कोभिड-१९ को उपचारमा देशभरका स्वास्थ्य संस्थाको क्षमताले थेग्न नसक्ने समस्या भइरहेको बेला, देश विदेशबाट निरन्तर स्वास्थ्य सामग्रीहरू, सहयोगको रूपमा नेपाल आइरहेको छ।
नेपाल सरकारले यस्ता सामग्रीलाई देशभरिका अस्पतालहरूमा माग अनुसार उपलब्ध गराइरहेको छ, तर सबै आवश्यकता भने पुरा नभएको देखिन्छ।
कोभिड-१९ को दोस्रो लहरको समयमा चीन, संयुक्त राष्ट्र अमेरिका र अस्ट्रेलिया जस्ता विकसित मुलुकले र विभिन्न सङ्घ संस्था र प्रवासी नेपालीले स्वास्थ्य सामग्री र रकम पठाउँदै योगदान दिई रहेका छन्।
यसरी आउने सहयोगमा अक्सिजन सिलिन्डर र त्यसको कन्टेनर; अक्सिजन प्लान्ट बनाउने रकम; सर्जिकल मास्क; फेस सिल्ड; भेन्टिलेटर; सर्जिकल पन्जा; आइसोलेसन गाउन्; पिपिई सेट, एन्टिजेन टेस्टिङ सामग्री लगायत स्वास्थ्य सामग्री रहेका छन्।

यसरी नेपालमा अन्तर्राष्ट्रिय सहयोग स्वरूप आई रहेका सामग्री आवश्यकता अनुसार केन्द्रीय तहको संयोजनमा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रदेश र जिल्लाका अस्पतालमा वितरण गरिँदै छ।
कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) का प्रमुख बालानन्द शर्मा भन्छन्, “यी स्वास्थ्य सामग्रीहरू परराष्ट्र मन्त्रालय र सिसिएमसी को समन्वयमा स्वास्थ्य मन्त्रालयले आफ्नो केन्द्रीय रिजर्भमा राखेको छ।"
"र, त्यहाँबाट केन्द्रसँग आबद्ध तथा प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पताललाई सहयोग स्वरूप हस्तान्तरण तथा खपत भइसकेको स्वास्थ्य सामग्रीको मर्मत, फेरबदल तथा अन्य निर्माण कार्यमा सहयोग गर्दै आएको छ।”
नेपाललाई सहयोग गर्ने मुलुकहरूमा चीन, अमेरिका र अस्ट्रेलियाका साथै बेलायत, फिनल्यान्ड, थाइल्यान्ड, स्विट्रजल्यान्ड, स्पेन, सिङ्गापुर, जापान, फ्रान्स, जर्मनी र बेल्जियम पर्दछन्।
युरोपियन युनियन, रेड क्रस, एन्सेल, इटाली रोटरी क्लब र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोग गरिरहेका छन्। खाडी मुलुकका प्रवासी नेपाली सङ्घले आफ्नो देशमा धेरै सहयोग पठाएका छन्।
मोरिसन सरकारले पनि नेपाललाई ७० लाख डलर बराबरको सहयोग गर्ने घोषणा गरिसकेको छ र केही दिन अघि मात्रै वेस्टर्न अस्ट्रेलियाको सरकारद्वारा प्रदान गरिएको राहत सामाग्री नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले हस्तान्तरण गरेकी थिइन्।
यो अनुदान अस्ट्रेलिया सरकारको दक्षिण एसियाली मुलुकहरुलाई कोभिड-१९ विरुद्ध लड्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत पर्दछ।
यसो गर्दा पनि अस्पतालहरूमा उपकरणहरूको अभाव पुरा भएको छैन।
हाल देशभरिका सरकारी अस्पतालमा यस महामारीका बिरामीलाई निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ र सरकारसँग आबद्ध भएर निःशुल्क कोभिड उपचार गर्ने निजी अस्पतालहरूको नामावली पनि सार्वजनिक गरिएको छ।






