण, पर्थले आफ्नो भागमा आएको खेल आयोजना गर्न नसकेपछि, होबार्टले गएको क्रिकेट सिजनमा एशेज सिरिज अन्तर्गतको खेल आयोजना गर्ने मौका पाएको थियो।

पर्थ वेस्टर्न अस्ट्रेलियाको राजधानी हो भने होबार्ट टास्मेनियाको। 

“होबार्ट लगायत टास्मेनियाको विभिन्न स्थानहरूमा बस्ने नेपालीहरूको लागी पनि मैदानमा गई यस महत्त्वपूर्ण टेस्ट खेलको प्रत्यक्ष अनुभव गर्ने मौका मिल्यो,” श्रेष्ठले भने। 

उनको अनुभवमा ठुला देशहरूबिच हुने टेस्ट क्रिकेटको प्रत्यक्ष अनुभवले यस खेलको प्रति रहेको भावनालाई झनै गाढा बनाउँछ।

क्रिकेटको उर्वर भूमि

Launceston Cricket Club
Players in the Pavilion. Source: Provided

 अस्ट्रेलियाको सानो राज्य भनेर चिनिने टास्मेनिया  अस्ट्रेलियाका प्रसिद्ध क्रिकेट खेलाडीहरू रिकी पोन्टिङ, डेभिड बुन, जोर्ज बेली लयागतहरूको गृह मैदान रहेको छ। 

दोस्रो पुस्ताका केही युवाहरूले प्रेरणादायी प्रतिभा देखाउँदै आएको बताउने श्रेष्ठ, अगामी वर्षहरूमा क्रिकेट र टास्मेनियाका नेपालीहरूको सम्बन्ध झनै गाडिने कुरामा विश्वस्त छन्।

यसैबिच, नेपाली समुदायका रुपेश पराजुलीलाई 'ए' ग्रेड र हितेश सिंह ठकुरीलाई 'बि' ग्रेड क्रिकेटका लागि टास्मेनिया क्रिकेट लिगले चयन गरेको पनि उनले जानकारी दिए।  

 सात समुन्द्र पारीबाट आएका नेपालीहरूले क्रिकेटको सहारा लिई अस्ट्रेलियाको सबैभन्दा दक्षिणमा रहेको राज्यमा आफ्नो परिचय दिएका छन्। तर क्रिकेटसँगको सम्बन्ध यही नसकिने कुरामा श्रेष्ठ आशावादी छन्।  

“क्रिकेट प्रतिभा जन्माउने समुदायको रूपमा हामी भविष्यमा आफूलाई चिनाउन चाहन्छौ। केही वर्ष लाग्ला, तर हामी त्यहाँ पुग्ने छौँ,” उनले भने।

 


Share

3 min read

Published

Updated

By Sameer Ghimire

Presented by Abhas Parajuli




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now