नेपाल: गृहमन्त्री सुधन गुरुङको राजीमानालाई कसरी लिने?

Nepal's Rapper Turned Politican Balen Forms Government Ensuring 33 Percent Women Participation For The First Time

FILE PHOTO - Sudan Gurung is the second minister to resign from Nepal's newly formed cabinet. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

“रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्ने” धारणा फेसबुक पेजमा राख्दै गृहमन्त्री सुधन गुरुङले बुधवार पदबाट राजीनामा दिए। हाल थुनामा रहेका विवादास्पद व्यवसायी दिपक भट्टसँग सेयर साझेदारीको विषय बाहिरिएपछि मन्त्री गुरुङलाई राजीनामा दिन दबाब परेको थियो।


राजीनामा दिएपछि सुधन गुरुङले फेसबुकमा एक लामो स्टेटस लेखे।

“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” गुरुङले लेखेका छन्।

“आज देशमा सुशासन पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।”

Sudan Gurung Resign Facebook Post
Sudan Gurung posted about resignation on Facebook on Wednesday, 22 April 2026. Credit: Facebook/Sudan Gurung

सेप्टेम्बर आठ र नौ मा भएको जेन-जी आन्दोलनबाट उदाएका गुरुङ गोरखाबाट मार्च पाँचमा सम्पन्न भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा उनी गृहमन्त्री नियुक्त भएका थिए।

सम्पत्ति विवरण बुझाएपछि समस्या

तर १२ एप्रिलमा सार्वजनिक भएको मन्त्री गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्योरेन्समा भएको लगानी नदेखिएको भन्दै आलोचना बढेको थियो।

शङ्कर समूहका एकजना सञ्चालक सुलभ अग्रवाल पनि हाल थुनामा छन्। प्रधानमन्त्री शाहको मन्त्रीपरिषद्‌बाट २७ दिनको अवधिमा राजीनामा दिने गुरुङ दोस्रो हुन्।

Newly appointed Prime Minister Balen Shah swears in Kathmandu, Nepal - 27 Mar 2026
FILE PHOTO - Nepali President Ram Chandra Paudel (C) poses with newly appointed Prime Minister Balen Shah, outgoing Prime Minister Sushila Karki and members of the new cabinet after the swearing in ceremony at the Presidential residence. Source: SIPA USA / Skanda Gautam / SOPA Images/Sipa USA/AAP Image

यस अघि तत्कालीन श्रममन्त्री दिपककुमार साहले नियुक्त भएको १३ दिनमै राजीनामा दिएका थिए।

साह उनको पत्नीले लिएको एउटा नियुक्तिका कारण पदमुक्त भएका थिए।

राजीनामा सराहनीय

छानबिनका लागि मार्ग प्रसस्त गर्नु सराहनीय भएको जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले बताइन्। तर झन्डै दुई तिहाइ बहुमत नजिकको सरकार र उसका मन्त्रीहरूका कतिपय निर्णयले अस्थिरताको सङ्केत दिएको उनी बताउँछिन्।

“जनताले चाहेको स्थिरता हो। तर यस्तो भारी जनमत पाएर बनेको सरकारको मन्त्रीपरिषद्‌मा यति छिटो दुईटा मन्त्री फेरिइसके। यो सरकारका लागी चुनौती हो,” उनले भनिन्।

अपरिपक्वताको आभास

पाँच वर्षको समयावधि भएको सरकारले हतारमा कतिपय निर्णय लिँदा अपरिपक्वता पनि देखिएको उनले बताइन्। हतारमा भन्दा पनि समय लिएर त्यसले पार्ने सबै खाले प्रभाव हेरेर निर्णय लिनु बेस हुने उनको सुझाव छ।

“भर्खरै बनेको सरकार हो उसलाई शङ्काको सुविधा छ। तर हतारमा निर्णय गर्नु भएन। अनुसन्धान गर्नपर्‍यो। आखिर पाँच वर्ष छ उहाँहरूसँग,” बमले थपिन्।

गुरुङको हकमा पनि यही हतार हतार काम गर्ने बानी लागू हुने बमको भनाइ छ। उनको काम गर्ने शैली गृहमन्त्रीको जस्तो जिम्मेवार पदका व्यक्तिको जस्तो नदेखिएको बमले बताइन्।

आलोचना र प्रशंसा दुवै

यी दुई घटनाक्रमले सरकारप्रति दुई किसिमको धारणा देखिएको छ। कतिपयले सरकारका केही कदमलाई अपरिपक्वताको संज्ञा दिएका छन् भने सरकारको उद्देश्य सही भएकाले अन्य कुरा गौण हुने बताउनेको सङ्ख्या पनि कम छैन ।

असल नियत राखेर इमानदारिताका साथ काम गर्दा अरू कुरा बिस्तारै मिल्दै जाने ध्रुव अधिकारी बताउँछन्।

“उद्देश्य सही भयो भने अरू कुराले फरक पार्दैन। जहाँसम्म छोटो अवधिमा दुईटा मन्त्री पदमुक्त भएको कुरा छ। त्यो सुशासन कायम गर्ने भनेर गरेको देखिन्छ,”अधिकारीले भने।

“गृहमन्त्रीले पनि छानबिनमा प्रभाव नपरोस् भनेर राजीनामा दिएको देखिन्छ।”

हाललाई राजीनामा दिए पनि भोलि छानबिन पछि सबै कुरा ठिकै रहेछ भन्ने आयो भने फेरी मन्त्री बन्न पनि मिल्ने अधिकारी बताउँछन्।

पछिल्लो घटनाले गुरुङलाई थप परिपक्व बनाओस् भन्ने आशा लिएको बम बताउँछिन्।

टीकाटिप्पणी

सरकार र त्यसमा पनि विशेष गरी गुरुङका कदमहरू बारे उनी गृहमन्त्री नियुक्त भएदेखि नै विभिन्न खाले टीकाटिप्पणी हन थालेको थियो।

मन्त्रीको जिम्मेवारीको शपथ लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने देखि थुप्रै कार्यहरू हतारमा गरे जस्तो देखिएको टिप्पणी नभएका होइनन्।

FILE PHOTO: Nepal's former Prime Minister KP Sharma Oli (L) and former Home Minister Ramesh Lekhak (R).
FILE PHOTO: Nepal's former Prime Minister KP Sharma Oli (L) and former Home Minister Ramesh Lekhak (R). Credit: Abhishek Maharjan/Sipa USA/AAP (L), Facebook/Ramesh Lekhak (R)

तर यस्ता टिप्पणीका बाबजुद गुरुङको लोकप्रियतामा कमी आएको थिएन।

सम्पत्ति विवरणमा उल्लेख नगरिएका लाखौँ रुपैयाँ बराबरको संस्थापक शेयरका विवरण आएपछि भने गुरुङमाथि राजीनामा दिन दबाब बढ्दै गएको थियो। जवाफमा गुरुङले ती शेयरको श्रोत ऋण भएको बताएका थिए।

जेन जी आन्दोलनको जगमा लोकप्रिय

सामाजिक सञ्जाल माथि लगाइएको प्रतिबन्धको विरोध र सुशासनको माग राखेर सुरु भएको जेन-जी आन्दोलनको करिब अन्त्यतिर गुरुङको बलियो उपस्थिति देखिएको थियो।

त्यसअघि सामाजिक कार्यमा संलग्न रहँदै आएको उनले बताउने गरेका छन्।

मन्त्रिपरिषद् गठन भए लगत्तै गृहमन्त्रीको हैसियतले गुरुङ मर्यादाक्रममा तेस्रो थिए। मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल भएपछि उनो पाँचौँ स्थानमा परेका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now