नेपाल अपडेट: अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल

Nepal Protest

Protesters at the Singha Durbar after it was set on fire during the Gen Z protests. Source: AP / Prakash Timalsina/AP

सोमवार र मङ्गलवारको आन्दोलन पछि, जेन जी नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जुटेका छन्। योसँगै, आन्दोलनका क्रममा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालको पछिल्लो अपडेट सुन्नुहोस्।


सोमवारबाट सुरू भएको जेन जी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको विवरणका आधारमा बुधवार साँझ मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार १,०६१ जना घाइते भएका छन्।

सोमवार र मङ्गलवारको विषम परिस्थिति पछि बुधवार जेन -जी पुस्ताले सुरु गरेको अभियानलाई कसरी राजनीतिक निकास दिने भन्नेमा केन्द्रित रह्यो।

जेन जी अभियानका एक समूहले अन्तरिम सरकारको प्रमुखको रूपमा प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेका छन्।

घण्टौँ लामो भर्चुअल बैठक पछि उनीहरूबिच कार्कीको नाम प्रस्ताव गर्ने विषयमा सहमति जुटेको थियो। तर सबै समूहबिच सहमति भई नसकेकोले सेनाले बिहीबार अर्थात् आज बिहान सम्पर्कमा आउन भनेको छ।

सेनाले माइकिङ गर्दै जङ्गी अड्डा अगाडी जम्मा भएका विभिन्न समूहका अभियानकर्ताहरूलाई उनीहरूको नेतृत्वकर्ताको नाम र फोन नम्बर सहित आउन आग्रह गरेको थियो।
Nepal Army impose nationwide restrictions in wake of unrest
Nepal Army take control to recapture prisoners attempting to escape from Dilli Bazaar Prison in Kathmandu, Nepal, Wednesday, 10 September 2025. Source: AAP / NARENDRA SHRESTHA/EPA
जेन जीहरुबीच काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाह, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको नाममा पनि छलफल चलेको थियो।

उनीहरूले मङ्गलवार र बुधवार सेना प्रमुख अशोकराज सिग्देलसँग वार्ता गरेका थिए। वार्ताका क्रममा सेना प्रमुखले राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी समर्थकको पनि कुरा सुन्न भनेको र त्यसमा आफू सहमत नभएको वार्ताकी एक सहभागी रक्षा बमले बताइन्। भर्चुअल बैठकमा जेन- जी अभियन्ताहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

नेपालको संविधानमा भएका आधारभूत संरचनालाई संरक्षण गर्दै प्रगतिशील पुनर्लेखन गरिने जेन जी अभियन्ताहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री ओली लगायत शीर्ष दलका नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्ने, हालको सङ्घीय र प्रदेश सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्ने लगायत उनीहरूको माग रहेको छ।
मङ्गलवार दिउँसो ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा पछि पनि सरकारी कार्यालयहरू, नेताहरूको निवास, व्यापार व्यवसायीका निवास-कार्यालय जलाउने कार्य निरन्तर चली रह्यो।

देशको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार, राष्ट्रपति, प्रधानमन्त्रीका निवास, सर्वोच्च लगायत देशभर रहेका विभिन्न अदालतका भवन, सङ्घ र प्रदेशका संसद् भवनहरू लगायत संरचनाहरू एकपछि अर्को गरी तोडफोड हुने र आगो लगाउने कार्य चलि रहे।

त्यसपछि प्रदर्शनकारीहरूलाई संयमित हुन अपिल आउन थाले। राष्ट्रपतिले संयमित हुन र वार्तामा आउन आह्वान गरे। नायक राजेश हमाल, डा. सन्दूक रुइत लगायत विभिन्न पेसाका ख्याति प्राप्त व्यक्तिहरू संयम अपनाउन र सरकारी संरचनाको विनाश नगर्न अपिल गरे।

सोमवार भएको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएपछि मङ्गलवार बिहान विभिन्न पेसा कर्मी र आम जनताले उनीहरूको अभियानलाई साथ दिएका थिए। त्यस्ता मध्येकी एक पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्।
त्यस लगत्तै सेनाले पनि वार्तामा आउन आग्रह गर्‍यो। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरे।

जेन जी अभियानकर्ताले समेत सरकारी भवनहरूमा आगो नलगाउन आग्रह गरेका थिए।

देशभर भएका आगजनी, लुटपाटको स्थिति नियन्त्रणमा नआए राती १० बजेदेखि सेना सहित सबै सुरक्षा निकाय परिचालन हुने भन्दै सेनाले विज्ञप्ति जारी गर्‍यो र सडकमा उत्रियो। सेनाले शुक्रवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
सिंहदरबार लगायत विभिन्न भौतिक संरचना बुधवारसमम्म पनि जलि रहे। आगलागीका कारण सफ्टवेयर डाउन भएको भन्दै सर्वोच्च अदालतले जिल्ला, उच्च अदालतमा मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थित गरेको छ।

अघिल्लो दिन आगो लागेका केही स्थानमा बुधवार जेन जी सेना र स्थानीयहरूले सरसफाइ गरे। यस्तै बुधवार दिउँसोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेको छ। यसरी ध्वस्त भएको संरचना प्रति चौतर्फी चिन्ता व्यक्त भएको छ र मूलधारका मिडिया र सामाजिक सञ्जालमा यसले देशलाई पार्ने आर्थिक मागका बारेमा चिन्ता व्यक्त भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट थाहा परिचयपत्र लिएर साथमा लिएर मात्र विमानस्थल आउन आग्रह गरेको छ। आन्तरिक उडान भने आजबाट खुल्दै छन्।
Nepal Protest
A tourist runs to catch a flight after after Nepal's international airport which was closed due to nationwide protests reopens in Kathmandu, Nepal, Thursday, 11 September 2025. Source: AP / Niranjan Shrestha/AP
यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको लोकतान्त्रिक विधि र प्रकियाबाट देशलाई यथाशीघ्र राजनीतिक निकास पुर्यान जोड दिएको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै आयोगले वार्ता मार्फत समाधान खोज्न आग्रह गरेको हो।

नेपालस्थित अस्ट्रेलियन दूतावास लगायत अन्य आठ वटा दूतावासहरूले एक वक्तव्य जारी गर्दै परिस्थितलाई थप बिग्रन नदिन र शान्ति पूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन्।

मङ्गलवार भएको प्रदर्शनमा देशका विभिन्न स्थानमा रहेका कारागारमा तोडफोड भए र कतिपय कारागारबाट बन्दी भागेको विवरणहरू आएका छन्। प्रदर्शनकारीहरूले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए। लामिछानेले भिड बढेपछि कारागारका अधिकारीहरूले उनलाई बाहिर निकालेको बताएका छन्।

साथै सेना र पर्यटन बोर्डले नेपालमा रहेका विदेशीहरू समस्या परेमा सम्पर्क गर्न भनी केही नम्बहरु सार्वजनिक गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिएपछि मङ्गलवार उनले सेनाको हेलिकप्टर चढ्दै गरेको दृश्य देखिएपछि उनलाई देखिएको छैन। यस्तै मन्त्रिपरिषद्का सदस्य, तीन ठुला राजनीतिक दलका शीर्ष नेताहरू पनि सार्वजनिक रूपमा बाहिर आएका छैनन्। उनीहरूलाई सेनाले सुरक्षा दिँदै काठमाण्डूकै कुनै गणमा राखिएको बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
नेपाल अपडेट: अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल | SBS Nepali