बर्दियामा धेरै मानिसको हत्या गरेको एउटा बाघलाई मङ्गलवार समातेर काठमाडौँको सदर चिडियाखाना ल्याइएको छ।
गैँडाको गन्तीमा खटिएका माहुते पुलिसराम थारुको यसै हप्ता बाघको आक्रमणमा परेर ज्यान गएको थियो। उनी यो वर्ष बर्दियामा बाघको आक्रमणमा परेका दसौँ व्यक्ति थिए।
नेपालले गत एक दशकमा बाघको सङ्ख्यामा दुई गुणा बढाएपछि वन्यजन्तुको संरक्षणमा प्रगति गरेको छ भने त्यसले मानव र वन्यजन्तुको तनाव भने निकै बढाएको छ।
संसारभर जोखिममा रहेको वन्यजन्तु बाघ जङ्गली अवस्थामा थोरै ठाउँमा मात्र पाइन्छ, र ती मध्ये नेपाल एक हो।
सन् २०१० मा नेपालमा १२१ बाघ थिए भने हाल २३५ बाघ छन्, र बाघको संरक्षणमा सक्रिय भएर नेपालले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्धि कमाइरहेको छ। तर त्यसले गर्दा देशभर नै मानवसँग बाघको तनाव बढेको देखिन्छ।
गत जनवरी महिनामा मात्रै हेटौँडा नजिकै गाडीको ठक्कर लागेर एउटा बाघको मृत्यु भएको थियो।
बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा ५० वटा बाघ थिए भने हाल झन्डै १०० बाघ पुगेका छन्। निकुञ्ज नजिकै रहेका मानव बस्तीमा यी बाघले बेलाबेलामा दुःख दिने गर्छन्।

बर्दियाको नरभक्षी बाघलाई मङ्गलवार काठमाडौँको चिडियाखानामा ल्याइएपछि वन मन्त्री प्रेमबहादुर आले भन्छन्,
पटक पटक यस्ता घटना नदोहोरिनका लागि हामीले स्थलगत अवलोकन गरेर कुन कुन ठाउँमा आरसीसी वाल लगाउने, कुन कुन ठाउँमा फेन्सिङ लगाउने, विद्युतीय तारहरू राख्ने भनेर हामीले छलफल गरेका छौँ। कम्तीमा पनि बर्दियामा मात्रै करिब १० किलोमिटर पर्खाल लगाउनु पर्ने आवश्यक छ, किनभने त्यहाँ बस्ती नजिक छ।
बाघ मात्र नभएर नेपालमा अरू वन्यजन्तुले पनि दुःख दिने गरेका छन्।
शुक्रबार मात्रै गैँडा गन्ती गरिरहेको त्यही टोलीलाई जङ्गली हात्तीले आक्रमण गरेपछि गैँडाको गन्ती रोकिएको थियो।

त्यसै गरी, चितवन राष्ट्रिय निकुञ्जको धुर्बे भनिने हात्तीले विगत केही वर्षमा मानव बस्तीमा पसेर थुप्रै जनाको ज्यान लिइसकेको छ।
पूर्वी नेपालमा मानव बस्ती र खेतमा हात्ती छिरेर बारम्बार मानिसलाई दुःख दिँदै आएका छन् र यस हप्ता मात्रै हात्तीको आक्रमणमा परेर मोरङमा एक जनाको मृत्यु भएको छ।
मानव बस्ती र सडकले वन्यजन्तुको वासस्थानमा अतिक्रमण गर्ने क्रम बढ्दै जाँदा यस्ता घटनाको सङ्ख्या पनि बढिरहेको छ। नेपालले वन्यजन्तुको संरक्षण र मानव समुदायको सुरक्षाका दोहोरो चुनौतीलाई एकै चोटि अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ।





